भित्रि मधेशको सिमाक्षेत्रमा ख्रीष्टियनहरुलाई सतावट किन हुन्छ ?
हरि जिज्ञासु
भदौ २८ ।। नेपालको नवलपरासी, चितवन र दाङ लगायत ७ वटा जिल्लाहरु भित्रि मधेशको रुपमा चिनिन्छन् । पूर्वी नवलपरासीमा त्रिवेणी नाका छ भने पश्चिम नवलपरासीमा महेशपुर नाका छ । भित्रि मधेशमा पर्ने नवलपरासी जिल्लाका सुस्ता र महेशपुर क्षेत्रमा धेरै खुल्ला सिमाना छन् ।
भारत र नेपालको खुल्ला सिमा भएको कारण नेपाली र भारतीय नागरिकहरुको र छोरी चेली विवाहको लागि लेनदेन समेत चल्ने गर्छ । सिमावारी र सिमापारीको सम्बन्ध राम्रै देखिएपनि नेपालीहरुलाई सिमा बचाउनको लागि संघर्ष गरिरहनु परेको छ । सिमा क्षेत्रका कतिपय बृद्धहरुलाई नेपाली बोल्न राम्रोसँग आउँदैन । हिन्दी भाषा उहाँहरुले सजिलै बुज्नुहुन्छ । धार्मिक रुपमा हिन्दुको बाहुल्यता भएपनि मुस्लिम समुदायको पनि बाक्लो बसोबास छ ।
केहि दिन अघि नवलपरासीमा तीनवटा चर्च तोडफोड गर्नेक्रममा पनि नेपालीहरु मात्र नभएर भारतीयहरु पनि सामेल भएको हुनसक्ने अनुमान छ । सीमाक्षेत्रमा नेपाली नम्बर प्लेटका गाडि भन्दा बढि भारतीय नम्वर प्लेटका सवारीसाधन देखिन्छन् । भारतले नै हिन्दु र ख्रीष्टियनलाई जुधाउने चलखेल गरेको हुन सक्ने सीमा क्षेत्रका स्थानीयको भनाई छ ।
भारतबाट नेपाल छिरेर विभिन्न अपराधिक कृयाकलाप गरेर भारत छिर्नको लागि भारतीयहरुलाई खासै गाह्रो छैन । तारबार बिनाका खुल्ला सिमाना जतिकति छन् । नेपालको सिमा मिचिने खतरा पनि त्यतिखै छ । अपराधिक घटना घटेको पत्तो हुँदैन । सिमा क्षेत्रमा नेपालको प्रशासन कम्जोर अवस्थामा छ ।
नेपालमा जातिय र धार्मिक द्धन्द सृजना गरेर सिमा मिच्ने भारतको रणनीति पनि हुन सक्ने कतिपय स्थानीयको भनाई छ । हिन्दु, मुस्लिम र ख्रीष्टियन बीचमा द्धन्द सृजना गर्ने कार्य भारतको गर्ने गरेको आशंका गर्न सकिन्छ । सिमाक्षेमा ख्रीष्टियनहरु थोरै छन् तर पनि उनीहरु डरत्रासमा संगति गरिरहेका छन् । गतसाता चर्च तोडफोड भएपछि त झन् सिमा क्षेत्रका मण्डलीलाई त्रास छाएको छ ।
एकजना पास्टरले सतावट हुनुको एउटा कारण यसरी व्यक्त गर्नुहुन्छ, ‘ख्रीष्टियन समुदाय भनेको सहयोगी समुदाय हो । कहिलेकाँहि ख्रीष्टियन समुदायका व्यक्तिहरुले डुबान र बाढि आएको समयमा राहात वितरण गर्दा समान रुपमा वितरण गर्न नसक्नुले पनि ख्रीष्टियन समुदायमा प्रति स्थानीय आक्रोसित भएको हुनसक्छ । हामीले सबै समुदायलाई समान रुपमा वितरण गर्ने बानी बसाल्नुपर्छ ।’
सन् २०२४ मा भारतमा लोकसभाको निवार्चन हुँदैछ त्यस चुनावलाई सफल पार्नको लागि भारतका केहि राजनीतिक दलहरुले नेपालमा अराजकता निम्ताएको हुनसक्ने पनि कतिपयको भनाई छ ।