आत्महत्या र नेपाली चर्चको जिम्मेवारी

नेपालमा मानसिक स्वास्थ्यका समस्याहरू बढ्दै गइरहेका छन् । आत्महत्या, जुन विश्वव्यापी रूपमा महामारीको रूपमा फैलिएको छ । नेपालमा पनि गम्भीर समस्या बनिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याबाट विश्वभर हरेक वर्ष लाखौं मानिसको ज्यान गुमाउछन् । नेपालमा समेत हजारौंले आत्महत्या गर्छन्, र यो संख्या दिनानुदिन बढ्दो छ । यस्ता चुनौतीपूर्ण अवस्थामा, नेपाली चर्चहरूको भूमिका महत्वपूर्ण र अपरिहार्य छ ।
आत्महत्या केवल चिकित्सकीय वा सामाजिक समस्यामात्र होइन । यो आध्यात्मिक समस्या पनि हो । आत्महत्या बहुआयामिक समस्या हो । यसमा मानसिक रोग, सामाजिक एकान्तता, पारिवारिक दबाब, गरिबी, यौनिक शोषण, बेरोजगारी, सम्बन्ध विच्छेद, परीक्षा असफलता जस्ता धेरै कारण हुन सक्छन् । तर येशू ख्रीष्टको दृष्टिकोणबाट हेर्दा, आत्महत्या अन्ततः आशाहीनताको चरम अवस्था हो, जहाँ एक व्यक्तिले आफ्नो जीवनको अर्थ, मूल्य र परमेश्वरको योजना देख्न छोड्छ ।
बाइबलले हामीलाई सिकाउँछ कि प्रत्येक मानिस परमेश्वरको स्वरूपमा सिर्जना गरिएको हो । (उत्पत्ति १ः२७) र उहाँका लागि अनमोल छ । जब कुनै मानिसले आत्महत्या गर्छ, त्यो केवल आफ्नो शरीर नष्ट गर्नु होइन, यो एउटा अनन्त सम्भावना, एउटा अभूतपूर्व कथा, र एउटा जीवनमा परमेश्वरको योजना छोडिदिने निर्णय गर्नु हो ।
के आत्महत्या पाप हो ?
ऐतिहासिक रूपमा, धर्मगुरुहरूले आत्महत्यालाई पाप मानेका छन् । विशेषतः यसले “हत्या नगर्नु” भन्ने आज्ञा उल्लंघन गर्छ । तर आत्महत्या एक ‘अक्षम्य पाप’ हो भनेर बाइबलले स्पष्ट रूपमा भन्न सक्दैन । येशूले मत्ती १२ः३१–३२ मा अक्षम्य पापका रूपमा पवित्र आत्माविरुद्धको निन्दालाई मात्र वर्णन गर्नुभएको छ ।
चर्चको जिम्मेवारी के हो?
नेपाली चर्चहरूले अब आत्महत्या जस्ता गम्भीर र संवेदनशील विषयहरूलाई मौन बस्दै टार्ने होइन, खुलेर सम्बोधन गर्ने समय आएको छ । प्रवचन र शिक्षामा आत्महत्याको विषयमा सिकाउनु आवश्यक छ । अधिकांश विश्वासीहरूले आत्महत्या विषयमा चर्चमा कहिल्यै प्रवचन सुनेका हुँदैनन् । यो मौनता तोड्न आवश्यक छ । जीवन, मृत्यु, आशा र शान्तिको सुसमाचारलाई आत्महत्या जस्ता विषयसँग सँगालेर प्रस्तुत गर्नु जरूरी छ ।
आत्महत्या गुमाएका परिवारहरू, आत्महत्या प्रयास गरेका व्यक्तिहरू र मानसिक सङ्कटमा परेका मानिसहरूका लागि चर्चले आश्रय स्थलको काम गर्नु पर्छ । उनीहरुलाई उत्साह दिनुपर्छ ।
युवा पुस्तालाई ध्यान दिनेः १५–३० वर्ष उमेर समूहमा आत्महत्याको दर सबैभन्दा बढी हुन्छ । चर्चले विद्यालय, कलेज र युवासँग प्रत्यक्ष संवाद गर्दै आत्म–मूल्य, आत्म–संयम र परमेश्वरको प्रेम सिकाउने वातावरण बनाउनु पर्छ ।
चर्चहरूले मसीही परामर्शदाताहरूको सञ्जाल निर्माण गरी, व्यक्तिहरूलाई व्यक्तिगत, गोप्य र आत्मिक परामर्श दिन सक्ने प्रणाली विकास गर्नुपर्छ । प्रार्थना र आत्मिक युद्धः आत्महत्या केवल मनोवैज्ञानिक समस्यामात्र नभई आत्मिक युद्ध पनि हो । चर्चहरूले प्रार्थनाको माध्यमबाट व्यक्तिगत, सामूहिक र राष्ट्रीय स्तरमा आत्मिक संघर्षमा उत्रनुपर्छ ।
आज नेपाली चर्चको निम्ति “जीवनको पक्षमा उभिने” घडी हो । आत्महत्या कुनै लाजको विषय होइन, न त यसमा पापबोधले भरिएको अभियोग लगाउनु आवश्यक छ । बरु यो चर्चले प्रेम, करुणा र सत्यता सहित हात बढाउने अवसर हो ।