बल्खुमा बागमती किनारको सुकुम्बासी बस्ती बाढीको जोखिममा
ललितपुर, ५
काठमाण्डौँ महानगरपालिका १४ मा रहेको सुकुम्वासी वस्ती जागरण टोलको नामले चिनिन्छ । बल्खु स्थित यो जागरण टोलमा गत वर्ष साउन महिनामा बागमती नदीमा आएको बाढीको कारण मानवीय क्षेति नभएपनि भौतिक क्षेती भने धेरै भयो ।
टेकु दोभानदेखि बल्खु पुलको आसपासका बासिन्दाहरु बाढीको जोखिममा छन् । गत वर्षदेखि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी छेउमा पार्क निमार्ण गर्नेक्रममा नदीमा माटो थुपारेको कारण बाढी बस्तीमा पसेको गुनासो छ ।
जागरण टोलको नामले चिनिने सुकुम्वासी बस्तीमा हाल ४१७ घर धुरी रहेको टोल सुधार समितिका अध्यक्ष प्रज्वल लिम्बूको भनाई छ । थापाथलीको सुकुम्बासी बस्ती बाढीको जोखिममा भए पनि टेकु दोभानबाट बिष्णुमती नदी मिसिएर बग्ने भएको कारण बल्खुको जागरण टोल थप जोखिममा रहेको छ ।
सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न नसकेको कारण बास्तविक सुकुम्बासीहरु समस्यामा रहेको जागरण टोल सुधार समितिका अध्यक्ष प्रज्वल लिम्बू बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नगरप्रमुख बालेन्द्र शाहले बेलाबेलामा सुकुम्बासीहरु होइनन् हुकुमबासीहरु हुन् भनेर अभिव्यक्ति दिनुहुन्छ । अहिलेसम्म हाम्रो वस्तीमा वास्तविक सुकुम्बासीको पहिचा गर्न कोहि पनि आएको छैन । जुनसुकै जिम्मेवारी निकायले बस्तीमा आएर सुकुम्वासी बस्तीको वास्तविक पहिचान गर्ने कार्य गर्छ भने हामी साथ दिन्छौँ ।’
गत वर्षको साउन महिनामा बाढी बस्तीमा पसेपछि २८ लाख बराबरको भौतिक क्षेति भएको जागरण टोल सुधार समितका उपाध्यक्ष मान बहादुर मगर बताउनुहुन्छ । उहाँको अनुसार ललितपुरको सोनपामा रहेको केहि वस्ती, फलफूल बजार, बल्खु तरकारी बजार, कुलेश्वर माध्यामिक विद्यालय र जागरण टोलमा यो वर्ष पनि ठूलो क्षेति हुन सक्ने सम्भावना रहेको छ ।
बस्ती बागमती नदीसँग जोडिएकोले निरन्तर पानी परिरह्यो भने नदीले बस्ति नै बगाउँछ कि भन्ने त्रास रहेको स्थानीय रामनारायण धामी बताउछन् । उनले गत वर्ष बस्तीमा बाढी पसेको सम्झना यसरी गर्छन् ‘राती सुतेका थियौँ नदीको बाहाव विस्तारै बढ्दै गएपछि नदी बस्ती भित्र पस्यो । त्यतिखेर बत्ति पनि थिएन । लत्ताकपडा, चामाल, भाँडाहरुमा धेरै क्षेति भयो । बुढापाका र शारिरिक रुपमा अशक्तहरुलाई उद्धार गर्न निकै गाह्रो भयो ।’
अहिले पनि निरन्तर पानी परिह्यो भने बल्खुस्थित जागरण टोलका स्थानीयहरु बस्तीमा बाढी पस्छ कि भन्ने त्रासमा छन् । सरकारले सुकुम्वासीहरुको पहिचान गर्न नसकेको कारण वास्तविक सुकुम्वासीहरु साँच्चिकै जोखिम अवस्थामा रहेको स्थानीयको गुनासो छ ।
गत वर्ष अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संरचना निमार्ण गर्नेक्रममा नदीमा माटो थुपारेको कारण बाढि बस्तीमा पसेको भनाई छ । यो वर्ष बाढि बस्तीमा नपसोस् भनेर नदीको माटो हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समतिलाई पत्रचार गरेको तर माटो अझै नहटाएको स्थानीयको भनाई छ ।,–––