परमेश्वरको सेवाको लागि सबै थोक छोडेका लुल

कमल अधिकारी
रेमोन्ड लुल दार्शनिकसाथै लेखक थिए । तिनले २५० ओटाभन्दा बेसी कृति लेखेका छन् । माजोर्का राज्यको मालोर्का सहर (हाल पाल्मा) मा धनी परिवारमा जन्मेका तिनले प्रभु येशूको बारेमा शृङ्खलाबद्ध दर्शनहरू देखेपछि तिनी उहाँको अनुयायी भएका थिए । तिनले परेमश्‍वरको सेवा गर्न सबै थोक त्यागिदिए । अब तिनको उद्देश्य थियो ःमुसलमानहरूलाई प्रभुमा जित्नु, विदेशी भाषाहरू सिकाउने धार्मिक संस्था स्थापना भएको देख्नु र ख्रीष्टियान हुनको निम्ति कसैले अगि सारेका अवरोधहरूमाथि विजय हासिल गर्नेबारे पुस्तक लेख्नु ।

करिब ख्रिस्टाब्द १२३२ मा लुलको जन्म भएको थियो । एक रात तिनी आफ्नो खाटको छेउमा बसिरहेका थिए । आफूले प्रेम गरेकी केटीको लागि गीतको रचना गर्नै खोज्दा तिनले आफ्नो दाहिनेपट्टि हेरे र क्रुसमा टाँगिनुभएका हाम्रा प्रभु येशू ख्रीष्‍टलाई देखे । तिनले यो दर्शनलाई ६ पटक देखे । फलतः तिनले परमेश्‍वरको सेवाको लागि आफ्नो परिवार, पद र धन–सम्पत्तिहरू छाडिदिए ।
लुलले यसरी लेखेका छन्, “एक पटक म निकै धनी थिएँ । एक पटक मसित श्रीमती र छोराछोरीहरू थिए । एक पटक मैले यस जीवनका खुसीहरूलाई सित्तैँमा चाखेको थिएँ । तर मैले यी सबै कुरालाई त्यागिदिएँ ताकि मैले सत्यताको ज्ञानलाई जताततै फैलाउन सकूँ । मैले अरबी भाषा सिकेँ अनि धेरै पटक युरोपका मुसलमानहरूलाई सुसमाचार सुनाउन गएँ । म झ्यालखानामा परेको छु; मलाई कोर्रा लगाइएको छ । वर्षौंसम्म मुहम्मदका अनुयायीहरूलाई प्रभुमा जित्नको लागि मैले ख्रीष्‍टियान जगत्का राजकुमारहरूलाई मनाउने कोसिस गरेको छु । अहिले बुढो र गरिब भए तापनि म निराश छैनँ । यदि यो परमेश्‍वरको इच्छा हो भने म मृत्युको लागि तयार छु ।”

८२ वर्षको दीर्घायुमा तिनी पुनः उत्तर अफ्रिका गए जहाँ क्रुद्ध बनेको भिडले तिनीमाथि ढुङ्गा बर्सायो र पछिल्लो वर्ष आफ्नै घरमा तिनको निधन भएको थियो । परम्पराअनुसार २९ जुन १३१५ मा तिनको मृत्यु भयो । मालोर्कास्थित चर्च अफ सेन्ट फ्रान्सिसमा तिनको शवलाई दफन गरिएको थियो । तिनी सहिद भएर यस धरतीबाट बिदा भए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button