बाइबलको प्रकाशमा भारत र पाकिस्तान– शान्तिको मार्गमा

दशकौं देखि भारत र पाकिस्तानबीचको सम्बन्ध एउटा असहज ऐतिहासिक वास्तविकता बनेको छ । सीमामा बारम्बार सशस्त्र झडप, राजनीतिक तनाव, र शंकाको बादलले यी दुई छिमेकी देशहरूलाई स्थायी शान्तिको बाटोमा अघि बढ्न अवरुद्ध पारेका छन् ।
तर आजको विश्व परिप्रेक्ष्यमा,जब नागरिकले विकास, शिक्षा, र स्वास्थ्यजस्ता आधारभूत अधिकारका लागि स्वर उठाइरहेको अवस्था छ । युद्ध वा द्वन्द्व कुनै पनि राष्ट्रको हितमा छैन । यही सन्दर्भमा, बाइबलको शिक्षाले हामीलाई अमूल्य मार्गदर्शन दिन सक्छ । शान्ति, क्षमा, र प्रेमको बाटोमा हिड्न पवित्र धर्मशास्त्र बाइबलले बाटो खुल्ला गर्दछ ।
बाइबलमा मत्ती ५ः९ मा येशू ख्रीष्टले भन्नुहुन्छः “शान्ति स्थापना गर्नेहरू धन्य छन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाउनेछन् ।” शान्ति र प्रेमले जित्नु केवल कुनै राष्ट्रको आन्तरिक नीति होइन, यो एक नैतिक, आध्यात्मिक, र मानवीय जिम्मेवारी हो । भारत र पाकिस्तानका नेताहरू नागरिकको भविश्यलाई हेरेर निर्णय गर्नु आवश्यक हुन्छ । द्धन्धले बरु भत्काउँछ र निर्माण गर्दैन भन्ने हेक्का हुनुपर्छ ।
साथै, रोमी १२ः१८ मा प्रेरित पावल लेख्छन् “जससम्म तिमीहरूबाट सम्भव छ, सबै मानिससँग मेलमिलाप गरेर बस ।” यो सन्देश स्पष्ट छ—सम्भावनाको सीमा भित्र शान्तिको प्रयास गर । युद्धविराम केवल अस्थायी समाधान होइन, यो स्थायी मित्रताको ढोका खोल्ने पहिलो पाइला हुन सक्छ । त्यसकारण दुवै देशले यसलाई ध्यान दिनुपर्छ ।
हामी बुझ्नुपर्छ कि युद्धले कहिल्यै पनि पूर्ण विजय दिंदैन; यसले केवल घाउहरू, टुटेका सपना र पिँढी–पिँढीमा फैलिएको पीडा बाँकी राख्दछ । शान्ति, अर्कोतर्फ, नयाँ सम्भावनाहरू ल्याउँछ—सांस्कृतिक आदान–प्रदान, आर्थिक सहकार्य, र मानिस–मानिसबीचको आत्मीयता बढाउँछ । यस्तै सम्बन्धले मात्र दुवै देशका युवाहरूलाई उज्यालो भविष्य दिनेछ ।
पाकिस्तान र भारत—दुवै देश धार्मिक विविधतामा समृद्ध छन् । बाइबलको सन्देश केवल ख्रिस्टियनहरूका लागि होइन, यो विश्वव्यापी मूल्यको प्रतिनिधि हो । क्षमा, सहनशीलता, र दया यस्ता मूल्यहरू हुन् जसले हरेक धर्म, संस्कृति र देशलाई जोड्न सक्छ ।