हंटिङ्टन बीचमा ७,७५० भन्दा बढीले लिए बप्तिस्मा, अमेरिकी इतिहासको सबैभन्दा ठूलो एकदिने बप्तिस्मा कार्यक्रम

हंटिङ्टन बीच, क्यालिफोर्निया – मे ८, २०२५
शनिबार क्यालिफोर्नियाको हंटिङ्टन बीचमा आयोजित “बप्ताइज क्यालिफोर्निया” कार्यक्रममा ७,७५० भन्दा बढी व्यक्तिहरूले सार्वजनिक रूपमा आफ्नो मसीही विश्वासको घोषणा गर्दै जल बप्तिस्मा लिए। यो कार्यक्रम अमेरिकी इतिहासकै सबैभन्दा ठूलो एकदिने बप्तिस्मा कार्यक्रमको रूपमा रेकर्ड गरिएको छ।
ओसियन चर्चद्वारा आयोजना गरिएको यस कार्यक्रमको नेतृत्व पास्टर मार्क फ्रान्सीले गरेका थिए। कार्यक्रमले क्यालिफोर्नियाभरिका ३०० भन्दा बढी चर्चहरूबाट करिब ३०,००० जनाको उल्लेखनीय सहभागिता जुटाएको थियो। समुद्रकिनार तथा पोर्टेबल बप्तिस्मा ट्याङ्कहरूमार्फत सहभागीहरूले बप्तिस्मा लिएका थिए।
“तपाईंहरू इतिहास बनाउने कार्यक्रममा सहभागी हुनुभयो,” फ्रान्सीले भीडलाई सम्बोधन गर्दै भने। “यदि परमेश्वरले क्यालिफोर्नियामा यस्तो गर्न सक्नुहुन्छ भने, उहाँले अन्य राज्यहरूमा पनि गर्न सक्नुहुन्छ।”
गत वर्षको ६,००० बप्तिस्मा लिनेहरूको संख्यालाई पार गर्दै यो वर्षको कार्यक्रमले आगामी “बप्ताइज अमेरिका” कार्यक्रमतर्फ थप ध्यान तानेको छ। आगामी जुन ८ मा, पेन्टेकोस्ट आइतबार का दिन, बप्ताइज अमेरिका अभियान अन्तर्गत देशभरका हजारौं चर्चहरूमा एकैदिन बप्तिस्मा गराउने योजना रहेको छ।
फ्रान्सीका अनुसार, यो अभियान कुनै एक चर्चको नाममा नभई राष्ट्रव्यापी मसीही एकताको प्रतीकस्वरूप अघि बढाइएको हो। “हाम्रो उद्देश्य महाआज्ञा (The Great Commission) को पूर्तिमा सहकार्य गर्नु हो,” उनले बताए।
कार्यक्रममा चर्चित मसीही कलाकारहरू बेतेल म्युजिक, कारी जोब, र कोडी कार्न्स को प्रस्तुति रहेको थियो। विशेष रूपमा ७१ वर्षीया जोआन नामकी महिलाको बप्तिस्मा उल्लेखनीय बन्यो, जसले चार दशकदेखि बप्तिस्माको विचार गरेकी थिइन् तर यो कार्यक्रममै पहिलोपटक बप्तिस्मा लिइन्।
फ्रान्सीले क्रिस्चियन पोस्टलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, “हाम्रो लक्ष्य केवल संख्या होइन, यी बप्तिस्मित व्यक्तिहरूलाई स्थानिय चर्चहरूसँग जडान गराउनु नै हाम्रो मुख्य जित हुनेछ।”
बप्ताइज क्यालिफोर्नियाको यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिने संकेत गर्दै फ्रान्सीले भने, “हामी जहाँ आवश्यक, त्यहाँ जान तयार छौं। पेन्टेकोस्टलाई मसीहीहरूले बप्तिस्मा दिवसका रूपमा मनाउने वातावरण बनाउने हाम्रो लक्ष्य हो।”
अब आयोजकहरू “बप्ताइज अमेरिका” अभियानमा सहभागी हुन अमेरिकी चर्चहरूलाई आमन्त्रण गरिरहेका छन्। वेबसाइटमा उल्लेख गरिएको छ, “यदि परमेश्वरले यो अमेरिका भर गर्न सक्नुहुन्छ भने, उहाँले संसारभर गर्न सक्नुहुन्छ। अमेरिका बचाइनेछ।”