मसिनेले रंगिन कागजमा भेटाएको येशू

-तरुण राई
ए भामारा, तेरो आउने समय यही हो ? आकाशको घामलाई हेर त कहाँ पुगीसक्यो ? मैले तँलाई हिजो नै भनेको होइन ? भोली बिहानै आइजा भनेर, तँलाई थाहा भाकै हो आज रोपाँई छ, कति धेरै काम हुन्छ भनेर आधा काम गरिसक्यो …… । मसिने ठुलो काजीको घरको गेटबाट आँगनमा पाइला मात्र के टेकेको थियो, मसिनेलाई देख्नसाथ ठूलो काजी रिसले रातो पिरो भएर गाली गर्न थाल्यो, हुन त यस्ता गाली मसिनेको लागि कुनै नयाँ कुरा थिएन र नभएर नै होला उसले यसलाई समान्य प्रकारले लिँदै त्यसको बेवास्ता गर्दै अलिक अदार तथा डरको भान देखाउँदै आफ्नो शिरमा भएको फाटेको पुरानो ढाकाटोपी शिरबाट निकालेर आफ्नो टाउकोमा भएको कपाललाई सुम्सुम्याउँदै ठूलो काजीको घरको आँगनमा टुक्रुक्क बस्यो । ठूलो काजीको मसिने प्रतिको कड्काई तब मात्र शान्त भयो जब काजीनी अर्थात ठूलो काजीको स्वास्नीले मसिनेलाई जा,जा, छिटो गएर रोपाईँमा मद्धत गर, ठुलो काजीको कुरामा ध्यान न दे, धेरै काम बाँकी छ । यो सुनेर मसिने त्यहाँबाट खुरुक्क गइहाले ।
मसिनेको परिचय दिने हो भने उनी यसै गाउँका काजी अर्थात ठूलो काजीको एक हलिया थियो । कहिले देखि थाहा थिएन , मसिनेको आफ्नो भन्ने यस गाउँमा मात्र नभएर यस संसारमा कोही थिएन । आमा–बुवाको हुन् ? कस्ता हुन्छ ? कहाँ छन् ? केही थाहा थिएन, आमाको स्नेह, बुवाको प्रेम उसले कहिले अनुभव गर्न सकेन । मसिने गर्भ टुहुरो थियो । उ गर्भमा हुदाँ उसको बुवाको मृत्यु भएको थियो र पछि आमाले पनि उसलाई यस्तै ५ वर्षको हुदाँ छाडेर अर्कैसँग गएकी थिई । अहिलेको दिनसम्म पनि आमाको कुनै अत्तोपत्तो छैन । उसको कुनै आमातर्फ न कुनै बुवा तर्फ आफ्नो भने उसलाई आजसम्म थाहा थिएन भनिन्छ ठूलो काजीको बुवा अर्थात काजीसाबले सानो छँदा मसिनेलाई बाटोमा भेटाएर आफ्नो घरमा ल्याई पालेका थिए रे र पछि यसैघरमा हलियाको रुपमा रहि आएका थिए ।


मसिनेलाई आज अरु दिन सरह रोपाईँ, गाई–गोरु,गाँस–दाउरा जस्ता उसको नियमित दैनिकी क्रियाकलाप भन्दा अरु कुरामा बढ्दा ध्यान तथा सोचमा छ, उनी अरु दिनमा भने केवल आफ्नो दिनचर्या जस्तै खेती–पाती, गाई–गोरु,गाँस–दाउरामा आदि आदि कुरामा व्यस्त भएर दिन बित्ने गर्दथ्यो र यि कुरा बाहेक अरु विषयमा ध्यान जाँदैन थियो तर आज उसको ध्यान तथा सोचाई अन्तै मोडिएको छ । सायद हिजो राती उसले बाटोमा फलिएका आवस्था भेटिएको थियो जुन जुनेली रात भएकाले राती बाटोमा हिँड्दा जुनको प्रकाशले टल्केको देखेर के रहेछ भनि उसले टिपेको थियो, टिपेपछि हेर्दा अनौठो लाग्यो, उक्त “रंगीन कागज” धेरै शब्दहरु कोरिएको थियो तर के लेखेको हो, केही थाहा भएन,उसको लागि कालो अक्षर भैँसी बराबर भने जस्तै थियो । मसिने कहिले विद्यालय पढ्नलाई गएको थिएन, किताब पनि मुस्किलले देख्न पाउने गर्दथ्यो । हिजो राती, रात धेरै भएता पनि उसलाई पटक्कै निन्द्रा लागेन तर केवल उक्त “रंगीन कागज”मा मात्र सोच तथा ध्यान केन्द्रित थियो । के लेखेको यस “रंगीन कागज”रंगीन कागजमा ? को होला रंगीन कागजमा भएको व्यक्ति ? दयापुर्ण चित्र कसको हो ? लामोलामो कपाल भएको लगभग पुर्णरुपले नाङ्गगिएको शरीरको अवस्था छ, हात र पाउमा काँटी ठोकेर झुण्डाएको छ । शरीरमा कोर्राको डामैडाम देखिन्छ । जिउ भरी चोटैचोट पुर्ण छ । शरीर पुर्ण रगताम्य भएर राजाले लगाउने मुकुट जस्तै काँडाको मुकुट शिरमा छ र त्यहाँबाट रतगको खोला बगीरहेको छ । यतै दृश्य जुन उक्त “रंगीन कागज” उसको आँखाबाट लाखौँ प्रयास गरे पनि हटाउन सकेन झन् लगातार रुपले आँखा अगाडी आईरह्यो । अन्तत मिर्मिरे बिहान हुदाँ निदाउन पुगे, पत्तो भएन र बिहान रोपाइमा ढिलो हुन गएको थियो, तर ठूलो काजीले भने जस्तै होइन ।


मसिनेको ध्यान आज दिनभर केवल उक्त “रंगीन कागज”मा भएको छ । रोपाईँमा पनि टोलाई रहेको देखियो । रोपाई कहिले सिद्धाएर ठूलो काजीको छोरालाई त्यो “रंगीन कागज” पढ्न लगाउने सोचमा छ किन भने ठूलो काजीको छोरालाई विद्यालयसम्म पु¥याउने प्राय गर्ने गर्दथ्यो । र यसरी यी दुई बीच निकै घुलमिल थियो तथा सम्बन्धमा अरुसँगभन्दा आत्मिय थियो । ठूलो काजीको छोरा मसिने भन्दा उमेर धेरै कान्छो हो, त्यस्तै १४, १५ को भएता पनि हजुर र तपाईबहेक अरु सामान्य शब्दले सम्बन्धित गरेको छैन । ठुलो काजीको सम्बन्धले गर्दा होला उनको छोरालाई पनि मसिनेले निकै इज्जत तथा सम्मान गर्ने गर्दछ । यसैले होला मसिनेले उक्त रंगीन कागज देखाउने आँट आएको थिएन तर पनि उसले उक्त रंगीन कागज लाई देखाई छाडिन् र पढ्न लगाउने मन मनै धेरै साहससित अठोट गरिसकेको छ ।


मसिने बिहानै उठेर ठूलो काजीको घरतर्फ हिँडे, हिजो दिनभरीको थकाई थियो तर बिहानै सबेरै ठूलो काजीको घरमा गएर ठूलोकाजीको छोरालाई उक्त “रंगीन कागज” देखाउने हतार छ । “साने काजी हजुरलाई एउटा कुरा देखाउ भनेको, कृपया पढिदिनु सक्नुहुन्छ ?” मसिनेले अलिग लाज र सहसको मिक्षित भव निकालेर आफ्नो च्याति सकेको पुरानो ढाका टोपी निकाली शिरमा भएको कपाललाई सुम्सुम्याउँदै भने । “के रहेछ, खै यता ल्याउ त हेर्छु” मात्र के भनेको थियो मसिनेले हतपत आफ्नो पुरानो टाले परेको इस्कोट को भित्री गोजीबाट रंगीन कागज दिइहाले, “हरे यो त लामो रहेछ, सबै पढ्न सक्दिन, केही पढिदिन्छु ल ? हुन्छ” ? मसिने केही नबोली मौन स्वीकृति दिँदै मुण्टो हल्लाए । सानोकाजीले पढ्न सुर ग¥यो । “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो कि उहाँले एकमात्र पुत्र दिनुभयो । ताकि उहाँमाथि यी विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जिवन पाओस” । “हे सबै थाकेका र बोझले दबिएका हो मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु”, “दुधे बालकलाई आफ्नो जन्म दिन आमाले छाड्ला तर म तिमीलाई कहिले त्याग्न छैन” । सानो काजीले यी केही हरफहरु पढीसके पछि मसिनेलाई उक्त कागज फर्काए र उक्त रंगीन कागज पुर्ण जतनकासाथ आफ्नो इस्टकोटको गोजीमा राखे ।


किन हो आजको दिन मसिनेलाई अरुदिन जस्तै लागेन । उसको दैनिकीमा केही फरक नभएता पनि अरु दिन सरह सानो काजीलाई विधालय छोड्न जान आएर खेती बारीमा काम गर्नु, घाँस–दाउरा आदि कामहरु गरेता पनि उसलाई आजको दिन खै के भएर हो कुनि अनौठो र सोचनिय लाग्यो । चोटैचोट तथा रकताम्य पुर्ण अर्धनाङ्गो शरीर शिरमा काँडाको मुकुटको दृश्य जुन “रंगीन कागज” मा थियो र सानो काजीले पाठ गरेको शब्द–शब्दले आज अनौठो मात्र नलागेर हृदय वियोग हुन पुग्यो । यसैले होला आज उसलाई खाना मन छनै र चाँडै साँझा नढल्दै नै आफु बस्ने कटेरामा आई सोचे, आखिर को हो त त्यो मान्छे ? किन नाङ्गै छ शरीर ? र किन यस्तो चोट चोटै हुने प्रकारले पिटेको ? किन र निस्वार्थ कसलाई यसरी प्रेम गरेको होला ? को होला यिनी ? र कहाँ पाइएला यस्तो निस्वार्थ प्रेम ?


उसले आफ्नो जिवनलाई एक पटक नियालेर फर्केर हे¥यो, कति घृणापुर्ण छ, कति बोझपुर्ण छ, दुःख छ केवल तिरस्कार, अपहेलित बाहेक केही देखेन, अब उ गलिसकेको, थासकिसकेको अनुभव गर्न पुग्यो । मानिसले गर्ने व्यवहार, समाजले गरिएका सम्बोधनलाई सम्झियो कति अपहेलित, कति तुच्छापुर्ण तथा घृणायुक्त लाग्यो । उसले प्रेमको परिभाषाको शब्द शब्दलाई केलाउन पुग्यो । प्रेमको साँचो भावलाई आफु र आफ्नो जिवनसँग तुलना गर्ने पुग्यो । कान्छीमायाको प्रेमलाई सम्झियो, उसले कान्छीमायाले बोलेको प्रत्येक शब्दलाइै केलायो सब नाटक थियो, सब झुट थियो । अब गहिरिएर सोच्न पुग्यो । समाजवाट भएको घृणापुर्ण तिरस्कारी शब्दहरु “यो त बाउ टोकुवा हो, यसको अनुहार हेर्दा पनि लोद्दार लाग्छ”, “ए बाउ टोकुवा मेरो नानीहरुसँग संगत नगर है त तै शैतान होस”, यि यस्ता शब्दबाट सम्बोधन गरेका प्रत्येक तिरस्कारपूर्ण व्यवहार तथा घृणा पुर्ण शब्दले आज उसको मन छ्याताछुल्ला भएर तितरबितर भयो अझै झन् कान्छीमायाको प्रेमलाई सम्झियो कति धोका थियो, त्यो प्रेम । साँच्चै भन्नुपर्दा मसिनीले कान्छीमायालाई साँचो र निस्वर्थ प्रेम गरेको थियो ।

कान्छीमाया को पनि आमाबुवा थिएन, साइनो पर्ने मामा थियो । कान्छीमयाको मामा पनि ठुलो काजीको घरमा हलियाको रुपमा बस्दै आएको थियो पछि ठूलो काजीको बुवाले खुशी भएर उसलाई हलियाबाट स्वतन्त्र मात्र गरेन गरी खाउ भनेर सानो टुक्रा जमिन पनि दिएका थिए । मसिनेको सपना थियो एकदिन ठूलो काजीले पनि आफुलाई स्वतन्त्र गर्नेछ र कान्छीमायासँग विवाह गरी आफ्नो एउटा अलग्गै सानो खुशीको संसार हुनेछ तर यसरी कान्छीमायाले धोका दिनेछ भनेर उसले कहिले पनि सोचेको थिएन । कान्छीमायाको प्रेममा उसलाई कहिले पनि शंका गरेन तर पछि कान्छीमाया अर्कै केटासँग पोइला गएको थाहा पाएपछि कान्छीमायाको प्रेम कति स्वार्थी रहेछ, कान्छीमायाले भन्ने गथ्र्यो “प्रिय म तिमीलाई कहिले छाड्न छैन, तिमी बिना म जिउँदो लाश हुन्छु र मलाई कहिले धोका नदेउ ल किनभने मेरो बाँच्ने आधार तिमी मात्र हौं” आज आएर यि शब्दाहरु धोका लगिरहेका छन् । अब उसलाई एक पल पनि यस ठाउँ गाउँमा बस्न मन लागेन । दिक्क लाग्न थाल्यो ।

सोच्यो यस गाउँमा सबैबाट घृणित अपहेलित तथा तिरस्कारपुर्ण गरिने व्यवहार जहाँ साँचो प्रेमको कदर छैन, कुनै मुल्य हुँदैन । मान्छेको भावनाको कदर छैन यस्तो ठाउँमा बस्न मन लाग्न छाडेर आउन पुग्यो र आफु आफुमा निसासिएर उकुसमुकुस हुन पुग्यो, जतिसक्दो चाँडो यस ठाउँ, गाउँबाट टाढा जाउँ र त्यो “रंगीन कागज” चित्रमा भएको व्यक्तिको खोजीम हिँडौँ र उसलाई भेटी जहाँ प्रेमको सार्थकता छन्, परिभाषा छन्, जसमा निस्वार्थ प्रेम छन्, उसको मन मष्तिष्कमा केवल उक्त “रंगीन कागज”मा भएको चित्रको व्यक्तिको खोजी हुन थाल्यो । कसरी ? कहाँ भटौँ ? केवल उसलाई भेट्न मनभित्रबाट उकृष्ठता अभिलाषा हुन पुग्यो ।


बिहान भयो मसिने त्यस गाउँमा थिएन गाउँमा ठूलो हल्ला भयो मसिने हराए भनेर तर कता गए, कहाँ छन् अत्तोपत्तो केही भएन । ठूलो काजीले खोज्नलाई मान्छेहरु पठाए तर न सास भेटीयो न लास । दिन हुँदै हाप्त महिना वर्षा बिती सक्यो तर मसिनेको अत्तोपत्तो भएन । आखिर मसिने गए कता त ? सबैमा यो प्रश्न रहिरह्यो ।
मसिने न त हराएको थियो न त उसको मृत्यु भएको थियो तर यो करा सत्य हो मसिने त्यस गाउँ भने थिएन, उ त्यही रात “रंगीन कागज”मा भएको चित्रको व्यक्तिको खोजीमा हिँड्यो । उक्त व्यत्तिलाई भेटाउने ठूलो आशा र विश्वासको साथ, के उसले रंगीन कागजमा भएको चित्रको त्यक्तिलाई भेटाए होला त ? सायद यसरी मसिनेको यात्रा आज पनि निरन्तर छ, चलिरहेछ, चलिरहेछ …….. ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button