सम्झौता सकिएपछि पास्टरलाई चर्च कहाँ सार्ने चिन्ता

साउन २७ (२०८०) हरि जिज्ञासु


विदेशी धर्म र डलरको आरोप खेपिरहेको इसाई समुदायलाई आफ्नो आस्थाको अभ्यास गर्नको लागि चर्च भवनको समस्या संधै खड्कीरहन्छ ।


काठमाण्डौँ उपत्यकामा केहि सिमित चर्च बाहेक सयौँ चर्चहरु भाडामा सञ्चालित छन् । सरकारको जिम्मेवारी निकायबाटै डलरको आरोप खेपिरहनु र उता मण्डलीको सदस्यहरुको भेटीले जग्गाको वार्षिक भाडा तिर्नु दुबै चिन्ताजनक विषय छ ।


मण्डलीका सदस्य अनुसार धेरै मण्डलीहरुले वार्षिक एक लाख देखि ३ लाख सम्म भाडा तिर्ने सर्तमा जग्गाधनीसँग ५ वर्ष देखि १० वर्षसम्म सम्झौता गर्नुभएको हुन्छ । जग्गाधनीसँग गरेको सम्झौता सकिएपछि काठमाण्डौँमा अधिकांस पास्टरहरुलाई चर्च कहाँ सार्ने भन्ने चिन्ताले सताईरहन्छ ।


काठमाण्डौँ बौद्ध टाउनमा रहेको पुनरुत्थान ख्रीष्टियन रिभाइबल चर्चका पास्टर ओमकुमार श्रेष्ठ चर्च भवनको लागि जग्गा धनिसँग ५ वर्षको सम्झौता अबको १० महिनापछि सकिनेभएपछि चर्च कहाँ सार्ने भन्ने विषयमा चिन्तामा हुनुहुन्छ । आफू मात्र नभएर यस्तो प्रकारको समस्यामा अरु धेरै पास्टरहरु रहेको पास्टर ओम कुमार श्रेष्ठ बताउनुहुन्छ ।


त्यसैगरी बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हात्तिगौंडा काठमाण्डौँमा रहेको बेथस्दा चर्चका पास्टर हर्जुन डुलोसले पनि आफ्नो चर्च भाडामा रहेको र चर्च बृद्धि हुँदै जाँदा चर्च कहाँ सार्ने भन्ने चिन्ता रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काठमाण्डौँमा चर्चको जग्गा किन्न सक्ने अवस्था छैन । जग्गा मंहगो छ । अब जग्गा भाडामा लिएर भएपनि संगति गर्नको लागि भवन बनाउने योजना बनाएका छौँ ।”


काठमाण्डौँदेखि नजिकैको बनेपा धुलीखेलका पास्टर कुमार पोख्रेलले पनि जग्गाधनीसँग १० वर्षको सम्झौता गरी मण्डली बनाउनुभएको छ । पास्टर कुमार पोख्रेलले भन्नुभयो, “चर्च भवन बनाएका छौँ । १० वर्षसम्म त चिन्ता नहोला तर सम्झौता सकिएपछि चर्च कहाँ सार्ने भन्ने चिन्ता हामीलाई पनि पक्कै हुन्छ । काठमाण्डौँमा धेरै पास्टरहरु सम्झौता सकिएपछि मण्डली भवन कहाँ सार्ने भन्ने चिन्तामा हुनुहुन्छ मैले देखेको छु ।”


ललिपुर महानगरपालिका वडा नं.२८ मा रहेको फेथ चर्चका पास्टर विन्द्र राईले आफ्नो चर्च स्थापनाको समयदेखि अहिले सम्म ७ ठाउँमा सारेको तितो अनुभव सुनाउनुहुन्छ । फेथ चर्चको लागि अहिलेपनि आफ्नै जग्गा छैन पास्टर विन्द्र राईले आफ्नो व्यक्तिगत जग्गामा चर्च बनाउनुभएको छ ।


पास्टर विन्द्रराईको विचार भने अलि फरक छ । उहाँले भन्नुहुन्छ, “काठमाण्डौँ उपत्यकामा चर्च भवनको लागि जग्गाको सम्झौता सकिएपछि पास्टरहरुलाई चर्च भवन कहाँ सार्ने भन्ने चिन्ता छ । यस्तो प्रकारको समस्याको समाधान गर्न जति पनि आफ्नै जग्गामा निर्माण भएका ठूला चर्च भवनहरु छन् त्यहाँ समय किनेर वा सम्झौता गरेर शनिवार संगति गर्दा राम्रो हुन्छ ।”


पास्टर विन्द्र राईले भन्नुभयो, “फेथ चर्च आफ्नै जग्गामा रहेको कारण यदि कुनै अर्को चर्चले हामीले संगति सकाएपछि अर्को संगति गर्न चाहान्छ भने हामी दिन तयार छौँ । किनकि चर्च भवन खाली राख्नु भन्दा त्यहाँ अरु कसैले प्रभुको आराधना गर्न पाउनु राम्रो कुरा हो ।”


अहिले काठमाण्डौँ उपत्यकामा मात्र नभएर देशका विभिन्न सहरहरुमा यस्तो प्रकारको समस्या देखा परेको छ । वार्षीक १ लाख भन्दा बढि भाढा तिर्नुपर्ने त्यसपछि सम्झौता सकिएपछि भवन भत्काएर कहाँ सार्ने भन्ने चिन्ता अधिकांस मण्डलीहरुलाई रहेको छ ।


आफ्नो आस्थाको अभ्यास गर्नको लागि यति धेरै समस्या भएता पनि राज्यका जिम्मेवारी निकायका व्यक्तिहरुले ख्रीष्टियन समुदायलाई विदेशी धर्म र डलरले चल्ने धर्म भनेर आरोप लगाईरहेका हुन्छन् । ख्रीष्टियन समुदायको पीडा राज्यले बुज्न सक्दैन । यस्तो प्रकारको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा ख्रीष्टियन समुदायको पक्षमा काम गर्ने संस्थाहरु पनि अनविज्ञ रहेका छन् ।

Related Articles

One Comment

  1. अव विकल्प मन्डली मर्ज गर्ने अनि मिशन मा सवै अगुवा हरु अझ वढी केन्द्रीत हुने ता कि ठुला ठुला शहर नै अव ख्रीष्टीय जनहरूले भरियोस कुनै भौतिक खाचो नहोस सबै मन्डली को लागी खुला वनोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button