येशूमा जीवन छ है, साथी
हरि जिज्ञासु
ऊ सँग भेट नभएको पनि बर्षौँ भइसकेछ । कहाँ छ कुन्नी, कतै भेट्दीन । सामाजिक सञ्जाल सबैतिर मैले उसलाई खोजिसकें तर पनि भेट्दिन । मलाई लाग्छ उसले मलाई बिर्सिदियो । फेरि यसो सम्झिन्छु, त्यति राम्रो मान्छेले मलाई बिर्सन सक्छ र ? मनमा प्रश्नहरु खडा हुन्छन् । म विस्तारै प्रश्नलाई थाँति राखेर फेरि उसलाई सम्झन्छु । ऊ एक येशूलाई नचिनेको राम्रो मान्छे हो । कतिपय साथीहरु त्यस्ता हुन्छन् जसले येशूलाई चिनेका हुँदैनन् तर पनि उनीहरु येशूलाई चिनेका जस्तै देखिन्छन् । देखिन्छन् मात्रै चिनेका भने हुँदैनन् ।
मेरो उउटा साथी थियो । जसलाई म आज पनि सम्झन्छु । मुस्ताङबाट उच्च शिक्षा अध्ययनको लागि पोखरा झरेको थियो । मलाई पनि केही काम विशेषले पोखरा बस्ने मौका जुरेको थियो । जहाँ बस्यो त्यहाँ केही साथीहरुत बनिहाल्छन् । कस्ता साथीहरु बन्छन् र तीनले आफ्नो जीवनमा कस्तो प्रभाव पार्न सक्छन् भन्नेमात्र फरक हो । पोखरामा भेटिएको थियो पवन लामा । एउटा सामान्य टिउसन कलासमा भेटिएको साथी हो । निकै सहयोगी भावनाको थियो ऊ । मलाई केही समस्या पर्ने वित्तिकै आफू रित्तिएर पनि उसले सहयोग गथ्र्यो ।
हामी बेलुकापख लेकसाइट र फेवाताल क्षेत्रमा घुम्न जान्थियौँ । फेवातालको डुंगामा चडेर हामी आफ्नो भावि योजनालाई डुंगासँगै तैराउँथियौँ । हामीलाई लाग्थ्यो, निकै गहिरो फेवातालमा डुंगा तैरिएजस्तैगरी हाम्रा मनका भावनाहरु तैरिएका छन् । ऊ अलि साहित्यक थियो । डुंगा तैरिएजस्तैगरी उसका भावनाहरु पनि संधै तैरिरहन्थे । मलाई कहिलेकाँही उसले भन्थ्यो, “हरी, जीवन निकै छोटो छ र पो मुल्यवान छ । यदि मान्छेहरु मर्दैनथे भने के हुन्थ्यो होला है ? आफै जिज्ञासा अनि आफै प्रश्न हुन्थे उसका । उसको मनबाट उठेका जिज्ञासा र प्रश्नहरुलाई मैले परमेश्वरको दृष्टिकोणबाट विश्लेषण गर्थेँ । तर उसले भावनामामात्र सिमित राख्थ्यो । हरेक दुःख सुखमा साथ दिने साथी जसले येशू चिनेको छैन । कहिलेकाँहि लाथ्यो येशूमा विश्वास गर्ने साथीहरुसँगको संगत भन्दा उसँगको संगत सयौँ गुणा उत्तम छ ।
हुन त म पनि साहित्यप्रति रुची राख्ने मान्छे हुँ । उसले आफ्नो मनमा राखेका जिज्ञासाहरुलाई परमेश्वरको सृष्टिको सुन्दरतालाई जोडेर उसको जिज्ञासा मेटाउने कोसिस् गर्थेँ । उसले पनि कहिलेकाँही मेरो कुरामा सहमती जनाउँथ्यो । मलाई लाग्थ्यो पवनले जसरी नी येशू चिन्नुपर्छ । मैले उसलाई येशूको बारेमा सुनाउँदा उसको उत्तर एउटै हुन्थ्यो, “जुन धर्म मानेपनि कुरो एउटै हो, कसैको कुभलो नचिताउनु र पाप नगर्ने हो भने भगवानले हेरिहाल्छन् नी ।” उसको जवाफ पनि निकै मिठो थियो । तर म सम्झन्थे, मानव जातिको मुक्तिको लागि जन्मेका येशूको बचन, “बाटो सत्य र जीवन म नै हुँ, म बिना कोही पनि पिता कहाँ जान सक्दैन ।” यति भनेपछि त पवनले पनि येशूलाई चिन्नै पर्ने देखियो । किनकि संसारमा मानिसहरुले धर्मकर्म गरेता पनि येशू ख्रीष्ट को हुनुहुन्छ र येशू किन जन्मनुभएको हो भन्ने थाह नपाएपछि उसको लागि अनन्त जीवन अधुरो रहन्छ ।
साथीहरु भनेका संधै एकै ठाउँमा रहीरहँदैनन् । उनीहरु भेटिन्छन् फेरि छुटिन्छन् । दुई महिनाको संगतपछि पवन पनि मबाट छुटियो । पोखराबाट मदेखि छुटिनुभन्दा अघि भनेको थियो, “हरि, घरमा अलि समस्या छ । आमा सानोमै बित्नुभएको हो । बुवा पनि बिरामी छन् रे । म अब एक–दुई दिनपछि मुस्ताङ जाँदैछु ।” उसको समस्यालाई मैले बुझेँ । हामी मध्यम बर्गीयहरुका समस्याहरु एउटै त हुन्छन् नी । धेरै ठूलो रोगले समात्यो भने उपचार नै गर्न नसक्ने । केही ठूलै योजना बनाएपछि आर्थिक अभावका कारण रोकिने । पवनको घर फर्किने समय आयो । त्यो दिन मैले उसलाई येशूको बारेमा धेरै बताएँ । उसले भन्दै थियो,“हरी मलाई ख्रीष्टयन धर्म राम्रो लाग्छ, ख्रीष्टयनहरु राम्रा पनि हुन्छन् । तर मलाई धर्मको बारेमा त्यति चासो छैन । जुन धर्म मानेपनि हामी पापी होइन धर्मी चाहिँ हुनुपर्छ ।” उसको जवाफको कदर गर्दै येशूको जन्मको बारेमा बताएँको थिएँ ।
घर फर्कदा उसलाई पठाउन म वसपार्कसम्म पुगेको थिएँ । ऊ अलि घरको चिन्ताले मलिन देखिन्थ्यो । मैले उसको पारिवारिक समस्यालाई बुझेर सान्तवना दिन्थेँ । राम्रा साथीहरुसँग छुटिदा सुरुमा अलि अमिठो अनुभव हुन्छ । मैले उसलाई मुुस्ूताङको लागि बिधाई गर्दा भनेको थिएँ । “येशूमा जीवन छ है, साथी !” उसले टाउको हल्लाएर सहमती जनाएको थियो । मलाई बसको झ्यालबाट हात हल्लाएर बिदा मागेको थियो । ऊ मुस्ताङ पुगेको करिब दुई महिनासम्म कुरा हुन्थ्यो, त्यसपछि हाम्रो कुरै हुन छोड्यो । ऊ अहिले सम्पर्कमा छैन । कहाँ छ कुन्नी ?, सबै ठाउँमा खोजिसकेँ, भेट्दैन । उसले येशूको जन्मबारे थाह पाउनुनै पर्नेथियो र उसले येशूलाई मुक्तिदाताको रुपमा चिन्नै पर्ने थियो । म अहिले पनि कहिलेकाँही उसले येशूमा अनन्त जीवन पाओस् भनेर प्रार्थना गर्छु ।