के झुटो, के साँचो ?

– हरि जिज्ञासु
कहिले काँही एक्लै एकान्तमा सोच्ने गर्छु यो संसारमा किन यति धेरै अमिल्दा कुरा छन् ? किन यो संसारमा एउटाले गरेको काम अर्कोलाई मन पर्दैन ? हुनत म पनि यदि कसैले मैले भने जस्तो काम गरेन भने रिसाउँछु । मानिसको स्वभाव नै अच्चम, आफूले भने जस्तै हुनुपर्ने र आफूले सोचेजस्तै हुनुपर्ने । कहिलेकाहीँ आफूले भनेजस्तो नभएपनि हुदैन र ? अनी आफूले सोच जस्तो भएन भने पनि ठीक होइन र ? सबै आफूले भने जस्तो र सोचेजस्तो त कहाँ हुन्छ र संसारमा ? समयले धकेल्दै जान्छ आफू पनि समय अनुसार पाईला सार्दै जानुपर्छ ।


पछिल्लो समयमा नेपाली ख्रीष्टियन समुदायमा कुन शिक्षालाई झुटो र कुन शिक्षालाई साँचो भन्ने बहस चलिरहेको देख्छु । यस्ता प्रकारका बहसहरु गम्भिर हुन्छन् । यी बहसहरुलाई ख्रीष्टियन समुदायले कि कहिल्यै उठान गर्नुहुदैन र यदि उठान गरियो भने यस्ता प्रकारका समस्याहरुको समाधानको बाटो खोज्नुपर्नेहुन्छ । केही दिन अघि नेपालको ऐतिहासिक संस्था नेपाल राष्ट्रिय मण्डली संगतिले पूर्व अध्यक्षको बाइबलीय शिक्षा र मण्डलीमा गरिने अभ्यासमा असहमती जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक ग¥यो । इतिहास कायम राख्नको लागि भित्तामा टाँसिएको फोटो हटाउनु र विज्ञप्ती नै सार्वजनिक गरेर असहमती जनाउँनु बाइबलीय दृष्टिकोणमा कति योग्य छ या छैन बाइबल विज्ञहरुलाई थाह होला यो विषयमा मलाई थाह छैन ।


नेपाली ख्रीष्टियन समुदायको राष्ट्रियताको अधिकार र आत्मिक जागृतिको पक्षमा काम गर्ने प्रमुख संस्था भनेका हाललाई नेपाल राष्ट्रिय मण्डली संगति र नेपाल ख्रीष्टियन समाजमात्र देखिन्छन् । केही वर्ष अघि राष्ट्रिय ख्रीष्टियन महासंघले पनि नेपाली ख्रीष्टियन समुदायको हितको निम्ति राम्रै काम गरेको थियो तर अहिले ख्रीष्टियन महासंघ न एता न उताको अवस्थामा छ । अब मुख्य कुरो के हो भने, झुटो के हो र साँचो केहो भन्ने विषयलाई प्रष्ठ पार्ने जिम्मा भनेकै नेपाल ख्रीष्टियन समाज र नेपाल राष्ट्रिय मण्डली संगतिको हो । हचुवातालमा यो झुटो त्यो साँचो भनेर मात्र समस्याको समाधान हुँदैन । बाइबल कलेज पढेर केही कुरा अध्ययन गरेका व्यक्तिहरुले झुटो र साँचोको कुरा गर्दैमा यस्ता समस्याको समाधान पक्कै पनि हुँदैन ।


नेपाली ख्रीष्टिय समुदायलाई अनेकतामा एकतावद्ध गराई देशमा असल सन्देश दिने काम ख्रीष्टिय समुदायले गर्नुपर्ने हो । ख्रीष्टियन समुदायले गरेको राम्रो कामको कारण नेपाल सरकार प्रभावित हुनुपर्ने हो तर त्यसो नभएर अहिलेको अवस्था दर्दानाक नै छ । तर यति भन्दैमा आशा नमारौँ । हामीलाई परमेश्वरले सकारात्मक ज्ञान दिनुभएको छ । यहि ज्ञानलाई प्रयोग गरेर हामी ख्रीष्टियन समुदायले देशको हितको निम्ति एक दिन पक्कै काम गर्नेछौँ । तर के झुटो र के साँचो भन्दै एउटाले अर्काको विरुद्धमा विज्ञप्ति प्रकाशन गर्दै जाने हो भने हामीभित्र फुट र बेमेल निम्तिने पक्का हो । हामीलाई एकता र प्रेम चाहिएको हो । असहमतीको विज्ञप्तिले हामीलाई यकताबाट टाढा बनाउन सक्छ । त्यसकारण हामीले सत्यतामा ध्यान दिदैँ एकतालाई बढी जोड दिनुपर्ने हुन्छ ।


केही दिन गोरखाली ख्रीष्टियन समाजले एकजना पास्टरलाई बहिस्कार गरेको विज्ञप्ती पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको देखियो । बाइबलीय दृष्टिकोणबाट कुनै पनि व्यक्तिलाई विज्ञप्ती सार्बजनिक गरेर उसलाई बहिस्कार गर्नु कत्तिको उचित छ या छैन त्यो त मलाई पनि थाह छैन । तर मेरो बिचारमा कुनै पनि व्यक्तिले समुदायलाई नै असर पर्ने शब्द बोल्नुहुँदैन र जानेर पनि बाइबलमा भएका कुरालाई अपाच्य अर्थ लगाउँनुहुँदैन । यदि कुनै व्यक्तिले भुलबस त्यस्तो गरेछ भने उसलाई क्षामा दिने प्रक्रिया पनि बाइबलमा होला नी त हैन र ? कतिपटक बोल्दा बोल्दै एउटा बोलौँ भनेको अर्को पनि बोल्न सक्छ त्यसैलाई टप्पक टिपेर ट्रोल बनाउने प्रबृत्ति पनि गलत नै हो ।


त्यसकारण जसरी हुन्छ नेपाली ख्रीष्टियन समुदायलाई यकता र मेलमिलापमा गाँसेर देशलाई सकारात्मक सन्देश दिनलाई तयार गर्ने मुख्य जिम्मा भनेको ऐतिहासिक भनिएको संस्था नेपाल राष्ट्रिय मण्डली संगती र नेपाल ख्रीष्टियन समाजको हो । यस्ता पवित्र धर्मशास्त्र बाइबलमा रहेका कुराहरुलाई फरक अभ्यास गरिने सम्प्रदाय र संस्थामा आएका दरारहरुलाई मिलाएर नेपालको ख्रीष्टियानीटीलाई सुन्दर बनाउने काम पनि जिम्मेवारी संस्थाको हो । बाइबलका विज्ञहरुलाई बसालेर यो विषयमा गम्भिर छलफल गरेर यस्ता प्रकारका समस्याको समाधान चाँडै गर्नुपर्छ । समुदायलाई भद्रगोल अवस्थाबाट जतिसक्दो टाढा राख्नुपर्छ र ख्रीष्टियन समुदायले देशको हितको निम्ति काम गरेर असल पहिचान बनाउनुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button