नेपालमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ

असोज २१ (काठमाण्डौँ)
नेपाल र भारतको सिमा क्षेत्र रुबैडियामा बसेर नेपालमा धार्मिक सद्भाव बिथोल्ने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रबार एकजना, बिहीबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको छ ।
शुक्रबार सिराजुद्दीन पुत्र इकराम खाँलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जनाए । त्यस्तै इमरान पुत्र लम्बुनिवासी बाबाकुट्टी, राजा पुत्र सोनुनिवासी बाबाकुट्टी सुजौली, शहवान कुरैशी पुत्र जमील र रहीश कुरैशी पुत्र इकबाललाई पक्राउ गरिएको उनले जनाए ।
यी चारजनालाई बिहीबार पक्राउ गरिएको हो । बुधबार आशिक सिद्दीकी पुत्र मोहम्मद सोफियानलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी सेनाले जानकारी दिए ।
पक्राउ गरिएकाहरूलाई धार्मिक उन्माद फैलाउन आइटी गतिविधिसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
रूपैडिया र बाबागन्जमा सुरक्षा निकायको सामाजिक सञ्जालमाथि लगातार सतर्क दृष्टि रहेको र यदि कसैले धार्मिक सौहार्द वा शान्ति भंग गर्छ भने उसलाई पक्राउ गरी जेलमा राखिने भारतीय प्रहरीले प्रेस नोटमा समेत उल्लेख गरेको छ ।
भारतीय प्रहरीले सामाजिक सद्भाव भट्काउने क्रियाकलपा गर्नेलार्य पक्राउ गरेता पनि यता नेपालगन्जमा भएको धार्मिक सद्भाव बिथोल्ने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको विषयमा बाँकेका सुरक्षा अधिकारीले अनविज्ञता प्रकट गरेका छन् । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले यस विषयमा अनविज्ञता प्रकट गरे ।
‘यस विषयमा मलाई जानकारी छैन,’ उनले भने, ‘उनीहरूले पनि यस विषयमा जानकारी गराएका छैनन् ।’
भारतमा बसेर गतिविधि गरेकालाई उतैको प्रहरीले पक्राउ गर्ने र मुद्दा चलाउने भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले भने, ‘उनीहरूको प्रभाव यहाँ छैन । कति जना भारतमा पक्राउ परे त्यो मेरो जिम्मेवारी सम्मकालाई थाहा छैन।’
भारतीय प्रहरीले भने नेपालगन्जमा धार्मिक उन्माद फैलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
नेपालगन्जमा सिर्जित पछिल्लो अवस्थामा बाह्य व्यक्तिको संलग्नता भएको आशंका गरिएको छ । यही आशंकाबीच भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गर्नुमा केही अर्थ रहेको नागरिक समाजका अगुवाहरू बताउँछन् ।
तस्बिर सौजन्य ः भारतीय प्रहरी