हामीले परमेश्वरको निम्ति किन दिनुपर्छ ?

– मिलन रोकाय
पुरानो करारमा हेर्ने हो भने उत्पत्ति ४ अध्यायमा कयिन र हाबिलले परमेश्वरलाई भेटी दिएको कुरा हामी
पाउँदछौं । उत्पति १४ः२० पदमा अब्रामले सदोमका राजा मल्कीसेदेकलाई सबै कुराको दशांश दिएको कुरा हामी
देख्छौं । नयाँ करारमा पनि लूकाको २१ः१–४, मर्कूस १२ः४१–४४ मा विधवाको भेटीको कुरा हामी पाउँछौं । हुन त बाइबलमा दिनेसम्बन्धि धेरै ठाउँमा उल्लेख छ र पनि मैले यहाँ केही पदहरूलाई मात्र उल्लेख गरेको छु ।


यी माथिका पदहरूको विषयमा थाहा नपाउँदा अथवा दिनेसम्बन्धि सिद्धान्तको विषयमा थाहा पाउँदा अझ भनौं नयाँ–नयाँ विश्वासीको समयमा अगाडिबाट पास्टर अगुवाले मण्डलीमा दशांश भेटीको कुरा गर्दा मलाई लाग्थ्यो, यी पास्टरहरूलाई कति पैसा चाहिँदो रहेछ ? कति देऊ भनेको होला जस्तो लाग्थ्यो ।


१. दिने कुरा पास्टर अगुवाले भनेको होइन– यो त परमेश्वरको वचनले भनेको रहेछ । जब मैले यो कुरा थाहा पाएँ, मेरो दृष्टिकोण बद्लियो । यो कुरा नबुझ्दा दिने कुरामा मलाई पनि लोभ लाग्थ्यो ।


२.दिने कुरा आत्मिक जीवनको एउटा महत्वपूर्ण भाग हो– जब हामी परमेश्वरको घनिष्ठतामा बढ्दै जान्छौं, तब हामी उहाँलार्ई अझ धेरै प्रेम गर्न थाल्छौं । जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने उसको लागि केही दिउँ, भन्ने भावना तपाईंमा उत्पन्न हुन्छ । हामी पनि परमेश्वरलाई प्रेम गर्छौं भने उहाँको महिमाको निम्ति हामीले हाम्रो कमाइबाट परमेश्वरको राज्यको निम्ति दिन्छौं । येशूले पनि हामीलाई प्रेम गर्नुभएको कारण आफ्नो प्राण दिनुभयो । तपार्इंले परमेश्वरलाई प्रेम गर्छु भन्नुहुन्छ र उहाँको राज्यको निम्ति दिन लोभ गर्नुहुन्छ भने तपार्इंले साँचो रुपमा परमेश्वरलाई प्रेम गरेको ठहर्दैन । त्यसकारण दिने कुरा हाम्रो आत्मिक जीवनको महत्वपूर्ण हिस्सा हो ।


३. दिनु परमेश्वरलाई आराधना गर्नु हो– वास्तवमा हामीले परमेश्वरलाई नदिएको कारण हाम्रो वस्तुभाउ मर्ने, परमेश्वरलाई नदिएको कारण हाम्रो परिवारमा रोग आएको होकि भनेर हामी डरले परमेश्वरलाई दिन्छौं । वास्तवमा परमेश्वरलाई नदिएको कारणले तपार्इंको वस्तुभाउ मरेको पनि होइन । तपाईंले परमेश्वरलाई नदिएको कारण परिवारमा रोग आएको पनि हाइन । जब तपाईं कसैको घरमा पाहुना जानुहन्छ त्यहाँ तपाईंलाई कुखुरा काटेर वा पसलबाट मासु ल्याएर खानपिनले स्वागत गर्दछन् । यदि कुखुरा काटेन भने तपाईंले जहिले गाली गर्नुहुन्छ भनेर होइनन् । तपाईंलाई आदर गरेको हुनाले उनीहरूले कुखुरा काटेका हुन् । हामी पनि परमेश्वरलाई हाम्रो कमाइबाट परमेश्वरलाई दिएर आदर गर्दछौं । परमेश्वरलाई दिनु उहाँको आराधना गर्नु हो । जसरी आराधना गर्दा हृदय भेटी दिन्छौं, त्यसरी नै उहाँलाई आदर गर्दा हाम्रो भेटी दशांश दिएर आदर र आराधना दुवै गर्दछौं ।


४. दिनु आशिष्को बीउ रोप्नु हो– बाइबलले भन्छ, जसले मण्डलीलाई दिन्छ उसले परमेश्वरलाई दिन्छ । जसले गरिबलाई दिन्छ उसले परमेश्वरलाई दिन्छ । झुकेर पनि सानो परमेश्वरलाई दिएर गरिब कहिल्यै हुँदैन । जब तपाईंले दिनुहुन्छ त्यो तपाईंले उहाँको राज्यमा बीउ रोप्नुजस्तै हो । तपाईंले नरोपेर फल्दैन । जब तपार्इंले बीउ रोप्नुहुन्छ, त्यसले एक दिन फल दिन्छ ।

जब तपाईंले कसैलाई केही दिएर सहायता गर्नुहुन्छ, त्यो समयमा तपाईं त्यो भाइ वा बहिनीलाई सहायता गर्नु पाएको निकै आशिषित् महसुस गर्नुहुन्छ ।


५.दिनु अनन्तको लगानी हो– कसैले व्यपारमा लगानी गरेका छन् । कसैले सेयर मार्केटमा लगानी गरेका छन् । कसैले बैंकमा लगानी गरेका छन् । यी सबै लगानी जोखिममा हुन सक्छन् । तपाईंको व्यापार डुब्न सक्छ । तपाईंको सेयर मार्केटको लगानी डुब्न सक्छ । तपाईंले तपार्इंसँग भएको पैसा खर्च गर्न सक्नुहुन्छ । कसैले लगेर फिर्ता पनि नगर्न सक्छ तर तपार्इंले परमेश्वरको राज्यमा दिनु भएको छ भने तपाईंले गरेको लगानी अनन्तको लगानी हो । जो चोरले चोर्न सक्दैन र खिया लाग्दैन, घाटा लाग्छ भन्ने डर पनि हुँदैन ।


त्यसैले परमेश्वरको राज्यमा दिनु अनन्तको लगानी हो । जसको इनाम परमेश्वरले दिनुहुन्छ । तपार्इंले दिएको एक गिलास पानी खेर जानेछैन । तपाईंले परमेश्वरको निम्ति बगाउनु भएको थोपा–थोपा पसिनाको हिसाबकिताब परमेश्वरसँग छ । बाइबलले भन्छ “तिमीले मलाई एक गिलास पानी दियौ भने म तिमीलाई दश गिलास तेलले आशिष् दिनेछु ।” त्यसैले तपार्इंको धन कहाँ लगानी गर्नुभएको छ ? के तपाईंले अनन्तको राज्यमा लगानी गर्नुभएको छ ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button