पश्चिम नेपालको रुबैडिहा नाकाबाट सुसमाचारको ढोका खोल्ने बर्णवास राई

पश्चिम नेपालको नेपालगञ्जसँग जोडिएको छ रुबैडिहा नाका । २००७ साल अगाडिदेखि नै पश्चिम नेपालका धेरै नेपालीहरु कामको खोजिमा भारत जाने गर्थे । सन् १८८६ देखि नै रुबैडीहामा ए.जी मिशनले अस्पताल समेत स्थापना गरेर सेवा दिइरहेको थियो ।


वर्णबास राईले त्यहि ए.जी मिशनमा रहेर नेपालीहरुलाई सुसमाचार सुनाउने काम गर्नुहुन्थ्यो । नेपालीहरु रोजगारीको खोजिमा भारत जानेक्रममा रुबैडिहामा अलमलिने गर्थे । त्यतिखेर उनीहरुलाई सल्लाह दिने र सुसमाचार सुनाउँने काम वर्णवास राईको थियो । रुबैडीहा नाकाबाट नेपालको लागि बन्द भएको सुसमाचारको ढोका खोल्नुको पछाडि बर्णवास राईको ठूलो योगदान छ ।


यसरी नेपालका मानिसहरुले परमेश्वरको सुसमाचार सुन्न सकिनु भनेर सिमानामा रहेर निरन्तर प्रार्थना गरिरहेका वर्णवाससँग पश्चिम नेपालको सल्यान जिल्लामा जन्मिएका जोन सिंहसंग भेट हुन्छ । जोन सिंहले परमेश्वरमा विश्वास गरेपछि स्व.पास्टर वर्णवास राईको सहयोगीको रुपमा काम गर्नुहुन्छ । जोन सिंहले वि.सं २००६ सालमा बप्तिसमा लिएको इतिहास छ ।


रुबैडिहा नाकामा नेपालमा सुसमाचारको ढोका खुलोस् भनेर प्रार्थना गर्ने र निरन्तर नेपाल र भारत आवतजावत गर्ने नेपालीहरुलाई सुसमाचार सुनाउने कार्य चलिरहेको थियो । कहिले काँहि सडकपेटीमा सुतिरहेका नेपालीहरुलाई लालटिन बालेर खोज्दै–खोज्दै परमेश्वरको बारेमा वर्णवास राईले सुनाउने गरेको इतिहास पनि छ ।


यसरी सुसमाचार सुनाएपछि वर्णवास राई र जोन सिंह नेपालगञ्जमा घरिलो संगतिको लागि सेवा दिन पुग्थे । त्यहि घरिलो संगतिबाट नेपालगञ्जको ज्योति निवास.ए.जि चर्च स्थापना भएको इतिहास छ । ज्योति निवास ए.जी चर्च पचासौँ वर्ष पुगेको उपलक्ष्यमा प्रकाशित स्मारिका अनुसार चर्च स्थापना वि.स २००९ सालमा भएको लेखियता पनि घरिलो संगतीलाई चर्च स्थापना मान्ने हो भने नेपालगञ्जको ज्योति ए.जी चर्च २००७ साल अगाडि नै स्थापना भएको मानिन्छ ।


सन् १८८६ रुबैडिहा नाकामा ए.जी मिशनको स्थापना भएको तथ्यलाई हेर्दा ज्योती निवास चर्च नेपालको पहिलो चर्च हुनुपर्ने नेपालगञ्ज ज्योति निवास चर्चका सदस्यहरुको भनाई छ । उहाँहरुको भनाई अनुसार रुबैडिहा नाका नेपालगञ्जबाट धेरै टाढा थिएन । घरिलो संगतिको लागि पनि नेपालगञ्ज आएर जान सकिन्थ्यो ।

जहानीय राणाशासनको अन्तपछि २००७ सालमा प्रजातन्त्र आयो । त्यसपछि वर्णवास राई र जोन सिंह नेपालगञ्जको ज्योति निवास ए.जी चर्चमा रहेर सेवकाई गरेको कुरा हामी प्रकाशित स्मारिकामा भेट्न सक्छौँ । यसरी पश्चिम नेपालमा सुसमाचार फैलिदै गएको छ । र चर्चहरु बृद्धि हुदै गएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button