कसैको उत्साह र प्रेरणाले डाक्टर बनेका हिमाल

– लाजरस तामाङ
हिजो जस्तो लाग्छ, भाई हिमाल हाम्रो होस्टेल (बिध्यार्थी सेन्टर) मा आएको तर ७ बर्ष बितिसकेको रहेछ । हिजो राती ११ः३० बजे मोबाइलको घण्टी बज्छ । “लाजरस दाजु ! हिजो मेरो अन्तिम परीक्षाको रिजल्ट आयो एम. बि.बि.एस.को । मैले भने, “हो भाई, ल अब त पूरा डाक्टर, ल बधाई छ, डा. हिमाल बि.क भाई” ।


जाजरकोट जिल्ला, भेरि नगरपालिकाको एक विकट गाउँबाट सपनाको सहर काठमण्डौमा +२ साईन्सको अध्ययन पश्चात मेडिकल बिषयको प्रवेश परिक्षा तयारीका लागि करिब ७ बर्ष अगाडी हामीसंग एकै परिवार जस्तै गरि होस्टेलमा बसेर प्रवेश परिक्षा तयारी अध्ययन गरेको थियो ।


नेपालमा मेडिकल बिषयको प्रवेश परिक्षा पास गर्नु, आफैमा निकै गार्हो काम हो । त्यसमाथि पूर्ण छात्रवृत्तिान नाम निकाल्नु निकै मुस्किल । नेपालको सन्दर्भमा सरकारी बिध्यालयमा अध्ययन गरेर बिकट मानिने ठाउं , राजनितिक पहुँच, शक्ति र सम्पती भन्दा बाहिरका युवाहरुलाई झन मुस्किल हुन्छ । एउटा सामान्य किसान परिवार, जसले आफ्नो छोराछोरीको भविष्यको बारेमा ठुलो सपना देखेको त हुन्छ तर छोराछोरीलाई कसरी खुवाउने र सामान्य शिक्षा दिक्षा दिने भन्ने कुरामा नै ध्यान केन्द्रित हुन्छ । यो कसरी सम्भव हुन्छ ?

प्रवेश परिक्षा तयारी गर्दै गर्दाको त्यो दुब्लो पतलो ज्यान । आर्थिक समस्या, अभाव, भोक, मानसिक तनाव, छोरा छोरीले ११–१२ कक्षा पश्चात अलिअलि कमाएर घर खर्च पठाउछ कि भन्ने आमाबुवाको त्यो माया लाग्दो अनुहार घरिघरि सम्झनामा आउँदा मैले संगै बस्दा सुनेको र महसुस गरेको थिए ।


यी सबैको बाबजुद भाईको त्यो डाक्टर बनेर परमेश्वर र समाज सेवा गर्ने भोक देख्दा म चकित पर्थेँ । बेलुकीपख हामीले बिध्यार्थीहरूलाई संगती र बाईबल अध्ययन गराउँथियौँ । “डिभोसनले हामीलाई आत्मिकी र बहुआयामिक रुपमा अगाडी बढ्न र कठिन अवस्थामा पनि अध्ययन गर्न थप उर्जा दिन्छ ।

निराशाको बेला उत्साह र ढाडस मिल्छ ।” बिध्यार्थीहरू भन्ने गर्थे । संघर्ष नै संघर्षले भरिएको बिध्यार्थी जीवनमा भाईले अदम्य सहास र कडा मिहेनेत स्वरुप बि.पी.कोईराला ईन्स्टिच्युट अफ हेल्थ साईन्स धरान मेडिकल कलेजमा छात्रव्रितिमा नाम निकालेर आज सो अध्ययन ईमान्दारीपुर्वक पूरा गरेर सबैलाई प्रभुमा गर्व गर्ने मौका दिनुभएको छ । कति आशिषित ! आमा– बुवा जसले छोराको लागि आफुले खाने गास कटाएर, आफ्ना दुखहरु लुकाएर छोरालाई डाक्टर पढाउन समर्पण गर्नु भयो ।

हामीसंग बसेर अध्ययन गरेका अरू पनि यस्ता धेरै संघर्ष र सफलताका गवाहिहरु छन, जोहरू अहिले विभिन्न पेशा र सेवाका क्षेत्रहरूमा रहेर मण्डली , समाज र राष्ट्रको सेवामा दिनरात खटिरहेका छन् ।

यी गवाहीलाई प्रस्तुत गर्नुको कारणहरु मध्ये एउटा कारण चाहि, अहिले अध्ययन गर्न संघर्ष गरिरहेका भाईबहिनीहरूलाई उत्साह र प्रेरणा मिलोस भन्ने हो ।

र अहिलेका यी युवा पुस्ताहरूलाई समयमा नै सहि शिक्षा, असल अगुवाई, परामर्श र लगानी गर्न सकेमा भोली अवश्य असल नागरिक बन्न सक्छन् भन्ने ज्वलन्त उदाहरण पनि हो ।

भाईको अध्ययन अवधिमा प्रार्थनासहित सहयोग पुर्याउनु हुने र उत्साह दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छौ । फेरि पनि बधाई यो सफलताको लागि आगामी दिनहरु अझै आशिषमय रहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button