बाँच्ने छु स्वच्छन्दमा :कविता

२२कविता२२
बाँच्ने छु स्वच्छन्दमा
छन्दः शार्दुलविक्रीडित

((१))
तिम्रो दिव्य स्वरूप देख्न म सकौं, इच्छा छ मेरो प्रभो
तिम्रै सामु सधैं भएर म बसौं , भिक्षा छ मेरो प्रभो
सारा वैभव जे छ त्यो हजुरको, देखौं म जैले पनि
तिम्रै भक्त बनेर नित्य महिमा , लेखौं म ऐले भनी
((२))
तिम्रो प्रेम सधैँ म चाख्न मनमा ,खोज्दै छु हे ईश्वर
तिम्रै देन सदैब राख्न जनमा , रोज्दै छु हे ईश्वर
बाटो त्यो अब छान्न जान्न म सकौं, मेरो छ यो प्रार्थना
साँचो सत्य कुरा बताउन सकौं , मेरो छ यो कामना
((३))
तिम्रै दर्शनले प्रकाशित हुँदै , बाँचौं बढो शानले
तिम्रै चिन्तनले प्रभावित हुँदै , हाँसौं यही ज्ञानले
साँचाँ कानुन ती प्रभो हजुरका , साँचौं मनैमा सदा
बाचा जो जति छन् बुझौं हजुरका,राखौं मनैमा म ता
((४))
कस्तो मानिसले कसो कति गरे, मिल्ला प्रभो स्थान त्यो
कस्तो कर्म गरे निकै सहजले, सक्ला प्रभो जान त्यो
के के गर्न सके सकिन्छ प्रभुजी , छिट्टो त्यहाँ आउन
त्यस्तै गर्न तयार हुन्छु प्रभुजी , मीठो दया पाउन
((५))
अंगालो प्रभुको छ न्यानु मजको ,बेर्ने मलाई सधैं
आँखा ती प्रभुका दयालु कति छन् ,हेर्ने मलाई सधैं
फुक्का हुन्छु हुदैन दुःख कहिले,बाँच्ने छु स्वच्छन्दमा
जुगौँ सम्म हुने छु साथ प्रभुको ,स्वर्गीय आनन्दमा

  • एन.पी खतिवडा✍️✍️

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button