चन्द्रनाथ योगी र अब्दुल जब्बारको धार्मिक सद्भावको मित्रता
हरि जिज्ञासु
असोज १८ ।। बाँकेको नेपालगञ्ज पहाडी, मधेशी र विभिन्न धार्मिक समुदाय मिलेर बसेको सहर हो । नेपालगञ्ज सहरमा केहि दिनयता केहि व्यक्तिहरुले आफ्नो स्वार्थको लागि सद्भाव खलबल्याउने कार्य गरिरहेको अवस्था छ ।
मुस्लिम धार्मिक समुदायको मस्जित, हिन्दु धार्मिक समुदायको मन्दिर र ख्रीष्टियन समुदायको चर्च केहि मिटरको फरकमा मात्र छन् । वर्षौदेखि सबै धार्मिक समुदायको भाइचाराको सम्बन्ध छ । तर कतिपय व्यक्तिहरुले व्यक्तिगत स्वार्थको लागि सद्भाव खलबल्याउने कार्य गरेको देखिन्छ ।
नेपालगञ्जमा धार्मिक समुदायबीच सद्भाव भट्किने क्रियाकलाप सिर्जना भएपछि बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धार्मिक समुदायका अब्दुल जब्बार मन्जरी सामाजिक सद्भावको लागि सबै भन्दा अगाडि संगै उभिनुहुन्छ ।
नेपालगञ्जमा केहि दिन याता दुई समुदायबीच सिर्जना भएको झडपलाई साम्य बनाउनको लागि यी दुई धर्म गुरुहरुको महत्पूर्ण भूमिका रहेको छ । अहिले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र अब्दुल जब्बार मन्जरी संगै मोटरसाइकलमा गाउँ गाउँमा जान्छन् । समुदायलाई मिलेर बस्न सल्लाह दिन्छन् ।
यी दुई धर्म गुरुहरुको सम्बन्धको कथा लामो छ । उहाँहरु हिन्दु र मुस्लिमको विभिन्न चाडपर्वमा सहभागी हुने र शुभकामना सहित मिठाई बाँढ्ने गर्नुहुन्छ । उहाँहरु बेलाबेलामा संगै बसेर चिया खाँदै सामाजिक सद्भावका कुरा गर्नुहुन्छ ।
नेपालगञ्जमा अहिले सामाजिक सद्भाव चाहाने हिन्दु, मुस्लिम, ख्रीष्टियन, शिख लगायतका धर्मगुरुहरु संगै बसेर धार्मिक र सामाजिक सद्भावको कुरा गर्दैहुनुहुन्छ । दुई समुदायबीच झडव सीर्जना भएपछि अहिले नेपालगञ्ज विस्तार शान्त हुँदै गएको छ ।