लोकतान्त्रिक अभ्यासमा, ख्रीष्टियन अगुवाहरु पद र ओहदामै मोहित
– हरि जिज्ञासु
इतिहास अध्ययन गर्ने हो भने, नेपालमा येशूको सुसमाचार भित्रिएको हालसम्म करिब पाँचसय वर्ष पुग्न थाल्यो । नेपालमा सुसमाचार पु¥याउनुमा क्याथोलिक पादरीहरुको महान योगदानलाई हामीले भुल्नु हुँदैन । सिजनमा धान रोपेजस्तै मल्लकालिन युग, सुसमाचारको बिऊ रोपिएको सिजन भन्दा फरक नपर्ला । मल्लकालिन समयमा येशूमा विश्वास गरेका केही नेपालीहरुले नेपालको शाहकालिन युगमा धेरै उतारचडावको सामाना गनुप¥यो । शाहकालिन शासनले नेपाली इसाईहरुलाई देश निकाला गरेपनि बरु देशमा शाहकालिन शासन रित्तियो देशमा ख्रीष्टियन विश्वास भरिदैछ ।
राजनीतिक उतारचडावले देश थला परेको छ । मल्लकालिन, शाहकालिन, राणाकालिन, प्रजान्तत्र, पञ्चायत, राजतन्त्र लगायतका विभिन्न राजनीतिक लयहरु पार गरेर देश अहिले लोकतान्त्रिक शासन प्रणालीको लय समातेको छ । राजनीतिक उतारचडावसँगै नेपालको ख्रीष्टियन आस्थाले पनि सजिलो र मुस्किल परिस्थितिहरु पर गर्दै आएको छ । शाहकालिन समयमा जोखिममा रहेको ख्रीष्टियन विश्वास राणाकालिन युगमा पनि सुनसान रह्यो । बि.सं २००७ सालको प्रजातन्त्रिक अभ्यासपछि ख्रीष्टियन विश्वास जुरमुरायो । नेपालकालागि बन्द भएका सुसमाचारका ढोकाहरु नेपालको विभिन्न नाकाबाट खुल्ला भए । नेपालीहरुको लागि सुसमाचार बाँढ्न चाहानेहरु भारत हुँदै नेपाल छिरे ।
प्रजातान्त्रिक समयमा येशूको सुसमाचार फैलिदै थियो । येशूमा विश्वास गर्नेहरु आफू बाँचेर अरुको आत्मा बचाउनुमा ब्यस्थ थिए । त्यतिखेर उनीहरुलाई पद र ओहदाको कुनै मत्लब थिएन । नेपाली राजनीतिले फेरि कोल्टो फेरिदियो । राजा महेन्द्रले त्यतिखेरको संसद भंग गरेर पञ्चायत व्यवस्था लागु गरे । पञ्चायत शासन फेरि ख्रीष्टियन समुदायलाई ढुंगा चपाएजस्तै साह्रो भयो । धर्म प्रचारको आरोपमा धेरै जनाले जेलजीवन बिताउनु प¥यो । तर पनि, ख्रीष्टमाथि विश्वास गर्नेहरु प्रेमकासाथ पद र ओहदालाई बेवास्था गरी आत्मा बचाउने कुरामा बढी जोड गर्थै । पञ्चाय व्यवस्थाले ख्रीष्टियन विश्वासलाई बन्देज लगाउनको लागि खुब प्रयास गरेको थियो तर सकेन । धार्मिक आस्थाको कारण जेल पुगेकाहरु येशूको सुसमाचार सबैलाई बाँढ्नु आवश्यक छ भन्ने भावना बोकेर निस्किए ।
ख्रीष्टियन आस्थालाई बन्देज लगाउन खोज्ने पञ्चायत व्यवस्थालाई पनि बिंस.२०४६ सालको जनआन्दोलनले पाखा लगाइदियो । नेपालको संविधान बि.स. २०४७ मार्फत राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक व्यवस्था लागुभयो । यतातिर देशमा राजनीतिक उतारचडाव बढ्दै गएको थियो । उतातिर येशूको सुसमाचार देशभर फैलिदै थियो । राजनीतिक पदभोग सैलीले ख्रीष्टियन समुदायलाई पनि राजनीतिले छोयो । धार्मिक आस्थामा पनि पदभोग सुरुभयो । बि.स.२०६२/०६३ को दोस्रो जनआन्दोलनले राजतन्त्रलाई पाखा लगाउँदै बि.स. २०६५ सालमा नेपाल संघीय लोकतान्त्रिक गणराज्य स्थापना भयो । धर्म निरपेक्षताले ख्रीष्टियन विश्वासलाई झन फराकिलो बनाइदियो । देशको लोकतान्त्रिक अभ्यासमा झन बेसरी फैलियो ख्रीष्टियन जगतमा पनि पदभोग । नेपाल राष्ट्रिय मण्डलीसंगति, नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ लगायतका संघसंस्थाहरुले आन्तरिक रुपमा पदकै लागि झगडा गरीरहे । पदभोगकै कारण मण्डली फूटाउने कार्यपनि जारी रह्यो । ख्रीष्टियन समुदायको हितको लागि काम गर्नकोलागि अन्य केही संघ संस्थाहरु पनि स्थापना हुन थाले । स्थापना भएका संघसंस्थाहरु पनि पदभोगकै कारण उभो लाग्न सकेनन् । जहाँ गयो त्यहीँ समस्या देखियो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा ख्रीष्टियन विश्वास विस्तारै फितलो हुँदै गयो । कतिपयले ख्रीष्टियन आस्थालाई भोटर सदस्य बनाएर राजनीति गर्ने योजना बनाए । पदभोगकै कारण एक आपसमा ठोक्किएर टुटफूट भए । ख्रीष्टियन समुदायको हितको लागि केही गर्छु भन्ने हुटहुटी कम तर, पदभोग धेरै भएर स्थापना भएका सानातिना संघस्थाहरु पद वितरण अभ्यास नमिलेको कारण बिलय भएका धेरै उधारण छन् । राष्ट्रिय ख्रीष्टियन महासंघ पदभोगकै कारण अहिले निदाएको छ । केही हप्ता अघि नेपाल ख्रीष्टियन समाजको अधिवेशनबाट चयन गरिएको पदाधिकारीहरु पनि आलोचित छन् । राजनीतिक दलको पदीय लफडाको त झन कुरै नगरौँ । पदभोगको कारण राजनीतिक सफलता हात पार्न नसेको प्रतक्ष देखिन्छ । जिल्लामा स्थापित जिल्ला इसाई समुदायमा समेत पदकै कारण कतिपय जिल्लामा दुई वटा इसाई समाजको स्थापना भएको छ । पदकै कारण साम्प्रादिक समस्याहरु पनि छन् ।
सेवकाइको मुख्य दर्शन भन्दा पनि पास्टरीय पद अंगाल्ने चाहानामा चर्च फुटाउने समस्याहरु त कति छन् कति ?, नेपाल बाइबल सोसाइटी लगायत अन्य विभिन्न संघस्थाहरु पदकै कारण बेलाबोलमा विबादमा आइरहन्छन् । नेपालको राजनीतिमा सेरबहादुर, प्रचण्ड र ओलीले राजनीतिक दलीय पदभोगमा डुबेर बर्षौदेखि अध्यक्ष पद ओगटे जस्तै त्यसको हावा ख्रीष्टियन जगतमा ठ्याक्कै मिलेको छ । वास्तवमा ख्रीष्टियन जगतमा यस्तो नहुनुपर्ने हो । ख्रीष्टियन विश्वासलाई थप उर्जाशिल बनाउदै देशमा येशूको सुसमाचार फैलाउनुपर्ने हो । ख्रीष्टियन समुदायको हितको लागि काम गर्ने नाउँमा बिखण्डनको सुरुवात गरेको अत्तोपत्तो छैन ।
त्यसकारण संघीय लोकतान्त्रिक युगको धर्मनिरपेक्षतामा ख्रीष्टियन समुदायका अगुवाहरुलाई पदभोगले प्यास मेटाउने अवसर मिलेको छ । पदभोगको कारण ख्रीष्टियन समुदायलाई फाइदा हुँदैन । बरु, यसले ख्रीष्टियन समुदायलाई अस्तव्यस्थ बनाउछ । नेपाली ख्रीष्टियन समुदायका पास्टर अगुवाहरु, संघसंस्थाका अगुवाहरु, राजनीतिक दलका अगुवाहरु लगायत सबैले पदभोग भन्दा पनि ख्रीष्टको प्रेमले देशमा असल काम गर्नुपर्छ भन्ने भावना मनमा राख्नुपर्छ । यसो गर्नाले ख्रीष्टियन समुदायको हित हुने देखिन्छ । पदभोगकै लागि अगुवाहरु टुफुट हुनेहो भने यसले ख्रीष्टियन समुदायलाई एकिकृत देखाउँदैन । देशको राजनीतिक अन्यवलता जस्तै ख्रीष्टियन समुदाय पनि अन्यवलतामा रहन्छ ।