धरानमा धार्मिक तथा सामाजिक सद्भाव नविथोल्न शिक्षा मन्त्री राईको आह्वान

भदौ ७, सुनसरी ।।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले धरानमा सामाजिक सद्भाव खलबलिने प्रयासहरू भइरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । मन्त्री राईले बिहीबार धरानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव बिथोल्ने कार्यहरू सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले लोकतन्त्रमा अधिकार माग्ने र विरोध जनाउन पाउने अवस्था भएको तर अर्काको अधिकार हनन गर्न नहुने पनि धारणा व्यक्त गर्नुभयो ।
‘धरानमा सामाजिक सद्भाव खलबलिने किसिमको कामहरु हुन खोजिरहेको छ, त्यो चिजलाई हामी सबैले मिलेर निरुत्साहित गर्नुपर्छ,’ मन्त्री राईले भन्नुभयो, ‘हामी लोकतन्त्रमा छौं, अधिकार माग्न पाउने व्यवस्थामा छौं, विरोध जनाउन पाउने अवस्थामा छौं । तर अर्काको अधिकार हनन नहुने गरी, अर्कालाई पीडा वा क्षति नपुग्ने गरी ।’

्‘मेरो हार्दिक निवेदन छ, सबै पक्षका साथीहरुलाई धैर्य, संयम, सद्भाव, आपसी प्रेमलाई कहिल्यै पनि थिचोमिचो नपु¥याई, त्यसलाई कुल्चिएर अगाडि बढ्ने कोसिस नगरौँ,’ मन्त्री राईले भने, ‘चाहे हामी हिन्दु हौं, चाहे हामी मुसलमान हौं, चाहे हामी बौद्ध धर्मावलम्बी हौ, चाहे ख्रिष्टियन हौं। हामी त नेपाली नै हौं ।’

मन्त्री राईले धार्मिक सहिष्णुता, सांस्कृतिक समानता, आपसी सम्मान र सद्भावको अवस्थालाई खलबलाउन नदिन आह्वान गर्नुभयो ।

उनले भने, ‘हामी सबै मिलेर जानुपर्छ । मन्दिरसँगै मस्जिद, गुम्बासँगै गिर्जाघर मिलेर बस्न सक्ने वातावरण बनाउनु नै हाम्रो जित हुन्छ ।’ मन्त्री राईले को ठुलो, को सानो गर्न थालेमा घृष्णा जन्माउने र घृणाको आगोले सबैलाई जलाउने बताउनुभयो ।

‘प्रेम र सामाजिक सद्भावले समाजलाई उनौं, समाजलाई जोडौं, नतोडौं,’ उनले भने, ‘एक छिनको लागि आत्मतुष्टी, अहंतुष्टी होला तर त्यसको दीर्घकालीन असर के हुन्छ ? हाम्रो समाज कहाँ जान्छ ? गम्भीरतापूर्वक ख्याल गरेर सबैप्रति सम्मान गर्ने, सद्भाव राख्ने दृष्टिबाट अघि बढौँ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button