जापानमा नेपाली ख्रीष्टियन युवासम्मेलन सम्पन्न

टोकियो, २३ जेठ — नेपाली ख्रीष्टियन युथ सोसाइटी जापानको आयोजनामा एक दिवसीय नेपाली ख्रीष्टियन युवासम्मेलन शनिबार सम्पन्न भएको छ। जापानभर स्थापना भएका विभिन्न नेपाली चर्चहरूबाट युवाहरूको सहभागितामा टोकियो नेपाली चर्चमा आयोजित सो कार्यक्रममा करिब २०० भन्दा बढी युवाहरू सहभागी भएका थिए।
“दुःखको समय र वृद्धावस्था आउनु अघि नै युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर” भन्ने मुख्य सन्देशलाई आधार मानेर सम्मेलन आयोजना गरिएको थियो।
कार्यक्रममा पास्टर जोसुवा लेप्चाले परमेश्वरको वचनमार्फत सहभागी युवाहरूलाई आत्मिक उत्साह प्रदान गर्नुभएको थियो। साथै, सम्मेलनमा सहभागी विभिन्न चर्चका युवाहरूले गीत, नृत्य र अन्य सिर्जनात्मक प्रस्तुति पनि दिएका थिए।
अहिले जापानमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीहरूको संख्यामा वृद्धि भइरहेका कारण नेपाली ख्रीष्टियन समुदाय र चर्चहरूको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। यस किसिमका आत्मिक लाभदायी कार्यक्रमहरूले युवाहरूलाई विश्वासमा थप सुदृढ बनाउने विश्वास आयोजकको रहेको छ।