जापानमा ‘छुटकारा’ चलचित्र प्रदर्शन

१२ जेठ, जापान — जापानको हीकारी नेपाली चर्चमा आइतबार इसाई नेपाली चलचित्र ‘छुटकारा’ को विशेष प्रदर्शन गरिएको छ । सामाजिक यथार्थता र बाइबलीय शिक्षामा आधारित यो चलचित्र जातीय विभेद, विवाह, र मण्डलीभित्रका व्यवहारगत चुनौतीहरूलाई उजागर गर्दै परिवर्तनको सन्देश दिन निर्माण गरिएको हो ।
चलचित्र प्रदर्शनपछि आयोजित छलफल कार्यक्रममा चर्चका युवा अगुवाहरू नवराज श्रेष्ठ, शोनीया बम्रेल, विश्राम लामा तथा दिलबहादुर राना मगरले बोल्नुभएको थियो । उहाँहरुले भन्नुभयो, “विवाह परमेश्वरको योजना अनुसार पवित्र हुनुपर्छ । प्रत्येक जवानले विवाह गर्दा आफन्त, मण्डलीका अगुवा र परमेश्वरको मार्गदर्शन लिन जरुरी छ ।”
मण्डलीका अगुवा राजु नेपालीले चलचित्रको मर्म निकै सशक्त रहेको उल्लेख गर्दै भन्नुभयो, “सबै मानिस परमेश्वरको स्वरूपमा सिर्जना भएका हुन्, त्यसैले उहाँको सृष्टि सुन्दर छ । यो चलचित्र सुसमाचारको प्रचारमा एक प्रभावशाली माध्यम बन्न सक्छ ।”
डीकन पी.एस.बान्तवा राईले चलचित्र निर्माण टिमलाई धन्यवाद दिंदै भने, “सन्देशमुखी र बाइबलीय शिक्षाले भरिएको यो चलचित्र प्रत्येक मण्डलीले हेर्नैपर्ने छ । यसले रुपान्तरण ल्याउन सहयोग पुर्याउनेछ ।”
चलचित्र ‘छुटकारा’ नेपाली मण्डलीमा व्याप्त जातीय सोच, परम्परागत सोचाइ र विवाहसम्बन्धी चुनौतीहरूमाथि गहिरो विमर्श गर्न उत्प्रेरित गर्ने प्रयास हो ।