चर्चको दिर्घकालिन एकताको लागि साझा काउन्सिलको आवश्यकता छ : संयोजक भव घले
संयुक्त राष्ट्रिय नेपाली इसाई मण्डली परिषद्का संयोजक भव घलेले संयुक्त राष्ट्रिय नेपाली चर्च एकता आजको आवश्यकता रहेको बताएका छन् ।
सोमबार ललितपुरमा पत्रकारसँग छलफल गर्दै परिषद्का संयोजक घलेले अहिलेको विषम परिस्थितिमा नेपाली चर्चवीच एकताबद्ध गराउन प्रतिनिधि संघसंस्थाबीच सहकार्य गर्दै अबको एकता प्रार्थनामुखी, दर्शनमुखी, कार्यमुखी र सहकार्यमुखी हुन आजको आवश्यकता रहेको बताएका हुन् ।
‘हाम्रो ख्रीष्टियन राष्ट्रिय मण्डली एकता अपरिहार्य छ तर हाल विभाजित एकताको अवस्था रहेको छ संयोजक घलेले भने, परिषद्को मुल उद्देश्य संयुक्त राष्ट्रिय ख्रीष्टियन एकता कायम गराउन राष्ट्रिय चर्च तथा ख्रीष्टियन समुदायको प्रमुख समसामयिक विषयहरुमा छलफल र चिन्ता गर्दै समयको माग अनुरुप ख्रीष्टियन समुदायमा भईरहेको एकतालाई थप मजबुद् बनाउन काउन्सिलको आवश्यकता भएकोले नेपाली मण्डलीले संयुक्त तथा पूर्ण राष्ट्रिय एकताको प्रयासमा योगदान दिन काउन्सिलको निर्माण गरिएको हो ।’
उनले परिषद् भित्र सबै ख्रीष्टियन संघसंस्था र मण्डली तथा अभियानहरु अटाउन काउन्सिलको आवश्यकता रहेको बताए । काउन्सिलले चर्च एकताको प्रयास र प्रक्रियालाई पूर्णता दिई एउटा साझा छाना निर्माण गरी पूर्ण आधिकारिकताको साथ एउटा स्वतन्त्र, साझा र संयुक्त रुपमा राष्ट्रिय संयुक्त खीष्टियन मण्डली परिषदको निर्माण गरी, राष्ट्रिय मण्डली एकतालाई पूर्ण रुप दिन र मिलेर सम्पूर्ण समस्या, एजेन्डा, सरोकार, चुनौति र अभिमतहरुलाई एकै साथ सबैले सबै अभियानलाई साथ दिई राष्ट्रिय ख्रीष्टियन मण्डलीलाई व्यवस्थित, एकत्रित, सशक्त, प्रभावकारी बनाई आगामी दिनमा प्रभुका महिमा र परमेश्वरको राज्य विस्तार कार्यमा लाग्ने घलेले बताउनुभयो ।
छलफलमा सहभागी पत्रकार निरोज तोलाङेले चर्च काउन्सिलले पुस्तान्तरणलाई ध्यानमा राख्दै युवा नेतृत्वको अवधारणा र एजेन्डालाई बहस गर्न देशब्यापी अभियानका रूपमा लैजान सुझाव दिनु भयो । पत्रकार तोलाङेले नेपाली चर्चलाई रूपान्तरण र पुस्तान्तरणको मार्गमा चर्चलाई दिशानिर्देश गर्न हरप्रकारले सुसूचित गर्ने दायित्वबाट ख्रीष्टियन मिडिया पछि नहट्ने समेत धारणा राख्नुभयो ।
यस्तै पत्रकार कुमारसिहं विष्टले नेपाली चर्चलाई सुव्यवस्थित गराउन, कार्यमुखी र सहकार्यमुखी बनाउन सबै अटाउने साझा चर्च काउन्सिल निर्माणको विकल्प नभएको बताउनुभयो । आगामी दिनमा काउन्सिलले समग्र ख्रीष्टियन समुदायको हकहित अधिकारको संरक्षण, प्रवद्र्धन, राजनीतिक, धार्मिक तथा सामाजिक र अन्तरधार्मिक समुदायसँग सम्बन्ध विस्तार गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न नेपाली चर्चको अधिकारलाई सुव्यवस्थित तथा दिशानिर्देश गर्दै धार्मिक सद्भावयुक्त शान्ति तथा मेलमिलापयुक्त देश निर्माणमा सहयोग गर्ने प्रमुख लक्ष्य रहेको संयोजक घलेले बताउनुभयो ।