चर्च अफ इङ्ग्ल्यान्डको आर्चबिशप अफ क्यान्टरबरीमा पहिलो पटक महिला नियुक्त हुने सम्भावना

चर्च अफ इङ्ग्ल्यान्डको आर्चबिशप अफ क्यान्टरबरीमा पहिलो पटक महिला नियुक्त हुने सम्भावना

मे २०, २०२५

चर्च अफ इङ्ग्ल्यान्डले आफ्नो इतिहासमा पहिलो पटक महिला आर्चबिशप अफ क्यान्टरबरी पाउने सम्भावना देखिएको छ। बेलायती बेटिङ्ग कम्पनीहरूले चेल्म्सफोर्डकी बिशप गुली फ्रान्सिस–डेहकानीलाई क्यान्टरबरीका अगामी आर्चबिशपका रूपमा सबैभन्दा अगाडि देखाएका छन्।

बेलायती बेटिङ्ग कम्पनी लाडब्रोक्स र स्टार स्पोर्ट्सले उनलाई “इभेन्स” र “२ को १” को अनुपातमा पहिलो रोजाइमा राखेका छन्। यदि उनी चयन गरिइन् भने, चर्च अफ इङ्ग्ल्यान्डको १०६औं आर्चबिशप बन्नेछिन्, र सो पदमा पुग्ने पहिलो महिला हुनेछिन्।

महिलालाई बिशप बन्न दिने व्यवस्था चर्चले २०१४ मा लागू गरेपछि महिलाहरूको उपस्थितिमा उल्लेखनीय वृद्धि आएको छ। चर्च अफ इङ्ग्ल्यान्डको जनरल सिनोडले अघिल्लो वर्ष सार्वजनिक गरेका तथ्यांक अनुसार, हाल चर्चमा करिब ३०% बिशप महिला छन्।

नयाँ आर्चबिशप चयनको प्रक्रिया “क्यान्टरबरी क्राउन नोमिनेसन कमिसन” द्वारा सञ्चालन गरिनेछ, जसको अध्यक्षता पूर्व MI5 निर्देशक लर्ड इभान्स अफ वेर्डेलले गर्नेछन्। पहिलो बैठक यस महिनाको अन्त्यमा हुनेछ भने आगामी बैठकहरू जुलाई र सेप्टेम्बरमा आयोजना हुनेछन्।

नयाँ आर्चबिशपको चयनका लागि गोप्य मतदानमार्फत दुई-तिहाइ सदस्यको समर्थन आवश्यक पर्छ। नयाँ नियुक्तिको औपचारिक घोषणा यो शरद ऋतुसम्म हुने अपेक्षा गरिएको छ।

पूर्व आर्चबिशप जस्टिन वेल्बीले एक यौन दुव्र्यवहार काण्डको आलोचना पछि नोभेम्बरमा राजीनामा दिएका थिए। सो काण्ड वकिल तथा इसाई क्याम्प नेता जोन स्माइथसँग सम्बन्धित थियो।

५८ वर्षीया फ्रान्सिस–डेहकानीको जन्म इरानमा भएको हो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि परिवारले देश छाड्नुपर्‍यो। उनका दाजु बहरामको १९८० मा गोली हानी हत्या गरियो। उनका पिता, जो त्यतिबेला इरानका एङ्ग्लिकन बिशप थिए, एक प्राणघातक आक्रमणबाट बाँच्न सफल भए। उनकी आमा, अर्को बिशपकी छोरी थिइन्, उनी पनि आक्रमणबाट बचेकी थिइन्।

उनीहरूको परिवार पछि बेलायत बसाइँ सरेको थियो। उनका पिताले त्यहाँ निर्वासित बिशपको रूपमा सेवा गरे। गुलीले नोटिङ्घम र ब्रिस्टल विश्वविद्यालयहरूबाट अध्ययन गरिन्, १९९९ मा धर्मगुरुको रूपमा अभिषेक भइन्, २०१७ मा लफ्बरोकी बिशप बनिन् र २०२१ मा चेल्म्सफोर्ड सरेर आएकी हुन्।

अन्य सम्भावित उम्मेदवारहरूमा बाथ एन्ड वेल्सका बिशप माइकल बिस्ले र केप टाउनका आर्चबिशप थाबो माकगोबा पनि छन्। स्टार स्पोर्ट्सले माकगोबालाई २५ को १ को अनुपातमा सूचीबद्ध गरेको छ।

फ्रान्सिस–डेहकानी युकेको आप्रवासन नीतिको आलोचना गर्ने कार्यले पनि चर्चामा आएकी छिन्।

गत हप्ता प्रधानमन्त्री कीर स्टारमरले बेलायतलाई “परिचितविहीन टापु” भनिएको टिप्पणीप्रति उनले प्रतिक्रिया दिँदै भनिन्, “आप्रवासीहरू ‘परिचितविहीन’ होइनन्, उनीहरू त साथी हुन्, जो हामीसँगै पूजा गर्छन्, सेवा गर्छन् र जीवन बाँड्छन्।”

उनले थप भनिन्, “राजनीतिक नेताहरूले बुझ्नुपर्छ कि शब्दहरू महत्त्व राख्छन् — यिनले मानिसहरूलाई कमजोर समुदायप्रति कस्तो दृष्टिकोण राख्ने भन्ने निर्धारण गर्छ। आप्रवासीहरूलाई मानवीयता रहित रूपमा प्रस्तुत गर्नु कहिल्यै स्वीकार्य हुन सक्दैन।”

यद्यपि बेटिङ्ग कम्पनीहरूले सचेत गराएका छन् कि सुरुमा अगाडि देखिएका उम्मेदवारहरू सधैं चयनमा परेका छैनन्।

२००२ मा आर्चबिशप जर्ज क्यारीले राजीनामा गर्दा माइकल नजिर–अली प्रमुख दाबेदार मानिएका थिए, तर पद रोवान विलियम्सलाई दिइयो। त्यसैगरी, २०१२ मा जोन सेन्टामु र क्रिस्टोफर कोक्सवर्थ अगाडि देखिए पनि अन्ततः जस्टिन वेल्बी चयनमा परेका थिए, जो सुरुवाती सूचीमा थिएनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button