युवा पास्टर संजिबको सेवासँंगै लेखक बन्ने चाहना

भक्तपुरको सल्लघारी स्थित एक्सप्रेयन्स चर्चमा पास्टरीय सेवकाई गर्दैहुनुहुन्छ पास्टर सन्जिव शाह । युवा अवस्थामा पास्टरीय सेवकाईमा सक्रिय संजिबको कथा अरुको भन्दा बेग्लै छ । वि.सं. २०५२ सालमा काठमाण्डौंको मैतीदेवीमा जन्मिएका सन्जिव शाह अहिले भक्तपुरमा पूर्णरुपमा पास्टरीय सेवकाई गर्दैहुनुहुन्छ ।
बहिनी र आमाले विश्वास गरेको धेरै वर्षपछि अर्थात सन् २०१३ मा परमेश्वरमा विश्वास गरेको पास्टर सन्जिव बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “बहिनी र आमाले परमेश्वरमा विश्वास गर्नुभएको थियो । उहाँहरुले परमेश्वरमा विश्वास गरेकोमा मलाई खासै चित्त बुझेको थिएन । बहिनी र आमाले गरेको विश्वासमा म खुसी थिएन । तर परमेश्वरले नै बोलाएपछि मेरो के लाग्छ र ?, एकदिन हाम्रो घरमा घरिलो संगति थियो त्यहि समयमा मलाई परमेश्वरले बोलाउनुभयो । त्यसपछि मैले परमेश्वरलाई विश्वास गरेँ ।”
आफ्नो परिवारले परमेश्वरमा विश्वास गरेकोमा खुसी नभएका सन्जिवलाई एक्कासी परमेश्वरमा विश्वास गर्नुप¥यो ।

विश्वास गरेपछि जोरपाटीको होसन्ना चर्चमा संजिब सेवासंगतिमा जोडिनुभयो । उहाँको जीवनमा आत्मिक आत्रा होसन्न चर्चबाट नै अघि बढ्यो । बाल्यकालदेखि परिश्रम गर्ने बानी परिसकेका सन्जिव अध्ययन र अध्यापन संगै होसन्ना चर्चमा सेवा पु¥याएको सम्झनुहुन्छ । उहाँको अनुसार जोरपाटीमा एउटा ख्रीष्टियन स्कुल थियो, त्यही स्कुलमा उहाँले अध्यापन गर्नुहुन्थ्यो र अध्यापन सकाएपछि उहाँ बेलुकीपख घरेलु संगतिको लागि विश्वासीको घरमा पुग्नुहुन्थ्यो । विश्वासीहरुलाई उचित बाइबलीय शिक्षा दिनको लागि स–साना बाइबल तालिमहरुमा सहभागी भएर सन्जिवले चाहिने ज्ञान लिनुभएको थियो ।

आफूलाई सेवकाइको लागि तयार गर्न सन् २०१९ मा अध्ययनको लागि फिलिपिन्स पुगेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अध्ययनको लागि फिलिफिन्स पुगेँ । दुई वर्षको अध्ययनपछि नेपाल फर्के किनिकि कोभिडको कारण फिलिपिन्स बस्न सक्ने अवस्था थिएन । नेपाल फर्केपछि बाँकी रहेको पढाई अनलाईबाट सकाएँ । त्यसपछि सन् २०२२ देखि अभिषेक भएर पास्टरीय सेवकाईमा लागेँ ।”

युवा अवस्थामा पास्टरीय सेवकाईमा रहेका संजिबको लेखन क्षेत्रमा पनि निकै रुची छ । उहाँ एक युवा लेखकको रुपमा पनि परिचित हुनुहुन्छ । हालसम्म उहाँले अल्फा र ओमेगा, स्वर्गीय इनाम, आफ्नो सृष्टिकर्ताको सम्झना गर लगायतको पुस्तक प्रकाशन गरिसक्नुभएको छ । पास्टर र युवा लेखकको रुपमा चिनिने उहाँले प्रायः नेपाली मण्डलीका युवाहरुलाई लक्षित गरी पुस्तक प्रकाशन गर्नुभएको छ । युवाहरुले परमेश्वरको डरमा रहेर कसरी सेवकाई गर्ने, आफ्नो जीवनलाई परमेश्वरको नजरमा कसरी पवित्र राख्ने र युवा अवस्थामा परमेश्वरको महिमाको काम कसरी र किन गर्ने भन्ने लगायतका विषयमा केन्द्रित छन् । पास्टर संजिबले अन्य पुस्तकहरु पनि लेख्दै हुनुहुन्छ ।

आफ्नो जीवनकालभरी परमेश्वरको काम गर्ने र पुस्तकहरु लेखेर युवाहरुलाई परमेश्वरको सेवामा उत्साहित पार्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म चाहान्छु मेरो स्वास्थ्य राम्रो होस्, अनी मैले परमेश्वरको सधंै महिमा हुने काम गर्न सकुँ । पुस्तक लेखेर अरुहरुलाई प्रेरित गर्न सकुँ ।”धेरै मण्डलीका युवाहरु पारिवारिक र अन्य विभिन्न कारणहरुले नेपालबाट रोजगारीको लागि विदेश गएको तीतो अनुभव सुनाउनुहुन्छ । चर्चमा पास्टरलाई सेवामा सघाएका युवाहरु, जवान संगतिको नेतृत्व गरेका युवाहरु, आराधनामा सक्रिय रहेका युवाहरु चर्चमा अवसर नपाएर र आफ्नो पारिवारिक समस्याको कारण बिदेश पलायन भएको उहाँको भनाई छ ।