“संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्राको विषयलाई उचित रुपमा व्याख्या गर्नुपर्ने”

ललितपुर/ २४ पुस, पुनरावेदन अदालतका पूर्वन्यायधीश डाक्टर सलाउद्दिन अख्तर सिद्दिकीले संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्राको विषयलाई उचित रुपमा व्याख्या गर्नुपर्ने बताउनुभयो।


नेपाली ख्रीष्टियन समुदायको हितममा काम गर्ने संस्था नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) काे मंगलबार आयाेजित ६५ औं वार्षिकोत्सवमा मन्तव्य राख्नुहुँदै उहाँले भन्नुभयो, “संविधानमा नेपाल बहुधार्मिक, बहु भाषिक र बहुजातिको राष्ट्र हो भन्ने प्रष्ट लेखिएकाे छ, यस्तो अवस्थामा बहुसंख्यकले अल्पसंख्यक समुदायको धार्मिक आस्थाको ख्याल गरेको अवस्था छैन। धार्मिक स्वतन्त्रा भनेकै हाम्रो मौलिक हक हाे, यसको सदुपयोग गर्न पाउनुपर्छ ।”


नेपाली ख्रीष्टियन समुदायको हितममा काम गर्ने संस्था नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) ले ६५ औं वार्षिकोत्सव अवसरमा आज मंगलबार ललितपुरको आराधना चर्चमा भएको कार्यक्रममा  मन्तव्य राख्नेक्रममा उहाँले ख्रीष्टियन समुदायलाई लक्षित गर्दै थप्नुभयो,“हामीले एकले अर्काको धार्मिक समुदायको बारे बुझ्ने र पढ्ने बानीको विकास गरेका छैनौं । धार्मिक सद्भाव र सामाजिक मित्रताको लागि हामीले एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ ।”


वार्षिकोत्सवको अवसरमा नेपाल ख्रीष्टियन समाजका उपमाहासचिव मुकुन्द कुमार शर्माले ख्रीष्टियन समुदायभित्र भएका समस्याहरुको समाधानको लागि सबै जिम्मेवारी संस्थाहरु मिलेर काम गर्नुपर्ने बताउनुभयो ।


त्यसैगरी संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदका संयोजक भव घलेले ख्रीष्टियन समुदायले धार्मिक, राजनीतिक र सामाजिक रुपमा राम्रो काम गरेर देशलाई सकारात्मक रुपमान्तरणमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ख्रीष्टियन समुदायले स्वतन्त्रतासाथ आफ्नो धार्मिक अभ्यास गर्न पाएको अवस्था छैन, यस्ता समस्याको समाधानको लागि सबै  लाग्नुपर्ने देखिन्छ ।”


वि.स २०१६ सालमा स्थापना भएको नेपाल राष्ट्रिय मण्डली संगतिले हालसम्म ख्रीष्टियन समुदायको हितमा मात्र काम नभई विभिन्न सामाजिक कार्यमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जानकारी गराइएको छ । हाल देशभरका करिब चार हजार भन्दा बढी चर्चहरुले एनसिएफमा आवद्धता लिएका छन् भने सातै प्रदेशमा संस्थाको शाखा विस्तार भएको जानकारी गराइएको छ ।


नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) ले ६५ औँ वार्षिकोत्सवको अवसरमा धार्मिक आस्था अनुसार देशको राजनीतिक, आर्थिक र सामाजिक विषयलाई समेटेर सकारात्मक परिवर्तनका लागि प्रार्थना समेत गरेको छ ।  संस्थाका अध्यक्ष हनोक तामाङले ख्रीष्टियन समुदायले सधैँ देशमा सकारात्मक प्रभाव पार्नुपर्ने बताउँदै धेरै लामो इतिहास बोकेको संस्थामा रहेर सेवा पुर्‍याउनुभएका सबै पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button