दृष्टि हराएकोमा पछुतो छैन,परमेश्वरमा विश्वास गर्न पाएकोमा खुसी छु
हरि जिज्ञासु
असोज १० । बि.सं २०५४ सालमा जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नं.२ पेरे गाउँमा जन्मनुभएको हो मुस्कान बि.क । हाल २६ वर्ष पुगेका मुस्कान बि.क ले जन्मजात नै दृष्टि गुमाउनुभएको थियो ।
पारिवारिक आर्थिक अभाव र अनगिन्ति समस्यासंग संर्घष गरेका मुस्कान बि.कलाई जीवनमा बाँच्नु भन्दा मर्नु राम्रो नलागेको पनि होइन । अरु सबैले संसार देख्ने मैले किन दृष्टि हराएको भनेर मुस्कानको मनमा हजारौँ प्रश्न नउठेका पनि होइनन् ।
मुस्कान बि.कले आँखाको दृष्टि गुमाए पनि मनको दृष्टिले अक्षर चिनेर शिक्षित हुने लक्षलाई आत्मासाथ अगाडि बढाउनुभयो । अनी जुम्लामै उहाँले एस.ई ई को अध्ययन सकाउनुभयो । अधेरोले मुस्कानको आँखालाई छेकेपनि मनको आँखाले अक्षर चिनीरहे अनी देखिरहे । मुस्कानले आफ्नो अध्ययनलाई अगाडि बढाईरहनुभयो ।
बि.सं २०६६ सालमा मुस्कान बि.कले परमेश्वरमा विश्वास गरेको बताउनुहुन्छ । विश्वास गरेपछि मुस्कानलाई जेजस्तो भएपनि जन्मेपछि बाँच्नै पर्ने एउटा नयाँ आशा पलायो । परमेश्वरप्रतिको निरन्तर भरोसाले मुस्कानलाई जिउन थप साहास मिल्यो ।
हजारौँ पटक निरास हुनुभएका मुस्कानले परमेश्वरमा विश्वास गरेपछि आफ्नो क्षमतालाई शैक्षिक र आत्मिक रुपमा बलियो बनाउने उद्देश्यले २ वर्षको बाइबल तालिमको लागि काठमाण्डौँ पुग्नुभयो । गाउँमा एस.ई.ई सकाएका मुस्कानल क्राउन नेपाल बाइबल कलेजमा दुई वर्षको बाइबल तालिम र कोटेश्वर बहुमुखी क्याम्पसबाट कक्षा १२ पास गर्नुभयो ।
दृष्टि गुमाए पनि शैक्षिक क्षमता मुस्कानसंग प्रसस्थ छ । मुस्कानको आँखाले संसार नदेखेका मात्र हुन् तर मनले भने संसार देख्छ । २०७६ सालमा मुस्कानको बसन्ती काफ्लेसँग गोल्सपल चर्च नेपालगञ्जमा पवित्र बिवाह भयो । श्रीमती बसन्ती काफ्लेले पनि दृष्टि गुमाउनु भएको छ ।
हाल मुस्कान र उहाँको श्रीमती बसन्ती काफ्ले ललितपुर भैँसीपाटीको एउटा चर्च परिसरमा एउटा टहरामा बस्नुहुन्छ । मुस्कानको एउटा रहर लाग्दी ३ वर्षकी छोरी छिन् । ती सानी छोरीलाई मास्क र कलम बेचेर मुस्कान र बसन्तीले स्कुल पढाउनुहुन्छ । कपि कलम किनिदिनुहुन्छ ।
मुस्कान अहिले आदर्श सौलियत विद्याल ललितपुर भैसेबाटीमा ब्याचलर लेबलमा अध्ययनरत हुनुहुन्छ । अहिले मण्डलीमा घरिलो संगति र अन्य विभिन्न सेवामा सहभागी हुने मुस्कानको ब्याचलर अध्ययन सकिएपछि गाउँमा गएर मण्डलीमा सेवा पु¥याउने योजना रहेको छ ।
नेपाल सरकारले दृष्टिविहिन भत्ता प्रति महिना दुई हजार १ सय २८ रुपैँया दिने गरेको मुस्कान बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘श्रीमान र श्रीमतीको गरी करिब ४ हजार जति मासिक भत्ता आउँछ । त्यसैले खान पु¥याउँछौँ । मास्क र कलम कपि बेचेर नानीलाई पढाउँदैछौँ ।’
दृष्टि गुमाएपनि दृष्टि नगुमाए जस्तैगरी मुस्कुराउनुहुन्छ मुस्कान । सबैसँग मिठो गरी बोल्नुहुन्छ । जीवनमा अभावका थुर्पो भएपनि नभए जस्तोगरी खुसी हुनुहुन्छ परमेश्वरलाई धन्यवाद दिनुहुन्छ । आफूले परमेश्वरमा विश्वास नगरेको भए अहिले यो अवस्थामा नहुने मुस्कान बि.क बताउनुहुन्छ ।