नेपाली चर्च रोमानियाले मनायो तेस्रो वार्षिकोत्सव, विभिन्न देशबाट शुभकामना
हरि जिज्ञासु
भदौ ८ ।। रोजगारीको लागि नेपालबाट रोमानिया पुगेका नेपालीहरुले २०२० को सम्पटेम्बर २० मा सुरु गरेको नेपाली चर्च रोमानियाले तेस्रो वार्षिकोत्सव मनाएको छ ।
छुट्टीको समय मिलाएर हिजो २४ सेप्टेम्बर आइतबारका दिन नेपाली चर्च रोमानियाले तेस्रो वार्षिकोत्सव कार्यक्रम गरेको हो ।
वार्षिकोत्सव कार्यक्रममा बकरेस्ट नेपाली चर्च रोमनीयाका अगुवा जोन अमित, पास्टर दिपक श्रेष्ठले नेपाली चर्च रोमानियाले तेस्रो वर्ष पूरा गरेको उपलक्षमा शुभकामना तथा बधाई दिनुभएको छ ।
त्यसैगरी मण्डलीको वार्षिकोत्सव कार्यक्रममा भिडियो क्लिप मार्फत जि.एन.एस. एफ का अध्यक्ष पास्टर भद्र राई, युनाइटेड नेपाली ख्रीष्टियन चर्च प्रचुगलका पास्टर सुजन थापा मगर, न्यू एपोस्टोलिक चर्च डेनमार्कका पास्टर उत्तमप्रसाद उप्रेती, ग्रेस इन्टरनेशनल फेलोसिप चर्च अस्ट्रिलियाका पास्टर भाष्कर लामा, जीवित परमेश्वरको मण्डली स्पेनका पास्टर दिनेश राउत लगायतले शुभकामना पठाउनुभएको थियो ।
तेस्रो वार्षिकोत्सव कार्यक्रममा रोमानियाको ब्रासोभ,कन्सटान्चा, प्लोएस्ट, साइनाया र ट्रागोवेस्टर लगायतका सहरबाट नेपाली चर्च रोमानियाका सदस्यहरु सहभागी हुनुभएको थियो । करिब ९० जना भन्दा बढि सदस्यहरु सहभागी भएको वार्षिकोत्सव कार्यक्रममा केक काटिएको थियो भने, बिशेष गीत र विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो ।
सन् २०२० को सेप्टेम्बर २० मा पास्टर बोअज आले, उहाँको श्रीमती रुथ आले र दिपक श्रेष्ठ मिलेर रोमानियामा नेपाली भाषिहरुको बीच नेपाली संगति सुरु गर्नुभएको थियो । नेपाली भाषि चर्च स्थापना भएपछि रोमानियामा नेपालीहरुलाई नेपाली भाषि संगतिमा जान सहज भएको छ ।
हालसम्म नेपाली चर्च रोमानियामा नेपालको हिमाल, पहाड र तराईबाट रोजगारीको लागि रोमानिया पुगेका १२५ भन्दा बढी सदस्यहरु रहेको पास्टर बोअज आले जानकारी दिनुभयो । पास्टर आलेले भन्नुभयो, ‘पछिल्लो समयमा नेपालीहरुले रोजगारीको गन्तव्य देशका रुपमा युरोपका देशहरुलाई छनोट गर्दा, रोमनीया नेपालीहरुको रोजाईमा परेकोछ । नेपालीहरु रोजगारीलागि रोमानिया आउँदा नेपाली ख्रीष्टियनहरुले नेपाली संगति गर्ने मौका पाउनुभएको छ । हाम्रो मण्डलीको सदस्य संख्या पनि बढिरहेको छ ।’