नाताबादले चर्चमा कस्तो असर गर्छ ?
- Shrawan Bomjan
१. अनुचित प्रतिस्पर्धाः नेपोटिज्मले असमान प्रतिस्पर्धा सिर्जना गर्दछ, किनकि पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूले नातावादको आडमा आफूभन्दा प्रतिभाशाली, अग्रज र योग्य व्यक्तिलाई पछाडि पार्छ । एक सच्चा अगुवाले नातावादलाई आश्रय दिँदैन तर प्रायः भ्रष्ट गतिविधि भएका ठाउँहरूमा भने नातावाद हाबी हुन्छ । असमान प्रतिस्पर्धाले परिवारका सदस्यहरूलाई मात्र प्रमुख पदहरूमा नियुक्ति गर्छ, जस्तैः पास्टर, एल्डर, कोषाध्यक्ष वा बोर्ड सदस्य इत्यादि ।
२. विविधताको अभावः नेपोटिज्मले चर्चहरूभित्र विविधताको कमीलाई निम्त्याउँछ, किनकि यसले विभिन्न पृष्ठभूमि वा नयाँ दृष्टिकोण भएका व्यक्तिहरूलाई निरुत्साहित गर्दछ र उनीहरूका निम्ति अवसरहरू सीमित हुन्छ । यसको मतलबः नातावादभित्रकाले नचाहेका जिम्मेवारीहरूमा मात्र अन्य मानिसहरूले अवसर पाउँछन् । विविधताको अभाव भएका चर्चहरूमा अगुवाहरूले अनुचित लाभहरू प्रदान गर्दै परिवारका सदस्यहरूलाई विशेष अधिकारहरू दिन्छन्, जस्तैः स्रोतहरूमा पहुँच, नेतृत्व र सेवकाइको भूमिकाका लागि अवसरहरू इत्यादि ।
३. हतोत्साहित र कम प्रेरणाः जब मानिसहरूले पारिवारिक
नातावादको आधारमा असक्षम मानिसहरूले अवसरहरू प्राप्त गरेको देख्छन्, यसले कडा परिश्रम गर्ने सक्षम मानिसहरूमा निराशा ल्याउन सक्छ । यसले समग्र सेवकाइको क्षेत्रमा असर पार्छ । अगुवाहरूले आर्थिक लाभहरू सुरक्षित गर्दै परिवारका सदस्यहरूलाई आर्थिक रूपमा सहयोग गर्न वा लाभ दिन चर्च कोष वा स्रोतहरू प्रयोग गर्दा, इमानदार र लामो समयदेखि सेवारत चर्च सदस्यहरूमा अन्तरद्वन्द्व उत्पन्न हुनसक्छ ।
नातावादले विशेष गरी रोजगारी वा विभिन्न अवसरहरूका मामिलामा आफ्ना नातेदारहरूलाई प्राथमिकता दिने व्यवहारलाई बुझाउँछ । यसले परिवारका सदस्यहरूलाई प्रायः तिनीहरूका योग्यता र सीपलाई विचार नगरी पद, पदोन्नति वा अन्य फाइदाहरू प्रधान गर्दछ। नातावादको अभ्यासमा, व्यक्तिगत सम्बन्ध र पारिवारिक सम्बन्धहरू प्राथमिकतामा पर्दछन् । यस्तो स्थानमा सक्षम र योग्य व्यक्तिहरूको कदर हुँदैन । नातावाद व्यवसाय, राजनीति, धर्म, संस्था वा विभिन्न सन्दर्भहरूमा जहाँ पनि हुनसक्छ । यसले निष्पक्षता, समानता र योग्यताका सिद्धान्तहरूलाई कमजोर बनाउँछ, किनकि यसले व्यक्तिहरूको क्षमता र योग्यतालाई बेवास्ता गर्दछ ।
समावेशी र जवाफदेहिताको संस्कृतिलाई बढावा दिएर नातावादलाई न्यूनीकरण गर्न सकिन्छ, जसले समतामूलक वातावरणको लागि अनुमति दिन्छ । तैपनि भ्रष्टहरूले नातावादको आराधना गरिरहेका छन् ।