ख्रीष्टियन भएकोमा डलरको आरोप लगाउँछन्, परिवारको खर्च कसरी धान्ने चिन्ता छ

भदौ २८।। हरि जिज्ञासु
भदौ २३ गते रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिकाको आमा गाउँमा शनिबार संगति दिन गएका शुद्धोधन गाउपालिकाका पास्टर ओमकार लोनीया स्थानीयवाट कुटिनुभयो ।


ओमकार लोनिया गत शनिबार बिहान ११ बजे संगतिको लागि आमा गाउमा पुग्नुभएको थियो । संगति सकिएपछि बाहिर निस्कनेक्रममा योजनावद्धरुपमा केही व्यक्तिहरुले डलरको आरोप लगाउँदै पास्टर लोनियालाई लछारपछार तथा हातपात गरे ।


ओमकार लोनिया भन्नुहुन्छ, ‘संगति सकिएपछि बाहिर आउँदा मलाई डलर कहाँबाट आउँछ ?, धर्म परिवर्तन किन गराएको लगायत अन्य धेरै प्रश्न सोधे । अन्यतमा भीड बढ्दै गयो र मलाई हातपात समेत गरे । इलका प्रहरी नजिकै भएकोले मलाई प्रहरीले बचाउनुभयो । यदि प्रहरी नभएको भए मेरो ज्यान पनि जान सक्थ्यो ।’


आमा गाउँमा करिब ४० जना जतिले ख्रीष्टियन आस्थामा विश्वास गरेका छन् । त्यहाँ हाल चर्च भवन छैन । ४० सदस्य मध्येमा एक परिवारले चर्च भवनको लागि जग्गा दान गर्न तयार रहेको ओमकार लोनिया सुनाउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘चर्चको लागि जग्गा दान गर्ने व्यक्ति भएपनि अहिले तत्काल चर्च भवन बनाउने अवस्थामा छैनौँ । भवन बनाउनको लागि आर्थिक अभाव छ । मान्छेहरुले डलरको आरोप लगाएर कुटपिट गर्छन् तर वास्तविक समस्या त हामीलाई थाह छ । तर समस्या भन्दा ठूलो हाम्रो विश्वास हो ।’

पास्टर ओमकार लोनियाको शुद्धोधन गाउँपालिकामा एकतले सानो घर छ । एकतले घरको छेउमा एकदुई वटा गाई पाल्नुभएको छ । खेतिकिसान गरेर परिवारको खर्च धान्नुहुन्छ । हाल पास्टर ओमकार लोनियाको साथमा आमा, बुवा र श्रीमती सहित एउटा सानो छोरी छिन् । ओमकार लोनियाले परिवारको खर्च धान्नको लागि खेतिकिसानमा संघर्ष समयलाई सेवकाईमा लगानी गर्नुभएको छ ।


पास्टर ओमकार लोनिया भन्नुहुन्छ, ‘परिवारको खर्च धान्न गाह्रो छ । मान्छेहरुले मलाई डलरको आरोप लगाएर कुटपिट गर्छन् । यदि मैले साँच्चिकै गल्ती गरेको रहेछु भने कानून छ कानूनी रुपमा कार्बाही गरे हुने । तर मलाई भीड नै मिलेर हातपात गर्नुपर्ने जरुरी नै थिएन ।’


हाल लुम्बिनी संस्कृति नगरपालिका आमा गाउँमा रहेका ४० जना ख्रीष्टियन विश्वासमा आस्था राख्नेहरु पनि त्रासमा दिन कटाउनुभएको छ । पास्टर ओमकार लोनियाको बृद्ध आमा बुवा पनि छोरालाई कसैले फेरि पनि कुटपिट गर्दिन्छन् कि भन्न चिन्तामा हुनुहुन्छ ।


यदि सरकारले सबै धार्मिक समुदायलाई समान रुपमा अधिकार दिलाउन अग्रसर हुने हो भने मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को धारा १५५ मा कुनै पनि धार्मिक समुदायको आस्थामाथि खलल पुर्याउने गतिविधि गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैँया जरिवानको व्यवस्था छ । तर प्रशासनले ओमकार लोनियालाई सुरक्षा त दियो दोषीलाई कार्बाही गरेन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button