भेटीदंशंसा बाट निर्माण गरिएका चर्च भवन महँगो भाडामा

काठमाडौं, १५ जेठ ः नेपालमा पछिल्ला केही वर्षयता चर्च भवनहरू भाडामा दिने प्रवृत्ति तीव्र रूपमा बढ्दो छ । विशेष गरी काठमाडौं र अन्य प्रमुख सहरहरूमा रहेका चर्चहरूले विभिन्न ख्रीष्टियन कार्यक्रम, सेमिनार, विवाह समारोह, र सभा–सभाहरूको लागि आफ्ना भवनहरू निश्चित शूल्कमा भाडामा दिन थालेका छन् ।
सामान्यतया यी भवनहरू विश्वासीलगायत सेवकहरूले भेटी, दंशंसा तथा सहयोग मार्फत निर्माण गरेका हुन्, जसको मूल उद्देश्य परमेश्वरको सेवकाई, प्रार्थना सभा र आत्मिक अभिवृद्धिको केन्द्रका रूपमा उपयोग गर्नु हो । तर पछिल्लो समय केही चर्चहरूले भवन भाडा लिने मात्र होइन, साउण्ड सिस्टम, प्रोजेक्टर, कुर्सी, र अन्य सामाग्रीका लागि समेत अतिरिक्त शुल्क लिँदै आएका छन् । कतिपय अवस्थामा यी शुल्क सामान्य भाडाभन्दा समेत महँगो देखिएको छ ।
विश्वासीहरूबीच यस प्रवृत्तिको चर्को आलोचना सुरु भएको छ । ललितपुर निवासी एक सेवकले नाम नखुलाउने सर्तमा बताउनुभयो, “ आत्मिक सेवकाईको निम्ति बनाएको चर्च भवन, अब व्यवसायिक हल जस्तै महसुस हुन थालेका । सेवा गर्नैको लागि महंगो शुल्क तिर्नुपर्ने अवस्था दुःखद छ ।”
तर केही पास्टर तथा व्यवस्थापन समितिहरूले भने यो शुल्क आवश्यक भएको बताउँछन् । उहाँहरु भन्नुहुन्छ – “चर्च सञ्चालन, मर्मत, सरसफाइ, बिजुली र अन्य खर्चहरू धान्न यी शुल्क अपरिहार्य छन् । हामी नाफा कमाउने उद्देश्यले होइन, संचालन खर्चको लागि मात्रै लिन्छौं ।”
एक पास्टर ज्यू भन्नुहुन्छ, “चर्च भनेको समुदायको आत्मिक केन्द्र हो, न कि व्यवसायिक स्थल । शुल्क आवश्यक भए पनि पारदर्शिता, विवेक र सेवकाईको भावना सहित सन्तुलित शूल्क हुनुपर्छ ।
सेवकाईलाई निरन्तरता दिन चर्चले केही शुल्क लिइहाल्न सक्छ, तर यसले व्यवसायिक स्वरूप लिँदा चर्च भित्रको आत्मिकता हराउने खतरा उत्तिकै रहन्छ ।