ऐतिहासिक ‘क्लेबार्न टेम्पल’ चर्चको पुनर्निर्माणमा १.५ मिलियन डलरको सहयोग

मङ्गलवार, जुन ३, २०२५
एप्रिल महिनामा आगजनीबाट गम्भीर क्षति पुगेको ऐतिहासिक क्लेबार्न टेम्पल चर्चको पुनर्निर्माणका लागि विभिन्न संस्थाहरूले करिब १.५ मिलियन अमेरिकी डलर सहयोग गरेका छन् ।
मेम्फिस सहरको मुटुमा अवस्थित यो चर्चले अमेरिकी नागरिक अधिकार आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको थियो। सन् १९६८ मा स्यानिटेसन कामदारहरूको हड्तालका क्रममा चर्चले रणनीतिक बैठक र विरोध प्रदर्शनको स्थलको रूपमा काम गरेको थियो। चर्चकै भुइँतलामा “I AM A MAN” भनिएको प्रसिद्ध नारा लेखिएका पोस्टरहरू छापिएका थिए ।
सन् १८९२ मा दोस्रो प्रेस्बिटेरियन चर्चको रूपमा स्थापना गरिएको भवन सन् १९४९ मा अफ्रिकन मेथोडिस्ट एपिस्कोपल (AME) कंग्रिगेसनलाई हस्तान्तरण गरिएपछि “क्लेबार्न टेम्पल” नामकरण गरिएको थियो। सन् १९९९ मा चर्च बन्द भए पनि यसको सांस्कृतिक र ऐतिहासिक महत्वका कारण संरक्षित गरिँदै आएको थियो।
हालैको आगजनीले चर्चको भित्री संरचनामा गम्भीर क्षति पुर्याएपछि संघीय निकाय ATF (ब्युरो अफ अल्कोहल, टोब्याको, फायरआर्म्स एन्ड एक्सप्लोसिभ्स) ले अनुसन्धान प्रारम्भ गरेको छ। आगो जानाजान लगाइएको पुष्टि गर्दै मेम्फिस फायर डिपार्टमेन्टले शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाएको छ।
चर्चको पुनर्निर्माणका लागि सहयोग गर्ने प्रमुख संस्थाहरूमा अफ्रिकन अमेरिकन सांस्कृतिक सम्पदा एक्शन फन्ड, एन्ड्रयू डब्ल्यू. मेलोन फाउन्डेसन र फोर्ड फाउन्डेसन रहेका छन्।
हाल चर्चको समग्र पुनःनिर्माण परियोजना अनुमानित $६ मिलियनको रहेको छ। आगजनीपछि संरक्षण कार्य केही अवरुद्ध भए पनि प्राप्त आर्थिक सहयोगले पुनर्निर्माण कार्यमा गति दिने अपेक्षा गरिएको छ।
Historic Clayborn समूहले संरचना पुनःनिर्माण तथा यसको सांस्कृतिक सम्पदा बचाउन निरन्तर प्रयास गरिरहेको बताएको छ। संघीय तथा स्थानीय अनुसन्धान निकायले घटनाको दोषी पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
क्लेबार्न टेम्पल पुनःनिर्माणले अमेरिकी इतिहासमा एउटा महत्वपूर्ण कालखण्डको सजीव स्मृति जोगाउने विश्वास गरिएको छ।