प्रेम र क्षमाको सन्देश

ख्रीष्टियन विश्वास, जुन संसारकै सबैभन्दा धेरैले विश्वस गर्ने विश्वास हो । प्रेम, क्षमा र सेवा–यी आधारभूत मूल्यहरूमा केन्द्रित छ । आजको विश्व जहाँ घृणा, द्वेष र हिंसाका समाचारहरू सामान्य भइरहेका छन्, त्यहाँ ख्रीष्टियन विश्वासले दिने सन्देश अझ सान्दर्भिक र प्रेरणादायक देखिन्छ ।

ख्रीष्टियन विश्वासको केन्द्रमा येशू ख्रीष्ट हुनुहुन्छ, जसले मानवताको उद्धारका लागि आफ्नो जीवन बलिदान गर्नुभयो । उहाँको जीवन, शिक्षण र पुनरुत्थानले ख्रीष्टियन विश्वासलाई एउटा दार्शनिक, नैतिक र आध्यात्मिक दिशामा अघि बढाएको छ । “तपाईंले छिमेकीलाई आफैंजस्तै माया गर्नुपर्छ” भन्ने येशूको उपदेश मात्र धर्मको सन्देश नभई मानव समाजमा सहिष्णुता र सहअस्तित्वको आधार बन्न सक्ने शक्ति हो ।

ख्रीष्टियन विश्वासले व्यक्तिगत रूपान्तरण र सामाजिक उत्तरदायित्वलाई जोड दिन्छ । बाइबलमा उल्लेख गरिएझैं, “प्रत्येक मानिसको मूल्य परमेश्वरका आँखामा समान हुन्छ” भन्ने दृष्टिकोणले यस विश्वासलाई मानव अधिकार र सामाजिक न्यायको पक्षमा उभ्याएको छ । विश्वभर फैलिएको ख्रीष्टियन समुदायले शिक्षा, स्वास्थ्य र राहत कार्यहरूमा पु¥याएको योगदान उल्लेखनीय छ ।

तर, इतिहासका केही कालखण्डहरूमा ख्रीष्टियन धर्मका नाममा भएका विभेद, हिंसा र उपनिवेशवादी क्रियाकलापहरूलाई पनि अस्वीकार गर्न सकिन्न । आजको ख्रीष्टियन समाजले ती गल्तीहरूप्रति आत्मचिन्तन गर्दै अघि बढ्नुपर्ने जिम्मेवारी बोकेको छ । सहिष्णुता, अन्तरधार्मिक संवाद र सामाजिक समावेशिताको मार्गमार्फत मात्रै ख्रीष्टियन विश्वासले आफ्नो शुद्धतम रुप प्रकट गर्न सक्छ ।

नेपालजस्तो बहु–धार्मिक र बहु–सांस्कृतिक समाजमा ख्रीष्टियन विश्वासको स्थान दिनानुदिन विस्तार भइरहेको छ । यसले धार्मिक स्वतन्त्रताको अभ्यासका साथै समाजसेवामूलक कार्यहरूमार्फत सकारात्मक प्रभाव पारिरहेको देखिन्छ । तथापि, धर्म परिवर्तनका मुद्दाहरूले कहिलेकाहीँ विवाद पनि निम्त्याउने गरेका छन् । यस्ता संवेदनशील विषयमा पारदर्शिता, संवेदनशीलता र सहमतिको भावना आवश्यक छ ।

अन्त्यमा, ख्रीष्टियन विश्वास केवल एक धार्मिक अभ्यास मात्र होइन, यो प्रेम, क्षमा र सेवा जस्ता मानवीय मूल्यहरूको अभ्यास हो । जबसम्म यी मूल्यहरू व्यवहारमा उतारिन्छन्, तबसम्म ख्रीष्टियन विश्वासले मानव समाजलाई शान्ति, न्याय र सहअस्तित्वको बाटोमा अगाडि बढाउने शक्ति राख्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button