चर्चलाई निजी धार्मिक गुठीको रुपमा दर्ता गर्न राष्ट्रिय गिर्जाघर गुठीको आग्रह
काठमाण्डौं–२५ पौष ।। चर्चको सम्पत्ती सुरक्षाको लागि चर्चहरुलाई निजी धार्मिक गुठीको रुपमा दर्ता गर्न राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, नेपालले आग्रह गरेको छ ।
आज बिहिबार ललितपुरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, केन्द्रदेखि स्थानीय तहसम्मका सबै चर्चहरुलाई निजी धार्मिक गुठीमा दर्ता गरेमा चर्चको सम्पतीको सुरक्षित हुने र चर्चका सबै सदस्यहरुले उपभोग गर्न पाउने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, नेपालले चर्चलाई निजी धार्मिक गुठीको रुपमा दर्ता गरेमा नेपाली ख्रीष्टियन समुदायको हित हुने बताउँदै आउने दिनहरुमा देशभरका चर्चहरुलाई नीजी धार्मिक गुठीमा दर्ता गर्ने प्रक्रिया र प्रावधानको विषयमा प्राविधिक सहयोग गर्ने समेत बताएको छ ।
राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी,नेपालले नीजी धार्मिक गुठीमा चर्च दर्ता गर्दा हुने फाइदा र बेफाइदाको विषयमा कानून सम्बन्धि विज्ञ, मालपोत कार्यालयका प्रमुख, पहिले नै गुठीकोरुपमा दर्ता भएका संस्थाका प्रमुखहरु लगायत सम्बन्धित क्षेत्रको विज्ञसँग बसेर छलफल गरी चर्चलाई नीजि धार्मिक गुठीको रुपमा दर्ता गर्न उचित रहेको समेत बताएको छ ।
कुनै पनि चर्च राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, नेपालमा आवद्धता नभएपनि सबै चर्चहरुले सम्पती सुरक्षाको लागि दर्ता हुन आवश्यक रहेको बताउँदै, आउने भावि पुस्ताहरुको लागि पनि गुठीमा दर्ता गर्नुले सहजता हुने बताएको छ ।
राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, नेपालले गुठी विभिन्न प्रकारका हुने भएकाले सार्बजनिक गुठीको रुपमा चर्च दर्ता गर्दा आउने दिनहरुहरुमा कुनै कारणवस सार्वजनिक सम्पती सरकारको स्वामित्वमा हुन सक्ने समेत बताएको छ । नीजि धार्मिक गुठीमा दर्ता गर्दा कुनै सामुहिक रुपमा जमिन खरिद विक्रि गर्नको लागि पनि सहज हुनेछ ।राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, नेपालले विधान र कानूनी प्रक्रिया पूरा गरेर नीजि धार्मिक गुठीको रुपमा दर्ता गरिसकेको छ ।
Important topic and coverage!