यस वर्ष पनि कर्णाली प्रदेशमा संयुक्त युवा जागृति शिखर सम्मेलन हुँदै
सुर्खेत, २४ भदौ ।।
कर्णाली प्रदेश इसाई एकता सञ्जालले कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा संयुक्त युवा जागृति शिखर सम्मेलनको आयोजना गरेको छ ।
कर्णाली प्रदेशका दश वटा जिल्लामा रहेका चर्चहरुबाट युवाहरु सहभागी हुने गरी कर्णाली प्रदेश इसाई एकता सञ्जाललले शिखर सम्मेलनको आयोजना गरेको हो ।
आगामी असोज २२ देखि २४ गतेसम्म बिरेन्द्रनगर सुर्खेतको सभागृहमा संयुक्त युवा जागृति शिखर सम्मेलनको आयोजना गरेको सुर्खेत इसाई समाज तथा कर्णाली प्रदेश इसाई एकता सञ्जालका अध्यक्ष पास्टर पदम गैरेले जानकारी दिनुभयो ।
कर्णाली इसाई एकता सञ्जालका अध्यक्ष पास्टर पदम गैरेले भन्नुभयो, “कर्णाली प्रदेशमा स्थापित चर्चहरुको युवाहरुलाई आत्मिक रुपमा जागृत गराउँने उदेश्यले शिखर सम्मेलनको आयोजना गरेका छौँ । देश विकासको प्रमुख शक्ति युवाहरु भएकाले इसाई युवाहरुलाई आत्मिक रुपमा बलियो बनाई देशको हितको निम्ति काम गर्ने पनि यो शिखर सम्मेलनको उदेश्य रहेको छ ।”
अध्यक्ष गैरेले थप्नुभयो, ठूलो शिखर सम्मेलन आयोजना गर्नको लागि केही जटिलता भएपनि हामी युवाहरुको हितको लागि यो सम्मेलनको आयोजना गरेका छौँ । कर्णाली प्रदेशमा स्थापित सबै चर्चका पास्टर तथा अगुवाहरुलाई मण्डलीबाट युवाहरुलाई सम्मेलको लागि सिफासिरस गर्न अनुरोध गर्दछौँ ।”
शिखर सम्मेलन तयारीको लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरी तयारीमा जुटेको कर्णाली प्रदेश इसाई एकता सञ्जालका सचिव प्रेम बयलकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ हामी शिखर सम्मेलनको तयारीमा जुटेका छौँ । कार्यविभाजन समेत गरेका छौँ । कर्णाली प्रदेशमा स्थापित सबै चर्चका युवाहरुलाई सहभागी हुन अनुरोध गर्दछौँ । यो वर्ष हामीले प्रतिव्यक्ति दर्ता शूल्क १००० (एक हजार) तोकेका छौँ ।”
कर्णाली प्रदेश इसाई एकता सञ्जालले गत वर्षमा पनि बिरेन्द्रनगर सुर्खेतमा बृहत युवा जागृति शिखर सम्मेलनको आयोजना गरेको थियो । उक्त शिखर सम्मेलनमा कर्णाली प्रदेशमा स्थापित रहेका विभिन्न चर्चका युवाहरुको बाग्लो उपस्थिति रहेको थियो ।