संसारको सबभन्दा प्रभावशील मिशन नेपालीको हातमा छ

धेरै वर्ष अघि नेपाल र भारतको सिमानामा लिपिबद्ध गरिएका विश्वासका अग्रजहरुको चित्कारका शब्दहरु “प्रभु अर्जी सुनिलेऊ गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ,” आज पनि हाम्रो हृदयलाई छियाछिया बनाउन त्यति नै मार्मिक र शक्तीशाली छन् । बचनले भने झैँ हाम्रो परमेश्वर जसले उहाँका जनहरूका आँसुहरु पनि उहाँको फिरिस्तमा राख्नुहुन्छ (भजन ५६ः८), उहाँले नै स्वर्गबाट ति चित्कारहरु सुन्नुभयो । बोर्डरहरुबाट प्रार्थनामा मागिएका उत्तरहरु भन्दा कयौँ गुना बढी नै उहाँले अनुग्रह पठाउनुभयो । केवल मुक्ती पाउने ढोका मात्र होइन उहाँले मुक्तीका भण्डारहरु नै खोलि दिनुभयो र प्रतिबन्धित नेपालमा सुसमाचार पुनः भित्रिएको लगभग ७० वर्षको छोटो अवधिमा नै नेपाल आज विश्वकै सबैभन्दा छिटो मण्डली वृद्धि हुने देशहरुको अग्र सुचिमा पर्न पुग्यो । परमेश्वरलाई करोडौं धन्यवाद! लगभग ७० वर्ष पछी हेर्दै गर्दा आज देशमा हजारौं मण्डलीहरु स्थापना भएका छन् र अझ धेरै हुदैछन । कतिपय ठाउँहरुमा जहाँ अझै पनि दुर–संचार, विधुत प्राधिकरण, खानेपानी संस्थान पुगेका छैनन त्याहाँ ख्रीष्टको मण्डली पुगेको छ, जसको सबै महिमा हाम्रो परमेश्वरलाई जान्छ ।

तर समस्या अब सिमाना भित्र भन्दा देशको सिमाना बाहिर तेर्सिन थालेको हामीले थाहा गर्नुपर्छ । हाम्रा नेपालीहरु प्रत्येक दिन लगभग ३००० जना विदेश जाने रन्कोमा नेपालको अन्तराष्ट्रिय विमान स्थलमा लाइन लागेको देखिन थालेको छ । राम्रो कमाउनलाई होस् या त फेरी राम्रो पढ्नलाई होस् विदेश जानु पर्ने वाध्यताले टुट्दै गरेका परिवार, सेलाउदै गरेको विश्वासको जीवन, मण्डलीमा जवानहरुको खडेरी जस्ता समस्या त निम्त्याएकै छ, त्यसमाथि पनि विभिन्न खाडी मुलुकहरुमा एक वर्षमै कुनै ठाउँमा २००० भने कुनै ठाउँमा ४००० नेपालीहरुलाई विभिन्न सेवा सुविधाको प्रतिज्ञामा ति देशका आस्थाहरुमा डोर्याउने कार्य हुन थालेको छ । यस्तो अवस्था समाचारले सम्म छाप्न थालेको छ र यस्ता कयौँ भिडियोहरु पनि सार्वजनिक भएका छन् ।

समस्या हेर्दा गम्भीर देखिन्छन, तर हामीले बिर्सनु हुदैन हाम्रो परमेश्वरका कार्यहरु अझै अद्भूत छन । मिशनको क्षेत्रमा १०/४० को झ्याल (10/40 window)_मा संसारका सबभन्दा प्रतिबन्धित र सबभन्दा कम सु–समाचार पुगेका देशहरु पर्दछन । यो क्षेत्रमा बाहिरका मिशनरीहरु जान सक्दैनन् त्यसकारण यसलाई एउटा प्रतिरोधी क्षेत्र वा (The Resistant Belt ) भन्ने गरिएको छ । तर यसो विचार गर्ने हो भने विश्व मिशनको लागी सबभन्दा चुनौतीपूर्ण ठहरिएका क्षेत्रहरु समयको अन्तरालमा हाम्रो नेपाली दाजुभाई र दिदि बहिनीहरुले भरिएको ठाउँहरु बन्न पुगेका छन् । यहाँ हाम्रा मण्डलीहरुबाट पनि सयौं र हजारौं विश्वासीहरु पुगेका छन् । यदि यी ठाउँहरुमा हाम्रा विश्वासीहरूले एउटा मिशनरी दर्शन, सठीक ज्ञान र प्रशिक्षण, पवित्र आत्माको अभिषेक र भरपूरी बोकेर पुग्ने हो भने, हामी विश्वास गर्छौं ‘संसारको सबभन्दा प्रभावशील मिशन नेपालीको हातमा छ’ । ख्रीष्टको आगमन नजिकिदै गर्दा विश्व जागृतिको शक्तिशाली मिशन हामी गोर्खालीको हातमा छ । शायद हाम्रा अग्रजहरुको चित्कारमा हाम्रो पुस्ताले पनि फेरी स्वर मिलाउनु पर्ने बेला आएको छ । तर यो पुस्ताको चित्कार केवल गोर्खालीले मुक्ती पाउने मात्र होइन, तर गोर्खालीले विश्वभरि मुक्ती लाने ढोका खोलिदेऊ भन्ने हो ।

स्तिफनसलाई ढुंगाले हानेर मारे पछी जब यरुशलेममा सतावट भयो त्यस पछिको घटनालाई बाईबलले प्रेरित ८ः४–७ मा यसरी उल्लेख गर्दछः “४. तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। ५. फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। ६. फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए । ७. किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। ९. यसरी त्यस सहरमा ज्यादै आनन्द भयो।”

वास्तविक मिशन मोडेल यहि नै हो । कसैले भनेका छन्, “परमेश्वरको वास्तविक मिशन मोडेल ति अवस्थाहरुमा कार्यरत रहन्छन जसलाई हामी मानिसले ठुलो समस्याको रुपमा देख्छौं ।” अब हामीले यो जान्नु पर्ने समय आएको छ की हामी नेपाली कमजोर होइनौं । हाम्रो नेपाली मण्डली कमजोर होइन । विश्वभरी लुटिएका, पिटिएका, कष्टित भएझैँ देखिएका नेपाली असहाय होइनन । वचनले भने झैँ (१ कोरन्थी १ः २७) परमेश्वरले यी दुर्बल झैँ देखिएका नेपालीहरुलाई विश्वका शक्तीशालीहरुलाई उहाँको राज्यमा डोर्याउने भाँडो बनाउदै हुनुहुन्छ । परमेश्वरले गोर्खालीलाई एउटा मिशन दिनुभएको छ । यसकारण अब गोर्खाली विश्वव्यापी रुपमा गोर्खा सैनिक मात्र होइन – जीवन बचाउने विश्वव्यापी गोर्खा सेवक बन्न सक्छन । अब गोर्खालीहरु न्यचपजब Gorkha Soilders मात्र होइन Gorkha Soul Winners बन्न सक्छन ।

यस्तै हृदय भित्र उर्लदो दर्शन बोकेर सन् २०१७ देखि नेपाल मिशनरी सोसाईटी (NMS) को सुरुवात भयो । धेरै अग्रजहरुसंगको सरसल्लाह, प्रार्थना र प्रेरणा पश्चात सन् २०२० देखि बाहिर काम गर्न जाने र पढ्न जाने विश्वासी जनहरुको लागी स्पष्ट अन्तर–सांस्कृतिक मिशन केन्द्रित तालिमको सुरुवात गरियो । अहिले हाम्रा सयौं नेपालीहरुले (NMS)को तालिमहरु लिनुभएको छ र धेरै जना लगभग २२ वटा देशहरुमा पुगी सक्नु भएको छ । वहाँहरुका अलौकिक मिशन गवाहीहरुले हाम्रो हृदय अकल्पनिय रुपमा हर्षित बनाएको छ । हाल हामी विभिन्न मण्डली समुहहरुबाट पाष्टर/अगुवाहरु, मिशनरीहरु र मिशन कार्यकर्ताहरु मिलेर यस मिशनलाई अगाडी बढाईरहेका छौं ।

याद गरौँ रोकेर रोकिदैन नदीको प्रवाहलाई, छेकेर छेकिदैन सुर्यको प्रकाशलाई, थुनेर थुनीदैन हावाको गतीलाई – यस्तै छ यस्तै नै हो प्रभुको राज्य प्रभुको काम – प्रभुको राज्य प्रभुको काम । समय नजिक छ – अन्धकारले शिर उठाएको छ । उहाँको कार्य रोक्न नरकले सारा शक्ती लगाएको छ । तर यो स्पष्ट छ संसारले अझै देख्न बाँकी रहेको जागृतिको रिबन काट्ने समय आएको छ । आउनुहोस हातेमालो गरौँ । नेपाललाई अब मिशन फिल्ड मात्र होइन – मिशन फोर्स बनाऔं ।

अन्तमा, आउनुहोस हाम्रा अग्रजहरुलाई, वहाँहरुका त्यागहरुलाई, वहाँहरुका आँसुहरुलाई फेरी सम्झना गरौँ । फेरी एउटा सुर मिलाऔं, स्वर्ग तिर फेरी नेपाली हृदयका चित्कारहरु उचालौं –
“ छरिएर बसेका छन् सारा संसार भरि मजदुर बनि मेहनत गर्ने हाम्रै हुन् नेपाली –
मजदुर मात्र होइन अब गोठाला बनाईदेउ, पाकेको फसल काट्ने खेताला बनाइदेउ –
प्रभु अर्जी सुनीलेऊ, हाम्रो अर्जी सुनिलेउ गोर्खालीले मुक्ती लाने अब ढोका खोलिदेऊ ” ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button