करार ईश्वरशास्त्र र बप्तिस्मा: शिशु बप्तिस्माबारे नेपाली मण्डलीहरूमा ऐतिहासिक विवाद र प्रेसबिटेरियन मण्डलीमा यसको प्रभाव

  • Anil Tamang,

ThM (MF vitenskapelig høyskole, Oslo)

ऐतिहासिक प्रेसबिटेरियन परम्परा करार ईश्वरशास्त्रमा आधारित छ, जुन शिशुबप्तिस्मा विधिको बुझाइ र अभ्यासका लागि एक आधारभूत ढाँचा (Framework) हो। प्रेसबिटेरियन चिन्तनमा, करार ईश्वरशास्त्र र शिशु बप्तिस्माबीचको सम्बन्धमा धेरै अध्ययनहरू पनि भएका छन्। तर, नेपालका प्रेसबिटेरियन मण्डलीहरूको करार ईश्वरशास्त्रप्रति तुलनात्मक रूपमा कमजोर बुझाइ राखेको देखिन्छ, जसका कारण शिशु बप्तिस्माको अभ्यासमा उल्लेखनीय कमी आएको छ। यस प्रकारको विभाजनले प्रेसबिटेरियन विश्वास परम्पराको समृद्ध ईश्वरशास्त्रीय ढाँचा र मण्डलीहरूमा शिशुबप्तिस्माको व्यवहारिक अभ्यासबीच एक खाडल सिर्जना गरेको छ। मेरो अध्ययन (Thesis Interviews) अनुसार नेपालका धेरै र प्राय प्रेस्बिटेरियन मण्डलीहरूले परम्परागत प्रेसबिटेरियन अभ्यास (शिशु बप्तिस्मा) अनुसरण गर्दैनन्।

करार (Covenant) शब्द हिब्रू शब्द बेरिथ (Berith), ग्रीक शब्द डीयाथेके (Diatheke), र ल्याटिन शब्दहरू प्राक्टिकम, (Practicum), फेटुस, (Fetus) वा टेस्टामेन्टम (Testamentum) मा आधारित छ; यसले अत्यन्त महत्वपूर्ण, गम्भीर र औपचारिक सम्झौतालाई जनाउँछ, जसले करारमा संलग्न पक्षहरूलाई बाध्यकारी उत्तरदायित्वहरूमा बाँध्छ।[1] करार भनेको परमेश्वर र मानिसबीच, मानिसहरू आपसमा, देशहरू वा जातिहरूबीच भएको एक सम्झौता हो। करार ईश्वरशास्त्र के हो त? करार ईश्वरशास्त्र(Covenant Theology) बाइबलको समग्र संरचनालाई बुझ्नको लागि एक अवधारणात्मक अवलोकन र व्याख्यात्मक ढांचा (Hermeneutic framework) हो। करार ईश्वरशास्त्र (Covenant Theology) भनेको बाइबललाई करार (covenant) को सन्दर्भमा बुझ्ने प्रयास गर्ने एक प्रकारको व्याख्यात्मक (Hermeneutic) विधि हो, यसले पवित्रशास्त्रको समग्र सन्देशलाई परमेश्वर र मानिसबीचका करारहरूको माध्यमबाट व्याख्या गर्छ।[2] यो बाइबलको व्याख्याका लागि एक दृष्टिकोण हो जसले परमेश्वर र मानवबीचको सम्बन्ध र उद्धार इतिहासको क्रमागत विकासलाई बुझ्न करारहरूको महत्वलाई मूल्याङ्कन गर्दछ। यस दृष्टिकोणले प्रणालीगत (Systematic) बाइबलीय  (Biblical) ईश्वरशास्त्रका अन्तर्दृष्टिहरूलाई मिसाएर परमेश्वर र मानवबीचको सम्बन्ध करारहरू मार्फत कसरी अगाडि बढ्छन् देखाउँछ।[3]  यसले त्रिएक (परमेश्वरको तीन व्यक्तिहरू) को कार्य, परमेश्वरसँगको संगति, ख्रीष्टको व्यक्तित्व र काम, इसाईविधीहरु (बप्तिस्मा र प्रभूभोज), केवल अनुग्रह र विश्वासद्वारा धार्मिक ठहरिने कुरा, विश्वासी जीवनमा आज्ञापालनको स्थान, उद्धारको सुनिश्चितता, र उद्धारको इतिहासको एकता र विकास कसरी क्रमशः खुल्दै जान्छ भन्ने कुरालाई सरल रूपमा व्याख्या गर्छ। यी सबै कुरा बाइबलमा भएको ईश्वरीय करारहरूको आधारमा बुझ्न सकिन्छ। हर्मन बाविङ्कले (Herman Bavinck) उल्लेख गर्छन् कि ऐतिहासिक रूपमा करार ईश्वरशास्त्रको विकास स्विङ्ली(Zwingli), काल्भिन(Calvin) ओलेभियनस (Olevianus), उर्सिनस (Ursinus), र प्युरिटनहरू (Puritans) जस्ता सुधारकहरू मार्फत भएको हो, जसले वेस्टमिन्स्टर विश्वासको घोषणापत्रमा (Westminster Confession of Faith) पुगेर यसको व्यवस्थित रूप पाएको थियो।[4] ऐतिहासिक करार ईश्वरशास्त्र तीन प्रकारका छन्: उद्धारको करार (Covenant of Redemption), कर्मको करार (Covenant of Works), र अनुग्रहको करार (Covenant of Grace)।

उद्धारको करार यो करार त्रित्वमा पिता, पुत्र, र पवित्र आत्माबीच अनन्त कालदेखि भएको सहमति हो। यसमा पिता परमेश्वरले उद्धारको योजना बनाउनुहुन्छ, पुत्र ख्रीष्टले पापीहरूको उद्वारको लागि आफ्नो जीवन अर्पण गर्नुहुन्छ, र पवित्र आत्माले त्यस उद्धारलाई मानिसको जीवनमा लागू गर्नुहुन्छ।[5] कर्मको करार आदम र परमेश्वरबीच  अदनको बगैँचामा भएको करार हो। परमेश्वरले आदमलाई पूर्ण आज्ञापालनको सर्तमा अनन्त जीवनको र अवज्ञाको लागि मृत्युको प्रतिज्ञा दिनुभएको थियो।[6] तर जब आदमले परमेश्वरको आज्ञा उल्लंघन गरे, तब पाप संसारमा प्रवेश गर्‍यो। पतनपछि, परमेश्वरले अनुग्रहको करार स्थापना गर्नुभयो, जसमा उहाँले पापीहरूलाई ख्रीष्टमा विश्वास मार्फत उद्धारको प्रतिज्ञा गर्नुभयो, पतनपछि, परमेश्वरले अनुग्रहद्वारा मानिसलाई उद्धार गर्ने प्रतिज्ञा गर्नुभयो। यो करार येशू ख्रीष्टमा विश्वास गर्ने सबै मानिसहरूको लागि हो—जहाँ उद्धार मानिसको कार्य (Good works) मा नभएर परमेश्वरको अनुग्रहमा आधारित छ, जुन पुरानो र नयाँ नियममा विस्तार हुँदै विश्वास गर्ने सबैमा मुक्ति ल्याउँछ।[7] निष्कर्षमा, उत्पत्ति 3:15 नै अनुग्रहको करारको ढोका हो, जसले शास्त्रको सम्पूर्ण उद्धार योजनाको सुरुवात गर्छ – जुन अन्ततः ख्रीष्टमा पूरा हुन्छ।[8] ओ पाल्मर रोबेर्टसन्ले (O. Palmer Robertson) करार ईश्वरशास्त्रअनुसार बाइबललाई कसरी करारको रुपरेखामा कोर्न र अध्ययन गर्न सकिन्छ भनेर तलको तस्बिरबाट प्रष्ट पारेका छन्।[9]

अनुग्रहको करार एक मात्र क्षण होइन, बरु यो परमेश्वरको अडिग उद्धारको प्रतिज्ञाको क्रमिक विकास हो। उत्पत्ति ३:१५ मा आदम र हवाको पतनपछि उद्धारकर्ताको पहिलो प्रतिज्ञा दिइएको छ, जसले मानवप्रति परमेश्वरको अनुग्रहको सुरुआत गरेको हो। अब्राहामसँगको करार (उत्पत्ति १२:३; १७) ले यो प्रतिज्ञा अझ स्पष्ट रूपमा प्रकट गर्दछ, जहाँ परमेश्वरले अब्राहामलाई आश्वासन दिनुहुन्छ कि उनका सन्तानहरूले प्रतिज्ञाको प्राप्ति गर्नेछन्, जसले विश्वास मार्फत उद्धारको आधार तयार गर्दछ।[10] मोशासँगको करार यसैको विषयलाई निरन्तरता दिन्छ र बलिदान र व्यवस्थामार्फत एक उच्च पूर्ति तर्फ संकेत गर्छ, जसले ख्रीष्टको बलिदानलाई पूर्वसूचनाका रूपमा प्रस्तुत गर्छ। पछि, भविष्यवक्ता जस्तै यर्मिया र यशैयाले नयाँ करारको भविष्यवाणी गरे, जसमा परमेश्वर आफ्नो व्यवस्था लाई जनहरुको हृदयमा लेख्नुहुनेछ (यर्मिया ३१:३१-३४), जसले ख्रीष्टमार्फत परमेश्वरको अनुग्रहको पूर्ण प्रकटिकरणको बाटो तयार गरेको हो। यो क्रमिक विकास अन्ततः नयाँ करारमा  पुरा हुन्छ, जुन येशू ख्रीष्ट मा पूर्ण रूपमा प्रकट हुन्छ, जसले पापको लागि पूर्ण बलिदान दिनुभयो र विश्वास गर्ने सबैका लागि उद्धारको बाटो खोलिदिनुभयो (लूका २२:२०)। रोबेर्ट आर. बुथ  (Robert R. Booth) भन्दछन्,

करार ईश्वरशास्त्रले परमेश्वरले मानिसहरूसँग करारहरू मार्फत सम्बन्ध राख्नुहुन्छ भन्ने कुरा जोड दिन्छ। परमेश्वरसँग छुटकाराको एउटा मात्र, समग्र योजना छ, जुन उत्पत्तिदेखि लिएर प्रकाशसम्म फैलिएको छ। यस योजनालाई “अनुग्रहको करार” भनिन्छ। करारात्मक दृष्टिकोणमा आधारित बाइबलीय व्याख्याले यो शिक्षा दिन्छ कि परमेश्वरले सम्पूर्ण इतिहासभरि मानिसहरूसँग उही तरिकाले व्यवहार गर्नु भएको छ।[11]

नयाँ करार परमेश्वरको प्रतिज्ञाहरूको पूर्ण पूर्ति हो, जसले अनुग्रहको करारलाई सम्पन्न गर्दछ र ख्रीष्टमा विश्वास गर्ने सबैलाई उद्धारको अवसर प्रदान गर्दछ। यस निरन्तर र क्रमिक अनुग्रहको करारमार्फत, परमेश्वरको उद्धार योजना उत्पत्ति देखि प्रकाशसम्म फैलिन्छ र विश्वास गर्ने सबैलाई मुक्ति प्रदान गर्दछ; अहिले र अनन्तकालका लागि। अनुग्रहको करार एउटै हो, जुन सम्पूर्ण उद्धारको इतिहासभरि विभिन्न तरिकाले कार्यान्वयन गरिएको छ। पुरानो नियममा यो खतना, बलिदान, निस्तार चाड  आदि जस्ता छायाँ र प्रतीकहरूको माध्यमबाट प्रकट भएको थियो। नयाँ नियममा भने यो ख्रीष्टको सुसमाचारको स्पष्ट प्रचार, बप्तिस्मा र प्रभुको भोजमार्फत अझ स्पष्ट रूपमा देखापरेको छ। वेस्टमिन्स्टर विश्वासको घोषणापत्रले (Westminster Confession of Faith)  भन्छ, “त्यसैले अनुग्रहका दुई फरक करारहरू छैनन्, बरु एउटै करार हो, जुन विभिन्न व्यवस्थाहरूअन्तर्गत कार्यान्वयन भएको हो।”[12]

शिशु बप्तिस्मा वा करार बप्तिस्मा किन गर्ने, के यो बाइबलिय छ र? शिशु बप्तिस्मा गर्नू भनेर स्पष्ट रूपमा बाइबलमा आदेश गरिएको छैन र शिशु बप्तिस्मा नगर्नू भनेर निषेध गरिएको पनि छैन। यधपि परमेश्वरको करार (Covenant) को योजना बुझ्दा, शिशु बप्तिस्मा स्वाभाविक रूपमा आउँछ। करार ईश्वरशास्त्र अनुसार, “परमेश्वर सधैं आफ्ना जनसंग अनुग्रहको करार मार्फत सम्बन्धित हुनुहुन्छ, र ती करारहरू सधैं केवल व्यक्तिगत मानिसहरूसँग मात्र होइन, उनीहरूको सन्तानहरूसँग पनि समावेश हुन्छन्।”[13] त्यसैले करार ईश्वरशास्त्रले सिकाउँछ कि परमेश्वर आफ्नो जनसँग सधैं अनुग्रहको करार मार्फत सम्बन्ध राख्नुहुन्छ, जुन बाइबलभरि एउटै निरन्तर उद्धारको योजनाको रूपमा देखिन्छ। अनुग्रहको करारको निरन्तरताअनुसार, प्रतिज्ञा विभिन्न रूपमा प्रस्तुत भए पनि (जस्तै अब्राहम सँगको, मोशासँगको, नयाँ करार), उद्धार सधैं अनुग्रहद्वारा नै हुन्छ। यसले “परमेश्वरको जनहरूको निरन्तरता (Continuity of People of God)” देखाउँछ, जसमा नयाँ करारको मण्डली (Church) पुरानो करारको परमेश्वरका जनहरूको निरन्तरता हो, जहाँ सधैं विश्वास गर्नेहरूको सन्तानहरू समेत सामेल गरिन्छन्, साथै, “प्रतिज्ञा चिन्हहरूको निरन्तरता (Continuity of the Covenant Signs)” अनुसार नयाँ करारमा बप्तिस्माले खतनाको स्थान लिएको छ, जसले विश्वास गर्नेहरूको बच्चाहरूलाई परमेश्वरको प्रतिज्ञा समुदायमा सामेल भएको चिन्ह दिन्छ। यी सबै कुराले शिशु बप्तिस्मा बाइबलमा आधारित र प्रतिज्ञा सिद्घान्तसँग सुसंगत रहेको पुष्टि गर्छ।[14] जेसोन हेलोपौलसले तलको चित्रबाट कसरी एउटै अनुग्रहको करारअन्तर्गत पुरानो करारमा परमेश्वरको जातिसंगको करार र करारको चिन्ह कसरी नयाँ करारमा पनि निरन्तरता भयो र करारको चिन्हको खतनाको सट्टामा बप्तिस्मा आयो भनेर तलको तस्बिरबाट प्रष्टसंग देखाएका छन्।[15]

पुरानो नियममा, परमेश्वरले अब्राहमसँग करार बाध्नुभयो र त्यो करारको संकेतको रूपमा खतना दिनुभयो—मात्र अब्राहमलाई होइन, तर उनको शिशु छोराहरूलाई पनि (उत्पत्ति १७:७–१२)। यो तिनीहरूमा व्यक्तिगत विश्वास भएको कारण थिएन, तर किनभने तिनीहरू करार समुदायका सदस्य थिए। नयाँ नियममा, बप्तिस्मा नयाँ करारको संकेत बन्छ, जसले खतनालाई प्रतिस्थापन गर्छ (कलस्सी २:११–१२), तर उही आत्मिक अर्थ राख्दछ, अर्थात् ख्रीष्टसँगको एकता, पापबाट शुद्धि, र दृश्य मण्डलीमा प्रवेश। यही कुरा धेरै रिफर्म्ड (Reformed) मण्डलीहरूले “करार बप्तिस्मा” (Covenant Baptism) भनेर बुझ्दछन्। करार ईश्वरशास्त्रले प्रेस्बिटेरियन परम्परामा शिशु बप्तिस्मा बुझ्नमा महत्वपूर्ण भूमिका खेल्दछ। यस ईश्वरशास्त्रले परमेश्वरका करारका प्रतिज्ञाहरू केवल व्यक्तिगत विश्वास गर्नेलाई मात्र नभई तिनीहरूको सन्तानलाई पनि दिइन्छ भनेर सिकाउँछ, जसले विश्वासीको छोराछोरीहरुलाई परमेश्वरका उद्धारको प्रतिज्ञामा समावेशीको संकेत गर्दछ। यस अनुसार, विश्वास गर्ने अभिभावकका बालबालिका पनि परमेश्वरको करार समुदायको हिस्सा मानिन्छ। शिशु बप्तिस्मा यस “करारको चिन्ह र छाप” को रूपमा हेरिन्छ, जसले बच्चालाई परमेश्वरका प्रतिज्ञामा समावेश गरेको संकेत गर्दछ।[16] पुरानो करारमा खतना समावेशीको चिन्ह थियो, नयाँ करारमा बप्तिस्माले समावेशीको चिन्हको रूपमा काम गर्छ। शिशु बप्तिस्मा बच्चाको व्यक्तिगत विश्वासमा आधारित हुँदैन, बरु यसले परमेश्वरका क़रारका प्रतिज्ञाहरू र अभिभावकको विश्वासलाई जनाउँछ। जब बच्चा हुर्किँदै जान्छ र यसले उनीहरूलाई व्यक्तिगत विश्वासको स्वीकारोक्ति गर्न प्रोत्साहित गर्छ। यो अभ्यासले परमेश्वरको करारसँगको वफादारीलाई दर्शाउँछ र परिवारहरूमा अनुग्रहको विस्तार गर्छ। बप्तिस्माले उद्धार वा नयाँ जन्म गराउँदैन वा ग्यारेन्टी गर्दैन, बरु करार ईश्वरशास्त्रअनुसार यो परमेश्वरको प्रतिज्ञाको चिन्ह र छाप हो, जसले शिशुहरुको पनि करारमा सदस्यता रहेको पुष्टि गर्छ।[17] बाइबलले पुरानो र नयाँ नियमभरि उद्धारको एउटै र निरन्तर मार्ग प्रस्तुत गर्दछ। उद्धारको इतिहासभरि विश्वासीहरूको सन्तानहरू सधैं परमेश्वरको उद्धारको करारमा समावेश हुँदै आएका छन्। बप्तिस्मा यो करार परम्पराको निरन्तरता हो—जसरी पुरानो नियममा खतनाले शिशुहरूलाई करार समुदायको भागको रूपमा चिन्ह लगाइन्थ्यो, नयाँ नियममा बप्तिस्माले त्यो नै भूमिका निभाउँछ। नयाँ नियमले बालबालिकालाई करारबाट हटाएको होइन; बरु यसको पूर्ति गर्दै अझ व्यापक रूपमा समावेश गरेको छ।

परमेश्वरको करारको प्रतिज्ञा अझै पनि विश्वास गर्नेहरू र तिनीहरूको सन्तानका लागि हो भन्ने कुरा पत्रुसले प्रेरित२:३८–३९ मा पुष्टि गर्छन्: “यो प्रतिज्ञा तिमीहरूका लागि र तिमीहरूका सन्तानहरूका लागि हो।” यही अनुसार, नयाँ नियममा थुप्रै घरानाको(οἶκος) बप्तिस्मा भएका छन् जहाँ शिशुहरू वा बालबालिकाहरूलाई बाहिर/अलग राखिएको कुनै संकेत छैन र शिशु बप्तिस्माको बाइबलीय आधार नयाँ नियममा स्पष्ट रूपमा पाईन्छ। बाइबलमा बप्तिस्मा दिइएको मध्ये पाँच जनाको घटनामा, जस्तै फिलिप्पीको जेलर (प्रेरित १६:३०–३४), कर्नेलियस (प्रेरित १०:२), लिडिया (प्रेरित १६:१४–१५), क्रिस्पस (प्रेरित १८:८), र स्टेफनस (१ कोरिन्थी १:१४–१६), उनीहरूको पूरै घरपरिवारले बप्तिस्मा पाए। यसको अर्थ, जब परिवारको प्रमुखले विश्वास गरे, तब प्रेरितहरूले त्यो घरका सबैलाई बप्तिस्मा दिए। सीधै भन्नुपर्दा, इतिहासमा यस्तो प्रमाण पाइन्छ कि शिशु बप्तिस्मा प्रेरितहरूको परम्परा नै थियो। सरल भाषामा भनौँ भने, “घरना वा परिवार बप्तिस्मा” भन्नुको मतलब हो—परिवारको मुख्य व्यक्तिको विश्वासका आधारमा, घरका सबै सदस्यलाई बप्तिस्मा दिनु, जुनमा शिशुहरू पनि पर्छन्। यसको अर्थ, सबैले व्यक्तिगत रूपमा विश्वास गरेर हैन, तर विश्वास गर्ने परिवारको सदस्य भएको कारण बप्तिस्मा दिइन्थ्यो। अझ, पावलले एफिसी ६:१-२ मा बालबालिकाहरूलाई प्रत्यक्ष सम्बोधन गरेर भन्छन्: “छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो। आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),” जसले देखाउँछ कि तिनीहरू पनि करार समुदायका सदस्य हुन्। यद्यपि शिशु बप्तिस्मा एकै पदमा स्पष्ट रूपमा भनिएको छैन, सम्पूर्ण उद्धारको इतिहास (Redemptive History) को संरचना, करार ईश्वरशास्त्र मार्फत हेर्दा, यस अभ्यासलाई समर्थन गर्दछ। यसले विश्वास गर्नेहरूको सन्तानलाई परमेश्वरका प्रतिज्ञाहरूमा समावेश गरिने बाइबलको ढाँचालाई सम्मान गर्छ र तिनीहरूलाई करारको चिन्ह—अब बप्तिस्मा—द्वारा चिन्हित गर्छ। धेरै मण्डलीहरूले शिशु बप्तिस्मा गर्छन् (जस्तै क्याथोलिक, अर्थोडक्स, लुथरन, एङ्ग्लिकन, र मेथोडिस्ट) तर प्रेसबिटेरियन र रिफर्म्ड मण्डलीहरूले मात्र यसलाई पुरानो करारको खतनाको सट्टामा गरिएको परम्परा भनेर मान्छन्। जेसोन हेलोपौलस (Jason Helopoulos) इतिहासलाई  उल्लेख गरेर भन्दछन्,

सुरुवाती मण्डलीका पिताहरू—ओरिजेन (Origen), सिप्रियन (Cyprian), टर्टुलियन (Tertulian), रोमका हिप्पोलाइटस (Hippolytus of Rome), र इरेनियस (Irenaeus) —दोस्रो र तेस्रो शताब्दीमा शिशु बप्तिस्माको उल्लेख गर्छन्। ओरिजेनले (Origen), तर्क गरेका छन् कि “चर्चको परम्पराअनुसार बप्तिस्मा शिशुहरूलाई पनि दिनु पर्छ; किनभने यदि शिशुहरूमा क्षमा र अनुग्रहसँग सम्बन्धित कुनै कुरा हुदैनथ्यो भने बप्तिस्माको अनुग्रह अनावश्यक देखिन्थ्यो।” कार्थेज परिषद्ले ख्रिष्टाब्द २५३ मा शिशु बप्तिस्मालाई पहिले देखिनै चर्चमा सामान्य र स्वीकार गरिएको अभ्यासको रूपमा मानेको थियो। कसैले पनि यो अभ्यास कहिले सुरु भयो भनेर देखाउन सकेको छैन—औगस्टिनले (Augustine), जसले नयाँ करारमा बप्तिस्मालाई पुरानो करारको खतनाको चिह्नको समकक्ष मानेका थिए, चौथो शताब्दीमा दाबी गरेका थिए कि “शिशु बप्तिस्मा चर्चमा यति लामो समयदेखि चलिआएको छ कि कसैले यसको सुरुवात सम्झन सक्दैन।“ ऐतिहासिक अभिलेखले देखाउँछ कि चर्चले सधैं करारगत बप्तिस्मा अभ्यास गर्‍यो। सोहौं शताब्दीका एनाब्याप्टिस्टहरूका (Anabaptist) समयसम्म पनि शिशु बप्तिस्माको विरुद्धमा कुनै उल्लेखनीय विरोध देखिँदैन।[18]

नेपालमा शिशु बप्तिस्माको बहस र विवाद कहिलेबाट सुरु भयो र यो विवादले कसरी आजको दिनसम्म पनि प्रेसबिटेरियन मण्डलीहरुलाई शिशु बप्तिस्मा नगर्न प्रभाव पारेको छ? नेपालमा ख्रीष्टियन मण्डलीको सुरुवाती दिनहरूमा एक प्रभावशाली व्यक्तित्व पास्टर रोबर्ट कार्थक थिए। कार्थकको जन्म सन् १९२६ मा भारतको कालिम्पोङमा भएको थियो। उनले म्याकफार्लेन मेमोरियल मण्डलीबाट ख्रीष्टियन नेतृत्व सुरु गरे र सन् १९५६ मा काठमाडौं आए। उनले आफ्ना सहकर्मीहरूसँग मिलेर ज्ञानेश्वर मण्डलीको स्थापना गरे र प्रोटेस्टेन्ट समुदायमा एक महत्त्वपूर्ण व्यक्ति बने। सन् १९६३ मा उनले नेपाल ख्रीष्टियन फेलोशिप (NCF) को सह-स्थापना गरे र १५ वर्षसम्म अध्यक्षको रूपमा नेतृत्व गरे। यस अवधिमा उनले प्रोटेस्टेन्ट (Protestant) सम्प्रदायहरूको एकता प्रवर्द्धन गरे। जबकि उनको पृष्ठभूमि प्रेसबिटेरियन थियो, तर उनले शिशु बप्तिस्माको बारेमा फरक बुझाइ प्रस्तुत गरे। उनले शिशु बप्तिस्मा र आफू हुर्किएको प्रेसबिटेरियन चर्च सम्बन्धी केही उल्लेखनीय कुरा भनेका छन्। कार्थकले भनेका छन्,

“मलाई थाहा थियो कि म शिशु हुँदाखेरी नै बप्तिस्मा गरिएको थिएँ, किनकि म प्रेसबिटेरियन परिवारमा जन्मिएको थिएँ र हाम्रो मण्डलीले विश्वास गर्नेहरूको बप्तिस्मा अभ्यास गर्दैनथ्यो। नेपाल आएपछि म स्वयं बप्तिस्मा लिनुपर्ने आवश्यक महसुस भयो। त्यसैले म पोखरा गए, जहाँ पास्टर डेभिड मुखियाले मलाई पुनः बप्तिस्मा दिए।”[19]

नेपालको पहिलो मण्डलीको पहिलो पाष्टर डेभिड मुखिया पनि शिशु हुँदाखेरी नै बप्तिस्मा भएका थिए र उनको जीवन तथा सेवामा स्कटिस प्रेसबिटेरियन चर्चको ठूलो प्रभाव परेको थियो।[20] सन् १९५२ मा भारतबाट आएका नेपाली ख्रीष्टियन डेभिड मुखिया र उनकी श्रीमती प्रेमी र मिशनरिहरुले नेपालको पहिलो चर्च, रामघाट चर्च, पोखरामा स्थापना गरे र नेपालको पहिलो मण्डलीको पहिलो पाष्टर भएर नेपालको मण्डली इतिहासमा योगदान पुर्याए।[21] प्रेसबिटेरियन शिक्षाबाट प्रभावित र बालकैमा बप्तिस्मा भएका मुखियाले कार्थकलाई पुनः बप्तिस्मा दिए, र उनलाई बप्तिस्मा प्रमाणपत्र पनि प्रदान गरे, यसले शिशु बप्तिस्माको विषयमा प्रारम्भिक नेपाली मण्डलीहरूमा बहस सुरु भयो। यद्यपि, यो कदम लामो समयदेखि स्थापित प्रेस्बिटेरियन परम्पराबाट विचलनको रूपमा हेरिएको थियो, जसका कारण भारतको कालिम्पोङस्थित स्थानीय मण्डलीले यस कार्यलाई ‘विद्रोह’ ठहर गर्दै कार्थकलाई मण्डलीबाट निष्कासन गर्‍यो।[22] कार्थकले फेरि भनेका छन्,

“म आफूलाई २१ वर्षको हुँदासम्म एक भक्त ख्रीष्टियन ठान्दिन थिएँ। त्यसअघिसम्म मलाई ख्रीष्टमार्फतको मुक्ति र अनन्त जीवनको सुनिश्चितता महसुस भएको थिएन। यद्यपि म एक ख्रीष्टियन परिवारमा हुर्किएको थिएँ र मेरो अनुमति बिना नै शिशु बप्तिस्मा भएको थियो, तर सन् १९४६ मा मात्रै मैले येशू ख्रीष्टलाई मेरो व्यक्तिगत मुक्तिदाता र प्रभुका रूपमा विश्वास गर्न थालेँ। स्कटिस मिसनरीहरूको प्रभावमा मेरो जन्मथलोको प्रेसबिटेरियन मण्डलीमा नयाँ जन्म र येशूमा उद्धार जस्ता मूलभूत शिक्षाहरूको कमी थियो।”[23]

नेपालका धेरै प्रेसबिटेरियन इतिहासकारहरूले उल्लेख गरेका छन् कि रोबर्ट कार्थक बारम्बार भन्थे, “भारतमा म प्रेसबिटेरियन थिएँ; तर नेपाल आएपछि मात्र म ख्रीष्टियन भएँ।”[24] उनका यी भनाइहरू र पुनः बप्तिस्माले नेपाली प्रेसबिटेरियन मण्डलीहरूमा शिशु बप्तिस्मा बाइबलीय हो कि होइन र नेपालको सन्दर्भमा उपयुक्त छ कि छैन भन्ने बहस उठायो र अन्य ख्रीष्टियन समुदायबाट बहिस्कार हुने डरले नेपालका प्रेसबिटेरियन मण्डलीहरुले आफ्नो मण्डली परम्पराअनुसारको बप्तिस्मा बिधि अपनाउन आनाकानी गरे। कार्थक म्याकफार्लेन मेमोरियल मण्डली, एक प्रेसबिटेरियन समुदायका थिए, तर उनको शिक्षामा प्रेसबिटेरियन बाहेकका विचारहरूबाट पनि प्रभाव परेको देखिन्छ। यसैबीच, कार्थकसँगै काठमाडौं सरेका उनका सहकर्मी राजेन्द्र रोंगोंङले मण्डलीको बारेमा फरक धारणा व्यक्त गरेका छन्। रोंगोंले आफ्नो पुस्तकमा लेखेका छन्, “कालिम्पोङको म्याकफार्लेन मण्डली, सन् १९५० मा युवाहरूबीच ठूलो आत्मिक जागरण आयो। त्यो एक बनको डढेलोजस्तै थियो। यस जागरणपछि युवाहरूबीच बाइबल अध्ययनहरू सुरु भए।”[25]  

राजेन्द्र रोंगोंङ, रोबर्ट कार्थक, डेभिड मुखियाहरू प्रेस्बिटेरियन मण्डलीबाट आएका र प्रभावित भएका थिए, तर उनीहरूले प्रेस्बिटेरियन शिक्षाहरू र अभ्यासहरू भन्दा सुसमाचार र मण्डली निर्माणमा बढी जोड दिए। केहीका अनुसार “रोबर्ट कार्थक पहिले प्रेस्बिटेरियन थिए। पछि एलिजाबेथ फ्रान्जलिनसँग भेटेर नेपाल आए। उनी लन्डनमा पढ्न गए, जहाँ झनै उनलाई ब्याटिस्ट (Baptist) शिक्षाको प्रभाव परेको थियो। त्यति मात्र होइन, पछि उनी एउटा क्यारेस्म्याटिकहरूको समूहमा आफूलाई चिनाए र ज्ञानेश्वर मण्डलीमा क्यारेस्म्याटिक शिक्षा र अभ्यासहरू लागू गरे।”[26] यस ऐतिहासिक परिप्रेक्ष्यले नेपाली प्रेस्बिटेरियन मण्डलीहरूमा शिशु बप्तिस्मासम्बन्धी चलिरहेको बहसको लागि आधार तयार पारेको छ। नेपालमा थुप्रै प्रेस्बिटेरियन मण्डलीहरू स्थापना भएका छन्, तर दशकौंको छलफलले यो बहस समाधान गर्न सकेको छैन। नेपाली प्रेस्बिटेरियन सम्प्रदायहरूमा शिशु बप्तिस्माको अभ्यास अझै पनि विवादको रूपमा रहेको छ, जसले हालको ईश्वरशास्त्र विमर्श, मण्डलीको पहिचान र सदस्यता गठन गर्न यसले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। करार ईश्वरशास्त्र र शिशु बप्तिस्मा सम्बन्धि अन्तरवार्तामा Evangelical Presbyterian Churches of Nepal (EPCON) का एकजना पास्टरले भन्नुभयो,  

 “मलाई करार ईश्वरशास्त्र र करार बप्तिस्माको बारेमा थाहा छैन, मलाई लाग्छ शिशु बप्तिस्मा बाइबलिय होइन, केहि प्रेसबिटेरीयन मण्डलीहरुले यसको अभ्यास गर्दै आएका छन् तर हाम्रो लागि यो एउटा अनौठो अभ्यास हो, हाम्रो मण्डलीहरुमा पहिलेदेखि नै विश्वासीको बप्तिस्मा मात्र चलनचल्तीमा छ।”[27]

उहाँको यस भनाईले नेपालका प्रेसबिटेरियन मण्डलीहरु आफ्नो साम्प्रदायिक शिक्षामा अनबिज्ञ छन् भन्ने कुरा प्रतिनिधित्व गर्छ। तर यदि नेपालका प्रेसबिटेरियन मण्डलीहरु आफ्नो ईश्वरशास्त्र र आफ्नो सम्प्रदायको परपरागत अभ्यासमा नफर्किने हो भने, सम्पदायको ट्यागमात्र लगाएको तर सम्प्रदायप्रति विश्वासयोग्य नभएको पुष्टि हुन्छ। करार ईश्वरशास्त्रका मुख्य शिक्षाले प्रेस्बिटेरियनहरूलाई आफ्नो ईश्वरशास्त्रको इतिहासलाई जोगाउन र सांस्कृतिक परम्परामा विश्वासको अभिव्यक्ति जिउँदो राख्न मद्दत पुर्याउँछ। करार ईश्वरशास्त्र सामूहिक ईश्वरशास्त्र हो र नेपाली समुदाय पनि सामूहिक स्वभावको छ। शिशुहरूले मुखको स्वीकारोक्ति गरेपछि मात्र बप्तिस्मा लिनुपर्छ वा उद्धारको प्रतिज्ञा केवल वयस्कहरूलाई मात्र लागू हुन्छ भन्नु नेपाली समुदायको सामूहिक स्वभावलाई नदेख्नु र करारमा परमेश्वरको समावेशी प्रतिज्ञालाई इन्कार गर्नु हो। केवल वयस्कहरूलाई बप्तिस्मा दिनु भनेको करार ईश्वरशास्त्र र नेपाली समुदायको सामूहिक स्वभावको लागि एक परदेशी विचार हो। नेपाली समाजमा धर्म सामूहिक हुन्छ, त्यसैले बप्तिस्मा केवल व्यक्तिगत निर्णय होइन, बरु परमेश्वरको अनुग्रहको चिन्ह हो जसले सम्पूर्ण करार समुदायलाई अँगाल्छ। शिशुहरूको बप्तिस्माले सामूहिक विश्वासलाई देखाउँछ, जसले पुस्ता-पुस्तामा परमेश्वरको करारको विश्वासयोग्यतालाई जीवन्त राख्छ। यसको साथै करार बप्तिस्माले बालबालिकाहरुलाई ठीकसँग परमेश्वरको ज्ञान, भय र अनुशासनमा हुर्काउन आमाबुवा र मण्डली समुदाय जिम्मेवार हुन्छन् भन्ने कुरा पनि जोड दिन्छ। 

Bibliography

Bavinck, Herman, John Bolt, and John Vriend. Reformed Dogmatics, Volume 3: Sin and Salvation in Christ. Grand Rapids, MI: Baker Academic, 2006.

Booth, Robert R. Children of the Promise: The Biblical Case for Infant Baptism. Phillipsburg, NJ: P&R Publishing, 1995.

Brown, Michael G., and Zach Keele. Sacred Bond: Covenant Theology Explored. Grandville, MI: Reformed Fellowship, Inc., 2012.

Grung, U.J. Nepal Christian History. Kathmandu: Faithful Publishing Nepal, 2021.

Helopoulos, Jason. Covenantal Baptism. Phillipsburg, NJ: P&R Publishing, 2021.

Khanal, B.P. Pastor Robert Karthak – The Living Pioneers of Christian Mission to Nepal. Nepal Church, January 11, 2019. https://nepalchurch.com/16670/pastor-robert-karthak-the-living-pioneers-of-christian-mission-to-nepal/.

Powerful Testimony of Pastor Robert Karthak | Life Journey of Karthak. Bachan TV. May 21, 2021. https://www.youtube.com/watch?v=example-link.

Rongong, Rajendra K. Early Churches in Nepal: An Indigenous Christian Movement in Nepal till 1990. Kathmandu: Ekta Books, 1990.

Robertson, O. Palmer. The Christ of the Covenants. Phillipsburg, NJ: P&R Publishing, 1987.

Sproul, R.C. Covenant Theology. Ligonier Ministries. Accessed April 21, 2025. https://learn.ligonier.org/guides/covenant theology#:~:text=Covenant%20theology%20is%20a%20hermeneutical,to%20studying%20the%20biblical%20covenants.

The Westminster Assembly. The Westminster Confession of Faith. Chapter 7, “God’s Covenant with Man.” Sections II, III, and 7.6; and Chapter 28.

Thiselton, Anthony C. The Thiselton Companion to Christian Theology. Grand Rapids, MI: Wm. B. Eerdmans Publishing, 2015.

Waters, Guy Prentiss, J. Nicholas Reid, and John R. Muether, eds. Covenant Theology: Biblical, Theological, and Historical Perspectives. Foreword by Ligon Duncan. Phillipsburg, NJ: P&R Publishing, 2020.

© 2025 Anil Tamang. All rights reserved.


[1] Anthony C. Thiselton, The Thiselton Companion to Christian Theology (Grand Rapids, MI: Wm. B. Eerdmans Publishing, 2015), 260-261.

[2] R.C. Sproul, Covenant Theology, Ligonier Ministries, https://learn.ligonier.org/guides/covenant-theology#:~:text=Covenant%20theology%20is%20a%20hermeneutical,to%20studying%20the%20biblical%20covenants.

[3] Guy Prentiss Waters, J. Nicholas Reid, and John R. Muether, eds., Covenant Theology: Biblical, Theological, and Historical Perspectives, foreword by Ligon Duncan (Phillipsburg: P&R Publishing, 2020), 27.

[4] Herman Bavinck, John Bolt, and John Vriend, Reformed Dogmatics, Volume 3: Sin and Salvation in Christ (Grand Rapids, MI: Baker Academic, 2006), 193–196.

[5] Michael G. Brown and Zach Keele, Sacred Bond; Covenant Theology Explored (Grandville: Reformed Fellowship, Inc., 2012), 38-40.

[6]WCF, Chapter 7, God´s Covenant with Man. II

[7]WCF, Chapter 7, God´s Covenant with Man. III

[8] Ibid. Brown and Keele, 90-91.

[9] O. Palmer Robertson, The Christ of the Covenants (Phillipsburg, NJ: P&R Publishing, 1987), 63.

[10] Ibid. Brown and Keele, 131.

[11] Robert R. Booth, Children of the Promise: The Biblical Case for Infant Baptism (Phillipsburg, NJ: P&R Publishing, 1995), 47.

[12]WCF, 7.6.

[13] Robert R. Booth, Children of the Promise: The Biblical Case for Infant Baptism (Phillipsburg, NJ: P&R Publishing, 1995), 39.

[14] Ibid.. Booth, 46.

[15] Jason Helopoulos, Covenantal Baptism (Phillipsburg, NJ: P&R Publishing, 2021), 39.

[16] WCF, 28.  

[17] Ibid.. Booth, 45.

[18] Jason Helopoulos, 50-51.

[19] Powerful Testimony of Pastor Robert Karthak | Life Journey of Karthak, Bachan TV, May 21, 2021, https://www.youtube.com/watch?v=example-link.

[20] U.J. Grung, Nepal Christian History (Kathmandu: Faithful Publishing Nepal, 2021), 98.

[21] Rajendra K. Rongon, Early Churches in Nepal: An Indigenous Christian Movement in Nepal till 1990 (Kathmandu: Ekta Books, 1990), 44.

[22] B. P. Khanal, Pastor Robert Karthak – The Living Pioneers of Christian Mission to Nepal, Nepal Church, January 11, 2019, https://nepalchurch.com/16670/pastor-robert-karthak-the-living-pioneers-of-christian-mission-to-nepal/.

[23] Powerful Testimony of Pastor Robert Karthak | Life Journey of Karthak, Bachan TV, May 21, 2021, https://www.youtube.com/watch?v=example-link.

[24] Four Presbyterian pastors mentioned this statement during the interview when I asked them why Presbyterians in Nepal do not practice infant baptism despite its traditional and theological basis in covenant theology.

[25] Rajendra Rongong, Early Churches in Nepal, (Kathmandu: Ekta Books, 2017) 54

[26] A Pastor from one of Nepal’s oldest Presbyterian churches shared his thoughts on Robert Karthak during an interview; however, he requested that his name not be mentioned.

[27] He requested that his name not be mentioned.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button