सुसमाचार प्रचारक रेशमराज पौडेललाई भेट्दा

हरि जिज्ञासु
नेपालको सुसमाचार प्रचारकको इतिहासमा सुरक्षित रहेको एउटा नाम हो रेशमराज पौडेल । आफ्नै व्यक्तिगत कामले पोखरा पुगेको समयमा सुसमाचार प्रचारक रेशमराज पौडेललाई नभेटेर काठमाण्डौँ फर्कन मन लागेन ।


नेपालको ७२ भन्दा बढि जिल्लामा पुगेर येशूको सुसमाचार सुनाउँदै हिडेका रेशमराज पौडेलको विषयमा केहि सुनेपनि उहाँलाई मैले व्यक्तिगतरुपमा चिन्दैनथेँ । उहाँले त झन् मलाई चिन्ने कुरै भएन । परमेश्वरको निम्ति आफूलाई अर्पन गरेका जुनसुकै सेवकहरुले मलाई नचिनेपनि म उहाँहरुलाई भेट्न चाहान्छु र उहाँको अनुभव सुन्न चाहान्छु ।


उमेरले ८२ वर्ष पुग्नुभएका रेशमराज पौडेललाई भेट्नको लागि पोखरेली इसाई समुदायका अध्यक्ष रामप्रसाद शर्मा अंकल र म गयौँ । रामप्रसाद शर्मा अंकलले त उहाँलाई धेरै नजिकबाट चिन्नुहुन्छ । पास्टर रामप्रसाद शर्मा अंकललाई उहाँले नै आत्मिक रुपमा हुर्काउनुभएको रहेछ । उहाँ भएको कारणले पनि मलाई अलि सहज भयो ।


सेतो फूलेको कपाल, सुहाउँदोगरी फूलेका सेता दारी, चाउरी परेका गाला र कम्जोर शरिर सहित रेशमराज पौडेल बेडमा सुतिरहनुभएको थियो । रामप्रसाद शर्मा अंकल र म जाने वित्तिकै मुस्कुराउँनुभयो । रामप्रसाद अंकलले मेरो परिचय गराईदिनुभएपछि मैले भने, म हजुरलाई भेट्घाट गर्नको लागि काठमाण्डौँबाट आएको अंकल ? उहाँले मुस्कुराउँदै मेरो वाक्यमा सुधार ल्याउनुभयो । ‘भेट्न चाँहि होला घाट चाँहि होइन होला ।’


बिरामीले थला पर्नुभएका रेशमराज पौडेल कोहि नयाँ मान्छे आफूसँग बोल्न चाहेमा कम्जोर शरिरलाई बलियो बनाउँदै बोल्ने प्रयास गर्नुहुन्छ । जुन व्यक्तिले उहाँलाई भेट्न गएपनि सुसमाचारको कुरा गर्नुहुन्छ । सुसमाचारको बारेमा बाइबलको कुन अध्यायको कुन पदमा के लेखिएको छ भनेर बाइबल पल्टाउन लगाउँनुहुन्छ ।


केहि समयसम्म पोखरेली इसाई समुदायका अध्यक्ष रामप्रसाद शर्मा र मलाई विभिन्न प्रश्न गर्दै बाइबलको पद पल्टाउन लगाउनुभयो । प्रश्न सोध्दनुभयो । हामीले नजानेको उत्तर बाइबलको पद पल्टाउन लगाएर आफै दिनुभयो । सुसमाचार के हो र सुसमाचारको बारेमा बाइबलले के भन्छ भन्ने विषयमा केहि जान्ने मौका मिल्यो । रामप्रसाद शर्मा अंकलको काम परेर त्यहाँबाट निस्कनुभयो मैले उहाँसँग केहि कुराकानी गर्न चाँहेँ ।


उहाँको स्वास्थ्यलाई ध्यान दिएर मैले सामन्य प्रश्न सोधेँ जसको उत्तर उहाँले एक वाक्य वा शब्दमा दिनुभएको होस् । उहाँले म सँग बोल्न चाहेपनि धेरै समय बोलेमा उहाँको स्वास्थ्यमा समस्या हुन्थ्यो ।


कति वर्ष हुनुहुभयो अंकल ?
८२ वर्ष पुगेँ ।
हजुरले परमेश्वरमा विश्वास कहिले गर्नुभयो ?
सन् १९६२ मा
सुसमाचारको लागि किन हिड्नुभएको ?
परमेश्वरको आज्ञा अनुसार । किनकि सुसमाचार विना येशू ख्रीष्टमा उद्धार र मुक्ति छैन ।
सुसमाचार सुनाउन नेपालको कतिवटा जिल्ला पुग्नुभयो ?
७२ वटा जिल्ला पुगेको छु ।
तपाईँको जीवनकालमा कति जनालाई सुसमाचार सुनाउनुभयो होला ?
त्यस्तै १० देखि १२ लाख सम्म मानिसहरुलाई त सुनाँए होला !
तपाईँले जीवनकालमा बाइबल कतिपटक पढ्नुभयो ?
१३५ पटक पढेँ ।
सुसमाचार सुनाउँदा पक्राउ पर्नुभयो ?
पञ्चायतकालमा सुसमाचार सुनाउँदा स्याङजामा सन् १९६४ मा २४ दिन हिरासतमा बसेको छु ।
हिरासतबाट छुटेपछि के गर्नुभयो ?
प्रचार गरेँ ।
सुसमाचार सुनाउँदा कुन ठाउँमा तपाईँले बढि दुःख पाउनुभयो ?
मैले दुःखको महसुस् गर्नको लागि सुसमाचार सुनाएकै होइन ।
सुसमाचार र मण्डली स्थापनालाई हजुरले कसरी हेर्नुहुन्छ ?
यी छुट्टाछट्टै विषय होइनन् ।
तपाईँको नजरमा पास्टर कस्तो व्यक्ति हो ?
भेडा चढाउने गोठालो हो । याकुब ः ३ अध्यायको ५ देखि ८ पद पढ त ।
तपाईँले डेविड मुखिया र बर्णवास राईलाई कसरी चिन्नुहुन्छ ?
उहाँहरु राम्रो व्यक्ति हो । उहाँहरुको सुसमाचारको लागि नेपालमा ठूलो योगदान छ ।
अहिले नेपालमा सुसमाचार प्रचारको सैली कस्तो देख्नुहुन्छ ?
सन्तुलीत छैन । अलिअलि राजनीति मिसिएको छ । यहुन्ना १ अध्यायको १ देखि ४ पढ त !
अहिले ख्रीष्टियन समुदायको पक्षमा काम गर्छौँ भनेर खोलेका संस्थालाई कसरी हेर्नुुहुन्छ ?
कम सेवा बढी राजनीति छ । अध्यक्षको लागि परमेश्वरको भक्ति गर्ने मान्छे चाहिन्छ ।
तपाईँलाई नेपालमा सबै भन्दा बढि मन पर्ने नेता को हुनुहुन्छ ?
प्रभु येशू ।
तपाईँले कुनै पुस्तक लेख्नुभयो ?
वास्तविकताको एक झलक र समस्याबाट छुटकारा
तपाईँको अन्तिम लक्ष के छ ?
सुसमाचार प्रचार गर्ने ।


विरामी अवस्थामा बेडमै भएपनि सेतो कपाल र सेतो दारीसँग मुस्कुराउँन खोजिरहेका रेशमराज पौडेलसँग यस्ता अझै धेरै प्रश्न सोद्ने मन थियो तर उहाँको स्वास्थ्यको ख्याल गरेर त्यतिनै गरेँ । उहाँसँग प्रश्न गर्दा म आफैलाई पनि आशिषत महसुस् भएको थियो ।
हरेक वाक्यहरुमा उहाँले बाइबलको पद पल्टाउन लगाउनुहुन्थ्यो । अनी ती पदहरु पढ्दा मलाई आशिषतको महस् हुन्थ्यो । विरामी अवस्थामा पनि भेट्न गएका व्यक्तिहरुलाई बाइबलको पदहरु पढ्न लगाउनुहुन्छ । आफैले प्रश्न गरेर त्यसको उत्तर अन्तमा आफै बाइबलबाट दिनुहुन्छ ।
अन्तमा मैले रेशमराज पौडेल अंकलसँग फोटो खिच्ने अनुमती लिएर फोटो खिचेपछि विदा मागेँ । उहाँले अझै मलाई बाइबल पद पल्टाउन लगाएर उत्साह दिदै हुनुहुन्थ्यो । अन्तमा प्रार्थना गरेर विदा दिनुभयो । फेरि पनि आऊ है बाबु ? मैले भने ‘हुन्छ अंकल एक दिन फेरि आउँछु ।’ मुुुसुक्क मुस्कुराउँदै भन्नुभयो, ‘चाँडेँ आउनु म प्रभुको घरमा गएपछि आएर त के काम ?’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button