बनेपामा हरेक वर्ष फरक सैलीमा ख्रीष्टमस शुभकामना कार्यक्रम
बनेपा, १२ पुस ।। यस बर्षको ख्रीष्टमस महोत्सव बनेपा नगर ख्रीष्टियान समुदायले हरेक बर्ष झैँ फरक किसिमले सम्पन्न गरेको छ । ख्रीष्ट जन्मोत्सव अवसरमा यसको मुख्य सन्देशलाई जतिसक्दो मण्डलीभन्दा बाहिरका मानिसहरूमाझ पुर्याउने लक्ष्यअनुरुप हरेक बर्ष फरक सैलीमा ख्रीष्टमस कार्यक्रमको आयोजना गर्दै आएको छ ।
बनेपा नगर ख्रीष्टियन समाजले कहिले जिल्लाब्यापी त कहिले नगरब्यापी संयुक्त ख्रीष्ट जन्मोत्सव आयोजना गर्ने गरेकोमा यस पटक ख्रीष्टमस म्युजिकल कन्र्सटको आयोजना गरिएको समुदायका अध्यक्ष तथा कार्यक्रम संयोजक पास्टर राम चन्द्र बिशुन्केले बताउनुभयो ।
काभ्रे ख्रीष्टियान समुदायका अध्यक्ष पा. रुबेन रानामगरज्युले प्रार्थना गरेर शुरु भएको कार्यक्रम संयोजक पास्टर राम चन्द्र बिशुन्केले सभापतित्व ग्रहण गरी सबैलाई स्वागत मन्तव्य राख्नुभएपछि विगत २५ बर्ष अघि शुरु भएको ख्रीष्टियान हेप्जिबा ब्याण्डको आराधनाद्वारा कन्सर्ट सशक्त भएको थियो ।
कन्सर्टमा हेप्जिबा ब्याण्डको साङ्गितिक सङ्गालो लगायत, ख्रीष्टियान सुप्रसिद्ध गायक राजेश राई, नेपाल आईडल सिजन ५ का स्टार करण परियार, स्थानीय द पावर अफ सियोन ब्याण्डसहित बनेपा र धुलिखेलका स्थानीय मण्डलीका गीत,नृत्य, क्रोरियोग्राफीहरू प्रस्तुत गरिएका थिए ।
सो कन्सर्ट बनेपा नगर ख्रीष्टियान समुदायका उपाध्यक्ष तथा कन्सर्टका ब्यवस्थापक पास्टर राजन परियारज्युले सन्चालन गर्नुभएको थियो भने सह–सन्चालनमा सुश्री आयुषा तामाङ्ग र युवा सन्जाल अध्यक्ष श्री दिपक रम्तेल हुनुहुन्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथी तथा मुख्य वक्ता नेपाल ख्रीष्टियान समाजका सह–अध्यक्ष पास्टर डिल्लीराम पौडेल, विशिष्ट अतिथी बनेपा नगरका उप प्रमुख श्री बिमला सापकोटा दाहाल, विशेष अतिथी बनेपा नगरपालिकाका प्रशासकीय अधिकृत श्री पोषण लामिछाने, बिशेष अतिथी काभ्रे ख्रीष्टियान समुदायका अध्यक्ष पास्टर रुबेन राना लगायत अन्य अतिथीहरूमा बनेपा नगरपालिकाका वडाध्यक्षहरू, बनेपा नगर कार्यपालिका सदस्य श्री ज्योती बोगटी र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
प्रमुख वक्ता पास्टर डिल्लीराम पौडेलले धर्मशास्त्रबाट ख्रीष्टमस पापी मानिसहरूको पाप मोचनका लागि परमेश्वरले आफ्ना पुत्र प्रभु येशूलाई मानिसका रुपमा पठाउनुभएको बिषयमा हो, र यो ख्रीष्टमस केवल ख्रीष्टियानहरूका निम्ति मात्र नभैई सारा मानिसहरूका लागि भएको सन्देश बाँड्नुभएको थियो ।
कन्सर्ट ख्रीष्टमसको २ दिन अघि पुस ८ गते सोमबार तदनुसार डिसेम्बर २३ तारिखका दिन बनेपाको लायकू राज मन्च प्राङ्गणमा दिउँसो २ बजे शुरु भई राती ८ बजे सम्पन्न भएको थियो । कार्यक्रम युवा केन्द्रित भएतापनि सबे उमेर समुहका दुई हजार पाँच सयभन्दा बढी दर्शकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
ऐतिहासिक रुपमा अयोजित यो कन्सर्टलाई उत्कृष्ट रुपमा ब्यवस्थापन गर्न सफल तुल्याउन बनेपा नगर ख्रीष्टियान युवा सन्जाल समिती, बनेपा नगर ख्रीष्टियान दिदी बहिनी सङ्गती समिति, बनेपा नगर ख्रीष्टियान व्यवसायी सङ्गति समितिहरूले सहायता गर्नुभएको थियो । साथै, आर्थिक रुपमा मण्डलीबाटको स्वैच्छिक भेटी, कन्सर्ट प्रवेश टिकट, ब्यक्तिगत अनुदान तथा सहयोग र बनेपा नगरपालिकाले प्रदान गरेको सहायताले ब्यवस्थापन गरिएको समितिका कोषाध्यक्ष पास्टर पन्च प्रजापतिले जानकारी दिनुभयो ।