इजरायल हमाला : दुई नेपाली दुतावासको सम्पर्कमा
असोज २०, काठमाण्डौँ
इजरायलमा प्याल्सटाइनीहरुले गरेको हमालाबाट घाते भएका ९ जना मध्येमा दुई जना नेपाली दूतावासको सम्पर्कमा आएको बताइएको छ । उनीहरु सम्पर्कमा आएपनि हालसम्म उद्धार भने गरिएको छैन ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए ।
बीबीसीका अनुसार दर्जनौँ इजरायलीहरूलाई प्यालेस्टिनी विद्रोहीहरूले इजरायली भूमिमा आक्रमण गरी कब्जामा लिएको अनुमान गरिएको छ । घटनामा कम्तिमा ४० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ घाइते भएको इजरायली अधिकारीहरूले बताएका छन् ।
घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ । फार युनिभर्सिटी अन्तरगतको कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ ।
सो कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बङ्करमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ ।
घटनास्थलमा स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेन्डको टाइम बंकरमा पुग्नुपर्ने हुन्छ । तर बङ्करमा जाँदाजाँदै फिजिकलीरुपमै आएका आतंककारीले गोली हान्दा ७ घाइते भएका हुन् । तर, दुई जनालाई गोली लागेको छैन । उनीहरूलाई चोटपटक भने रहेको बताइएको छ ।
घटनापछि इजरायलले पनि जवाफी कारबाही गरेको छ । जवाफी कारबाहीमा गाजा पट्टीमा करिब २०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।