ख्रीष्टियन आस्थाका ‘पुतली बाजे’ पोखरा हरियो खर्क अस्पतालको बेडमा

हरि जिज्ञासु
असोज १५,कास्की ।। बेलायतबाट नेपाल आएपछि नेपालमै आफ्नो जीवन सकाउने निर्णय गरेका कोलिन फिलिप स्मिथ (पुतली बाजे) अहिले हरियो खर्क अस्पतालमा उपचारर्थ हुनुहुन्छ । पिसाबको समस्या र शारीरिक रुपमा कम्जोर रहेका पुतली बाजेको उमेर हाल ८६ वर्ष पुग्यो । अस्पतालको बेडमा रहेका पुतली बाजेलाई उठेर हिड्न गाह्रो हुन्छ र बोल्न समेत गाह्रो छ ।


पुतली बाजे नेपाल आएदेखि पोखरा महानगरपालिका वडा नं. ३ नदीपुरमा रहेको नदीपुर चर्चका सदस्य हुनुहुन्छ । उहाँ धेरै वर्ष नदीपुर चर्चमा गएर सेवा संगति गर्नुभएको छ । पुतली संकलन र अनुसन्धानको क्रममा अन्य चर्चमा गएर संगति पनि गनुर्भएको छ । पुतलीबाजे मिशनरी त होइन तर उहाँले नेपाललाई दिएको ठूलो योगदान भनेको शिक्षा र पुतली सम्बन्धी अनुसन्धान हो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत दिवङ्गत चिकित्सक उपेन्द्र देवकोटालाई समेत पुतली बाजेले गणीत विषय पढाउनुभएको हो ।


कोलिन फिलिप स्मिथलाई (पुतली बाजे भनेर चिन्नुको एउटै कारण भनेको उहाँले नेपालका ४० भन्दा बढि जिल्लामा पुगेर ६६० भन्दा बढि प्रजातिका पुतलीको विषयमा अध्ययन गर्नु हो । पुतलीलाई परमेश्वरको सृष्टिको रुपमा लिएका पुतली बाजेले पुतलीलाई धेरै माया गर्नुहुन्छ र फोटो खिच्नको लागि पनि उहाँ सौखिन हुनुहुन्छ ।


नेपालको दुर्गम ठाउँका स्कुलमा पढाएका पुतली बाजेको केहि वर्ष अघि नेपालको नागरिकता प्राप्त गर्नु धोको थियो । अहिले उहाँको अन्तिम धोको नेपालमा अन्तिम सास् फेर्नु छ । २०७६ सालमा कास्की जिल्ला प्रशासनबाट मानार्थ नागरिकता प्राप्त गरेका पुतली बाजे अहिले हरियो खर्क अस्पतालको बेडमा हुनुहुन्छ । आफू संसारबाट अस्ताएपछि आफ्नो शरिरलाई गाडिदिनु भनेर पोखरेली इसाई समुदायलाई भनिसक्नुभएको छ ।


पोखरेली इसाई समुदायका अध्यक्ष रामप्रसाद शर्माका अनुसार पुतली बाजे मिशनरी त हुनुहुन्न तर उहाँ निरन्तर मण्डली गएर प्रार्थना गर्ने सदस्य चाँहि हो । अध्यक्ष रामप्रसाद शर्मा भन्नुहुन्छ, ‘उहाँले धेरै स्कुलहरुमा पढाउनु भयो र उहाँको मुख्य रुची भनेको पुतलीको विषयमा अनुसन्धान गर्नु हो । उहाँले नेपालमा पुतली अनुसन्धानको लागि जीवन सकाउनुभयो ।’


२०२२ सालमा पहिलो पटक नेपाल आउनु भएका कलिन फिलिपलाई नेपालका गाँउगाँउ घुम्दै पुतली जम्मा गर्न चुनौतीपूर्ण काम थियो र उहाँको रहर पनि । संघर्ष गरेर उहाँले ४० जिल्लाको भ्रमणपछि करिब २५ हजार पुतली संग्रह गरे । हरेक पुतलीलाई छुट्ट्याए नामकरण गर्नुभयो । नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये उहाँले करिव ५५० प्रजाति भेटाउनुभयो ।


२०४२ बेलायतमा उहाँको आमाको पनि निधन भयो । तर पनि उहाँले पोखराको अन्नपूर्ण संग्रहालयको काम सञ्चालन गरिरहनुभयो । अन्ततः २०५२ सालमा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर संग्रहालयमा सजाउनुभयो । आज यो संग्रहालयलाई दर्शकहरू माझ ‘पुतली संग्रहालय’ भनेर परिचित छ ।


विश्वमा पाइने १७ हजार ५०० प्रजातीका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका पुतली भेटिएका छन् । नेपालका पुतली सम्बन्धी जति जानकारी पुतली बाजेलाई छ, सायद अरु कसैलाई पनि छैन । कलिन फिलिप स्मिथका दुई भाई मध्ययमा उहाँ कान्छो हुनुहुन्छ । उहाँको दाई फिनल्याडमा छोरी ज्वाईसँग बस्नुहुन्छ ।


निस्वार्थ रुपमा नेपालको जैविक विविधताको खोजी र संरक्षण गर्न उहाँले पुर्याएको योगदान अतुलनीय रहेको संरक्षणविद्हरुले बताएपनि हाल हरियो खर्क अस्पतालमा रहेका पुतली बाजेको रेखदेदेख करिब ३० वर्षदेखि उहाँसग नजिक रहेका मिन बहादुर परियारले गर्नुुभएको छ । मिन बहादुरलाई कलिन फिलिप स्मिथले एउटा घर बनाइदिनुभएको छ । अस्पतालमा रहेका फिलिप स्मिथको बारेमा सरकारले चासो देखाएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button