सुसमाचार राष्ट्रको लागि कि, आफ्नो लागि ?

हरि जिज्ञासु
सुसमाचार भनेको असल खबर, जुन खरबले मान्छेलाई जिउन सिकाउँछ सहजसाथ बाँच्न सिकाउँछ । स्वर्ग र पृथ्वीको सृष्टि गर्ने महान परमेश्वरमा विश्वास गर्ने मानिसहरुले यस्तो असल खबर सुनाउँछन् । यदि कसैले कसैलाई असल खबर सुनाउँछ भने त्यो व्यक्ति असल हुनु आवश्यक छ । खराव व्यक्तिले सुनाएको असल खबर मान्छेले नसुन्न पनि सक्छन् र विश्वास नगर्न पनि सक्छन् ।
हामी चाहान्छौँ नेपाल देशभरीका मानिसहरुले सृष्टिकर्तामाथि विश्वास गर्न सकुन र उनीहरुले अनन्त जीवन प्राप्त गरुन् । तर त्यो हाम्रो चाहानालेमात्र पूरा हुँदैन । सुसमाचारीय आज्ञा पूरा गर्नको लागि हामी असल खबर बोकेर जाने व्यक्ति असल हुन जरुरी छ । हाम्रो जीवनशैली र नम्रताको कारणबाट हाम्रो छिमेकीले परमेश्वरको महिमा गर्ने हुनुपर्छ । तर अहिले त्यस्तो देखिदैन ।


नेपाल एउटा संस्कृतिक सम्पदाले धनी राष्ट्र हो । अन्य राष्ट्रको जस्तो नेपालमा नास्तिक छैनन् । नेपालीहरु ईश्वरमा विश्वास गर्छन् । ईश्वरमा विश्वास गर्नेहरुले एकपटक सृष्टिकर्ता परमेश्वरमा विश्वास पक्कै गर्छन् । नेपालका कतिपय व्यक्तिहरु ख्रीष्टियन विरोधी भएर निस्कनुको पछाडि कतिपय ख्रीष्टियनहरुको क्रियाकलपको पनि भूमिका छ । त्यहाँनेर उनीहरुले बाँडिरहेको सुसमाचार देशको लागि छ कि व्यक्तिको लागि ? व्यक्तिको लागि बाँडिरहेको सुसमाचारले व्यक्तिलाई फाइदा होला तर त्यसले सिंगो इसाई समुदायलाई हानी गर्छ ।


नेपालमा अधिकांस मानिसहरुले ईश्वरमा विश्वास गर्छन् तर धार्मिक कुरामा त्यति चासो दिँदैनन् । उनीहरु कुनै पनि व्यक्ति धार्मिक कुरामा जोडतोडले लागेको पनि मन पराउँदैनन् । कतिपय व्यक्तिले आफ्नो संस्कार र संस्कृतिलाई माया गर्छन् उनीहरुले बारम्बार येशूको बारेमा सुन्नुहोस् भनेर कराएको मन पराउँदैनन् । कपितय व्यक्तिहरु राजनीतिक रुपमा कम्यूनिस्ट भएको कारण उनीहरुले धर्मलाई त्यति चासो दिदैनन् । त्यसकारण हामीले कसलाई र कससी सुसमाचार सुनाउने भन्ने विषयमा हामीले जान्नु आवश्यक छ ।


केही साथीभाईहरुले सडकमा खुल्ला रुपमा प्रचार गरेको भिडियो दृष्य हामी हेर्छौँ । त्यहाँ सुरक्षाकर्मीहरुसँग बाजेको देखिन्छ । त्यहाँ सुरक्षाकर्मीहरुलाई संविधान पढाउन लागेको देखिन्छ । त्यहाँ कसैले सुसमाचार सुनाउनलाई रोक लगाउँदा प्रतिकार गरेको पनि देखिन्छ । परमेश्वरको असल खबर सुनाउन राम्रो हो । सुसमाचार हामीले सुनाउनैपर्छ, तर कसैलाई चिडाउँने, कसैको रिस उठाइदिने, खुल्ला प्रचारको नाममा अनुममित बिना कसैको भिडियो खिचिदिने त्यो राम्रो देखिदैन ।


खुल्ला रुपमा सुसमाचार सुनाउने बाहानामा समुदायलाई द्धन्दमा अग्रसर गराएको पत्तो हुँदैन । परमेश्वरले सुसमाचारमा द्धन्द चाहानुहुदैन । हामीले चाहेको सुसमाचार भनेको देशमा विपत् पर्दा सहयोग गर्नु हो । छिमेकीलाई दुःख पर्दा सहयोग गर्नु हो । अहिले देशभरी बाढी पहिरोले धेरै ठाउँमा क्षति गरेको छ त्यस्तो ठाउँमा सहयोग गर्नु हो । जब देशमा समस्या पर्छ तब ख्रीष्टियन समुदायको निरन्तर प्रार्थना र सहयोग रहन्छ अनी त्यहाँ सुसमाचार हुन्छ । सुसमाचार सुनाउनको लागि सडकमा कराउँनुपर्छ भन्ने छैन । अरुलाई मन नपर्ने कार्य गर्नु भनेको सुसमाचार होइन ।


हामीले हाम्रो सुसमाचारलाई परमेश्वरको महिमा हुनेगरी देशको हितको निम्ति प्रचार गर्नुपर्छ । देशका दिन दुःखी र विपतमा परेकाकाहरुको निम्त प्रार्थना सहित सहयोग नगरेर सडकमा कराउँदै सुरक्षाकर्मीलाई संविधान पढाउन खोज्नु सुसमाचार होइन । त्यस्तो सुसमाचारले बरु सामाजिक सद्भाव भट्काउने निश्चित छ । हाम्रो सुसमाचार व्यक्तिको फाइदाको लागि नभएर देशको हितको निम्ति हुँनुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button