नेपाली मण्डली इजरायलको साप्ताहिक सेवा अर्को सूचना नआएसम्म बन्द
असोज २३ (काठमाण्डौ)
इजरायलमा स्थापित संयुक्त नेपाली मण्डली इजरायलले एक सूचना जारि गर्दै इजरायलको बर्तमान अवस्थालाई ध्यान दिएर साप्ताहिक सेवा र भेला भएर हुने अन्य सेवाहरु अर्को सूचना नआएसम्म बन्द भएको जानकारी दिएको छ ।
अक्टोबर ७ बाट इजरायल र प्यालेस्टिन हमास समुह बीच द्वन्द सिर्जना भएपछि इजरायल सरकारको कानूनको पालना गर्दै संयुक्त नेपाली मण्डली इजरायलले साप्ताहिक सेवा बन्द रहेको जानकारी दिएको हो ।
संयुक्त नेपाली मण्डली इजयरायलकी पास्टर माया सुनुवारले प्रार्थना र विभिन्न माध्यमबाट आफ्नो अवस्था बारे चासो दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै आफूहरु हालसम्म सुरक्षित रहेको जानकारी दिनुभएको छ ।
प्यालेस्टिनी हमास समुहको आक्रमणमा परी दिवंगत भएका १० जना नेपाली विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संयुक्त नेपाली मण्डली इजरायलले सम्पर्कविहिन र घाइते रहनुभएका नेपालीहरुको लागि प्रार्थना सहित स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपाली मण्डली इजरायलले अशान्त बातावरणमा आफ्नो सुरक्षाको ध्यान दिदैँ इजरायल सुरक्षा निकायको निर्देशन पालन गर्नको लागि सूचनामा उल्लेख गरिएको छ । साथै कुनै पनि घटनालाई नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित र सशंकित बनाउको लागि पनि अनुरोध गरिएको छ ।