रुपन्देहीमा संगति दिन जाँदा पास्टरमाथि हातपात
हरि जिज्ञासु (रुपन्देही)
भदौ २४ ।। रुपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका वडा नं. १२ आमा गाउँमा संगति दिन गएका सुद्धोधन गाउँपालिका वडा नं. ६ का ३१ वर्षीय ओमकार लोनीयालाई स्थानीयले हातपात तथा लछारपछार गरेका छन् ।
करिब ४ वर्षदेखि संकृति नगरपालिका वडा नं. १२ मा संगति सुरु भएको र त्यहाँ धन्यवाद सामुदायिक संगति मण्डलीलले शनिबार निरन्तर संगति दिदै आएको थियो ।
शनिबार संगति दिन २२ किलो मिटर यात्रा गरी भारत र नेपालको सिमान नजिक रहेको आमा गाउँमा गएपछि त्यहाँका स्थानीयले आफूमाथी हातपात तथा लछारपछार गरेको एल्डर ओमकार लोनियाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “संगतिको लागि त्यहाँ एक्लै गएको थिएँ । संगति गरिरहेकै समयमा २०० भन्दा बढि स्थानीयहरु आएर अनेक आरोप लगाउँदै लछारपछार गरे । घटना घट्ने वित्तिकै इलका प्रहरी पुगेर सुरक्षाको लागि मलाई प्रहरी कार्यालयमा राखेको थियो । यदि सुरक्षाकर्मी नभएको भए घटनाले अर्कै रुप लिन सक्थ्यो ।”
एल्डर लोनीयालाई स्थानीय ख्रीष्टियन विश्वासीहरुले समेत साथ दिनुभएको थियो । हाल आमा गाउँमा २५ जना जतिले ख्रीष्टियन आस्थामा विश्वास गर्नुहुन्छ । हाल भारत र नेपालको सीमान नजिक रहेका गाउँहरमा ख्रीष्टियन आस्थामा विश्वास गर्ने व्यक्तिहरुलाई सताईरहेको अवस्था छ । त्यहाँका ख्रीष्टियनहरुलाई स्थानीयहरुले गाउँ छोड्न समेत धम्कि दिएका छन् ।
एल्डर लोनीयालाई लुम्बिनी संस्कृत नगरपालिका वडा नं. १२ स्थित इलका प्रहरी कार्यालयले ४ घण्टा सुरक्षा दिएको थियो । ४ घण्टाको सुरक्षापछि लुम्बिनी प्रदेश इसाई समाजका अध्यक्ष बाबुराम बस्नेत लगायतको टोलीको रोहबरमा शनिबार बेलुकी ५ ः ३० बजे छोडिएको छ ।
लुम्बिनी प्रदेशका केहि जिल्लामा शनिबार संगति गर्नेक्रममा प्रहरीले शनिबार सुरक्षा दिएको लुम्बिनी प्रदेश इसाई समाजका अध्यक्ष बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँलेभ न्नुभयो, “पछिल्लो अवस्थामा लुम्बिनी प्रदेशका नवलपरासी र रुपन्देहीको सीमा क्षेत्रका चर्चहरुमा सतावट भइरहेको छ यसको लागि सबैले प्रार्थनामा सम्झिदिनुहोला ।”
मुलुकी अपराध सिंहिता ऐन २०७४ को परिच्छेद ९ धारा १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
यदि कानूनी रुपमा जाने हो भने पास्टर ओमकार लोनीयामाथी हातपात गर्नेहरुलाई सरकारले कार्बाही गर्न सक्छ । तर अहिलेसम्म विभिन्न ठाउँमा पास्टरहरुलाई कालो मोसो दलियो, हातपात गरियो तर सरकारले पीडितलाई सुरक्षा दिएको छ दोषिलाई कार्बाही गरेको छैन ।